एसएलसीको मूल प्रमाणपत्र अब लब्धांकपत्रसँगै
काठमाडौ, जेष्ठ २४ - परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले एसएलसीको मूल (ओरिजिनल) प्रमाणपत्र यसपालिदेखि लब्धांकपत्र (मार्कसिट) सँगै दिने भएको छ । विद्यार्थीले मूल प्रमाणपत्र नलिँदा जिल्ला शिक्षा कार्यालयमा थन्किने र विद्यार्थीले भोग्ने झन्झटबाट मुक्त गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।
यसबाट शिक्षा कार्यालयबाटै मूल प्रमाणपत्र हराउने समस्या घट्ने छ । सरकारी रोजगारी तथा विदेश अध्ययनका लागि अनिवार्य रूपमा मूल प्रमाणपत्र चाहिने भएकाले दैनिक ५० जनाभन्दा बढीले पनिकामा मूल प्रमाणपत्रका लागि आवेदन दिने गरेका छन् । विगत वर्षका प्रमाणपत्र जिल्ला शिक्षा पठाइसकेकाले विद्यार्थी अहिले 'ओरिजिनल' को सट्टा 'प्रोभिजन' प्रमाणपत्र लिन बाध्य छन् ।
परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार पनिकाले त्यसको सबै तयारी पूरा गरेको छ । 'यसपालि विद्यार्थीले ओरिजिनल प्रमाणपत्र र मार्कसिट एकैसाथ पाउने छन्,' नियन्त्रक गौतमले कान्तिपुरसित भने, 'विद्यार्थीलाई सम्बन्धित शिक्षा कार्यालयमार्फत मूल प्रमाणपत्र उपलब्ध गराइने छ । तोकेको शुल्क तिरेर विद्यार्थीले आफ्नो ओरिजिनल सर्टिफिकेट लिन सक्नेछन् । यसबाट विदेश अध्ययन गर्न जाने र रोजगारीका लागि आपत्त पर्दा हतारमा प्रमाणपात्र खोज्ने झन्झटबाट विद्यार्थी मुक्त हुनेछन् ।'
अहिले पनिका सानोठिमी तथा क्षेत्रीय शिक्षा निर्देशनालयमार्फत यस्तो प्रमाणपत्र दिने गरिएको छ । पुराना विद्यार्थीले ओरिजिनलको सट्टा प्रेभिजनल पाउने गरेका छन् । 'विद्यार्थीले मूल प्रमाणपत्र नलाँदा त्यस्ता धेरै प्रमाणपत्र जिल्ला शिक्षा कार्यालयमा थन्किएका छन्,' गौतमले भने, 'यसबाट विद्यार्थीलाई झन्झट भएको छ, राजस्व उठ्न सकेको छैन ।' बर्सेनि करिब २ लाखले एसएलसी पास गर्छन् । यसबाट बर्सेनि करिब ४ देखि ६ करोड रुपैयाँ राजस्व संकलन हुने गौतमले बताए । मूल प्रमाणपत्र लिन पनिकाले २ सय रुपैयाँ मूल्य तोकेको छ । विद्यार्थीले मूल प्रमाणपत्र अनिवार्य लिनुपर्ने व्यवस्था छ ।
यसैगरी विद्यार्थीको सुविधाका लागि पनिकाले पुनर्याेगको समय पनि ३५ दिनबाट घटाएर १५ दिन बनाएको जानकारी गौतमले दिए । निर्देशिका नै परिवर्तन गरेर यस्तो व्यवस्था गरिएको उनले बताए । पुनर्याेगको ३५ दिने म्यादका कारण मौका परीक्षाका अवसर पाएका विद्यार्थी परीक्षा दिने कि पुनर्याेग गर्ने दोधारमा हुन्थे । 'पुनर्योगको नतिजा १५ दिनमै आउने हुनाले अब पूरकका परीक्षार्थीका लागि पनि फाइदा हुनेछ,' उनले भने, 'उत्तीर्ण हुने विद्यार्थीले पनि पूरक परीक्षामा सहभागी हुनुपर्ने बाध्यता हटेको छ ।'
पुनर्योगलाई छिटो गर्न पनिकाले उत्तरपुस्तिकाको व्यवस्थित भण्डारण थालेको छ । त्यसका लागि भण्डारमा फलामे र्याक व्यवस्था गरिएको छ । र्याकमा विषय र केन्द्रअनुसारका उत्तरपुस्तिका व्यवस्थित तरिकाले भण्डारण गरिएको छ । अव्यवस्थित भण्डारणका कारण पुनर्याेग तथा पुनर्परीक्षणका लागि उत्तरपुस्तिका खोज्न कठिन हुने गरेको थियो ।
Source:KantipurNews