राजमार्गमा बस लुटियो
सर्लाही, अषाढ २९ - धरानबाट पोखरा जाँदै गरेको ना३ख ५७२१ नम्बरको यात्रुबाहक बस मंगलबार राति पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा लुटिएको छ ।लाहानबाट चढेका चारजना लुटेराले सर्लाहीको बाँके जंगलमा आइपुगेपछि राती साढे १० बजे पेस्तोल तेस्र्याएर बसलाई जंगलभित्र लगेर लुटेका थिए । प्रतिकार गर्न खोज्ने दुई यात्रुलाई लुटेराले खुकुरी हानेर सामान्य घाइते बनाएका छन् ।
यात्रुबाट सुनचाँदी, १० थान मोवाइल र करिब ४० हजार नगद लुटिएको प्रहरीले जनाएको छ । जंगलभित्र बस लैजाँदा लुटेराले बाटोमा खाल्टो छ बिस्तारै लग्नु भनेकाले लुटेरा स्थानीय भएको प्रहरीको अनुमान छ । लुटेराले खुकुरी र पेस्तोल बोकेका थिए । बस जंगल भित्र पुर्याउँदा थप ६ जना लुटेरा रहेको यात्रुलाई उद्धृत गर्दै प्रहरीले जनायो ।
प्रहरी उपरीक्ष्ाक मोहनराज जोशीले लुटेरा स्थानीय भएको र केही सूचना समेत आएकोले बेलुका सम्ममा पक्राउ पर्न सक्ने संभाबना रहेको बताए ।
Source:Kantipurnews
