कांग्रेसले प्रधानमन्त्रीको राजीनामालाई चर्काउने
काठमाडौ, श्रावण २ - प्रमुख विपक्षी कांग्रेसले प्रधानमन्त्री झलनाथ खनालको राजीनामा प्राथमिकतासाथ उठाउने भएको छ । उसले दलहरूबीचको वार्तामा र साउन ८ बाट सुरु हुने संसद्मा राजीनामा चर्काउने भएको हो ।स्रोतअनुसार जेठ १४ मा भएको सहमतिअनुरूप संसद् अवरुद्ध गरेर भए पनि प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पारिने योजनामा कांग्रेस पुगेको छ । त्यसका लागि उसले मधेसवादीसहित साना दलसँगसमेत छलफल गर्ने भएको छ ।
यसअघि राजीनामालाई प्राथमिकता नबनाएकामा मधेसवादी दल र पार्टीभित्र शेरबहादुर देउवा पक्षका नेताहरू कांग्रेस संस्थापन पक्षसँग असन्तुष्ट हुँदै आएका थिए । पार्टीभित्र प्रधानमन्त्री को भन्ने विवाद सिर्जना भएकाले पनि कांग्रेस संस्थापन पक्षले खनालको राजीनामालाई प्राथमिकतामा राखेको थिएन ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले ५ बुँदे सहमतिमा राष्ट्रिय संयुक्त सरकारका लागि राजीनामा दिने भनेर आफैंले सहमति गरेपछि सरकार स्वतः काम चलाउमा परिणत भएको बताउँदै अब सरकारमा बस्ने कुनै नैतिक आधार नभएको बताए । 'तीन वर्ष बजेट समयमा आएन, अध्यादेशबाट बजेट ल्याउँदा मुलुक आर्थिक संकटमा पुग्यो भनेर चाैतर्फी कुरा आएपछि जिम्मेवार पार्टीको हैसियतले बजेट ल्याउनसम्म दिइएको हो,' सिंहले भने, 'त्यसमा पनि बजेट ल्याउनुपूर्व सबै सूचना दिएर सरकारले गम्भीर आर्थिक अपराध गरेको छ । अब एक मिनेट पनि खनाल नेतृत्वको सरकार बस्नु हुँदैन ।'
सिंहले संसदीय परम्पराअनुसार खनालको राजीनामाका लागि कांग्रेसले सशक्त आवाज उठाउने बताए । पाँच बुँदे सहमतिमा राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि राजीनामा दिने प्रस्ट उल्लेख भएकाले तुरुन्त राजीनामा दिनुको विकल्प नरहेको सिंहको भनाइ थियो । 'स्वतः राजीनामा दिनुपर्नेमा प्रधानमन्त्री कुर्सीमा टाँसिइरहेका छन्, उनले कुर्सी छाडेनन् भने राजीनामा दिन बाध्य बनाउँछौं,' सिंहले भने ।
कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले पनि राजीनामा दिन बाध्य पार्न संसद्मा सशक्त भूमिका निर्वाह गर्ने विषयमा अन्तरपार्टी र मधेसवादीसहित प्रतिपक्ष्ामा रहेका सबै दलसँग छलफल भइरहेको बताए । 'जेठ १४ गते पाँच बुँदे सहमतिमा मुख्य प्राथमिकता शान्ति र संविधानको मुद्दा छन् । ती मुद्दालाई पनि अघि बढाउन नसक्ने र आफूले राजीनामा गर्छु भनेर हस्ताक्षर गरी सदनमा अनुमोदित भएको सहमतिलाई समेत कार्यान्वयन नगरेर प्रधानमन्त्री स्वयंले गम्भीर उल्लंघन गर्नुभएको छ,' घिमिरेले भने, 'देशको आर्थिक अवस्था हेरेर कांग्रेसले पेस्की बजेट ल्याउनसम्मका लागि सहयोग गरेको हो । अब प्रधानमन्त्रीको राजीनामा नदिएसम्म हामी छाड्दैनौं ।'
कांग्रेसले सरकारलाई भन्दा शान्ति र संविधानमा प्राथमिकता दिने भन्दै आए पनि ती प्रक्रियासमेत अघि नबढेपछि राजीनामालाई सशक्त उठाउन खोजिएको घिमिरेले बताए । 'शान्ति र संविधानमा एक कदम पनि अघि बढ्न सकेन,' घिमिरेले भने, 'अब पनि प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने कुनै नैतिक धरातल छैन ।'
Source:Kantipurnews