हुकिङका कारण वार्षिक ४० ट्रान्सफर्मर जल्छन्
कपिलवस्तु (तौलिहवा), असार २५ - हुकिङ गरी विद्युत् चोरी गर्दा विद्युत् प्राधिकरण कपिलवस्तुअन्तर्गत बिजुलीको भार थाम्न नसकेर हरेक वर्ष ३० देखि ५० वटासम्म ट्रान्सफर्मर जल्ने गरेको तथ्य सार्वजनिक भएको छ। यसले २० देखि ४० लाख रुपैयाँको नोक्सानी हुने तथा वार्षिक पाँच करोड रुपैयाँ राजश्व घाटा हुने प्राधिकरणको दाबी छ।प्राधिकरण तौलिहवा शाखाका प्रमुख कमरुद्धिन मुसलमानले चालु आर्थिक वर्षको असार अन्तिम हप्तासम्म ३५ वटा ट्रान्सफर्मर जलेको बताउँदै योभन्दा अघिल्ला दुई वर्षमा ३३ र ४० वटा ट्रान्सफर्मर जलेको स्पष्ट पारे।
हुकिङ गरेर विद्युत् चोरी गर्दा ट्रान्सफर्मरको क्षमताभन्दा बढी आकस्मिक लोड परी जल्ने गरेको प्राधिकरण प्रमुख मुसलमानले बताए।
प्राधिकरणको आधिकारिक तथ्याङ्कमा तौलिहवा शाखाअन्तर्गत कपिलवस्तु नगरपालिकासहित ३६ गाविसमा करिब २४ हजारभन्दा बढी ग्राहकले विद्युत् सेवा उपभोग गरिरहेका छन्। तर तीमध्ये करिब ४० देखि ६० प्रतिशत ग्राहकले विद्युत् महसुल तिरेर होइन कि चोरी गरी विद्युत् उपभोग गर्ने गरेको प्राधिकरणको वार्षिक प्रतिवेदनले देखाएको छ।
करिब दुई वर्षअघि यो प्रतिशत ५८ रहेको र हाल आएर विद्युत् चुहावट वार्षिक ४४ प्रतिशतमा झरेको प्राधिकरण शाखा प्रमुख मुसलमानको दाबी छ।
यस चालु आवमा ऊर्जा मन्त्रालयको पहलमा सरकारी तवरबाट विद्युत् चोरी गर्ने जो कोहीलाई पनि नछाड्ने गरी कारबाही अघि बढाइएपछि विद्युत् चेारीका घटना क्रमशः कमी आएको छ।
पछिल्लो छ महिनामा प्राधिकरणले चलाएको विद्युत् चुहावट रोक्ने अभियानअन्तर्गत ३० जनामाथि कानुनी कारबाही चलाइएको छ भने रु एक लाख ५० हजारभन्दा बढी राजस्व जरिवानाबाट असुल गरिएको छ।
एक दशककै तथ्याङ्कअनुसार यसवर्ष विद्युत् चोरी गर्नेहरुलाई सर्वाधिक बढी पक्राउ गरी कारबाही चलाइएको प्राधिकरण शाखाको भनाइ छ।
विद्युत् चुहावटमा आधाभन्दा बढी हिस्सा विद्युत्का कर्मचारी र औद्योगिक क्षेत्रका प्रयोगकर्ताको मिलेमतोमा भइरहेको, करिब पाँचदेखि १० प्रतिशतसम्म चुहावट प्राविधिक गडबडीले हुने गरेको र अन्य हिस्सा सर्वसाधारण नागरिकले हुकिङ गरेर चोरी गर्दा हुने गरेको छ।आगामी आवमा कपिलवस्तुको विद्युत् चुहावट ३५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको प्राधिकरण प्रमुख कमरुद्धिन मुसलमान बताउँछन्। -रासस

