|

लफडाको अर्को नाम भुवन के.सी.

भुवन केसीलाई हिजोआज इमेजको चिन्ताले सताउन थालेको छ। निरन्तरको विवाद तथा अनेकौं लफडाले पछ्याइरहेपछि भुवन दिक्क हुँदै आफूले केही नगरे पनि समस्या  खडा हुने कुरा बताउन थालेका छन्। यद्यपि भुवनले आफैं लफडा सिर्जना गर्ने आरोप लगाउनेहरूको पनि कमी छैन। निरन्तर चर्चा, विरोध, आरोप, प्रत्यारोपका कारण  मिडियामा छाइरहने भुवन सुरा-सुन्दरीप्रिय मानिन्छन्।

करिव डेढ दशकअघि चलचित्र 'महादेवी' को एउटा दृष्यमा भुवनले करिष्माको ओठमा चुम्बन गर्नु पर्ने दृष्य थियो। उक्त दृष्य बारम्बार रि-टेक भएपछि करिष्माले निर्देशक  नारायण पुरीसँग स्पष्टिकरण सोधेकी थिइन्। यो बिवादमा भुवनले जानी-जानी करिष्मालाई धेरै पटक चुम्बन गर्न खोजेको आरोप लाग्यो।

कहिले भुवनलाई एड्स लाग्यो भन्ने हल्ला चल्यो भने कहिले आफ्ना विरुद्ध लेख्ने पत्रकारलाई सार्वजनिक स्थलमा कुट्छु भन्ने अभिव्यक्तिले पनि उनलाई लफडा गर्ने  नायकका रूपमा स्थापित गरायो। पछिल्लो पटक पूर्वश्रीमती सुस्मिताले भुवनमाथि 'पैसा भनेपछि मरिहत्ते गर्ने र पैसाकै विवादका कारण आफूले भुवनलाई छाड्नुपरेको'  आरोप लागेपछि उनको स्त्रीप्रिय इमेजमा 'पैसाप्रेमी' नायकको विशेषता पनि थपियो। केही समयअघि एमालेमा प्रवेश गरेपछि उनको छविमा अर्को फुर्को जोडियो। अझ  पछिल्लो समयमा एक विवाहित महिलासँगको सम्बन्धले उब्जाएका घटनाका कारण उनको छवि नै धरापमा पर्‍यो।

करिब १ सय नेपाली चलचित्रमा 'रोमान्टिक हिरो' का रूपमा सफल अभिनय गरेका, हिट नेपाली चलचित्रमध्ये अधिकांश भुवनकै नाममा दर्ता भएका एवं ५० वर्षको  उमेरमा पनि नेपाली चलचित्रमा अझै नायकका रूपमा काम गरिरहेका भुवन केसी किन लफडा मन पराउँछन् ? के उनी चलचित्रका नायकझैं पर्दाबाहिर पनि नायक हुन  चाहँदैनन् ? उनको 'रिल लाइफ' का लाखौं प्रशंसकलाई 'रियल लाइफ' मा किन दुःखी बनाइरहेका छन् ? लामो समयपछि भुवन केसीसँग साप्ताहिकको अन्तरंग कुराकानी,  जसले धेरै विवाद र रहस्यको पर्दा उठाउँछ।

 मलाई मोहरा बनाउन पाइँदैन
जे गर्नुहुन्छ, विवादमा पर्नुहुन्छ, देशको चर्चित नायक भएर पनि किन लफडा गर्नुहुन्छ ?
म कहाँ लफडा गर्छु ? आजसम्म मैले कसको के बिगारेको छु ? ल भुवनले यो काम बिगार्‍यो भन्ने प्रमाण लिएर आउनुहोस्, म जे गर्न पनि तयार हुन्छु।

यो त सबै भन्ने कुरा हो। यथार्थ त तपाईंलाई पनि थाहा छ, तपाईं जे गर्नुहुन्छ, विवादमा पर्नुहुन्छ ?

हेर्नुस्, म फुटपाथको मानिस त होइन। देशको चर्चित नायक हुँ। चर्चित व्यक्तिकै विवाद हुन्छ। अमेरिकी राष्ट्रपति बिल क्लिन्टन पदमा हुँदा एउटी केटीको विषयलाई लिएर  कति चर्चा भयो। अमेरिकाजस्तो मुलुकमा त यस्ता चर्चा हुन्छन् भने नेपालजस्तो मुलुकमा सेक्स, पैसाजस्ता कुराको चासो हुनु स्वाभाविक हो। मुख्य कुरा यस्ता इस्यु  पत्रिकाले नै निकाल्छन्। किनभने नेगेटिभ कुरा नगरी पत्रिका बिक्री हुँदैन। तपाईंहरूले नै मेरो कुनै नेगेटिभ काम भेट्नुभयो भने कत्रो इस्यु बनाउनुहुन्छ तर पोजेटिभ काम  गरें भने त्यही समाचार कुनामा पनि अटाउँदैन।

यसको अर्थ पत्रिकामा राम्रो कभरेज हुन्छ भनेर लफडा गर्नुभएको हो ?

होइन, पटक्कै होइन। कुरा के भने म अरू हिरोजस्तो सानो कुरा गर्दा पनि वकिलसँग परामर्श गर्दिनँ। जे गर्छु, हृदयबाट गर्छु। म सेलिब्रेटी हुँ। मैले यो गर्नुहुन्छ कि गर्नुहुँदैन,  त्यतातिर लाग्दिनँ। म हिरो हुनुभन्दा अघि मान्छे हुँ नि। अब मेरो वरिपरि सबै मेरा शुभचिन्तक मात्र हुन्छन् भन्ने त हुँदैन। मलाई उडाउने सानो कुरा भयो भने उनीहरू लाई पुगिहाल्छ। पत्रिकाले त्यसलाई इस्यु बनाइहाल्छन्।

गल्ती गर्ने तपाईं, दोष पत्रिकालाई लगाउने ?

होइन, होइन। कुरा के भने म हिरो हुँ भनेर ठूलाबडासँग मात्र संगत गर्ने, महँगो ह्वीस्की मात्र पिउने र बोल्दा वा कुनै काम गर्दा दस जनासँग परामर्श गर्ने काम गर्दिनँ।  म त ह्वीस्की पिउने स्थानमा पनि बिन्दास, ठर्रा पिउनेसँग पनि बिन्दास। अब ठर्रा खाने ठाउँमा घिचपिच भएपछि अलिअलि लफडा त भैहाल्छ नि, होइन ?

हिन्दी चलचित्रमा एउटा गीत छ, मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए, तर नेपालीमा चाहिँ मुन्ना (भुवन केसी) बदनाम भएका छन्, मुन्नीका लागि। किन यति सारो  मुन्नीहरूको पछि लाग्नुहुन्छ ?

म कहाँ मुन्नीको पछि लाग्छु भन्या ? मुन्नीहरू नै मेरो पछि लाग्छन्। मेरा केटी साथीहरू नै बढी छन्। म चलचित्रमा पनि रोमान्टिक हिरो हुँ। चलचित्रमा जस्तै बाहिर पनि  रोमान्टिक छु, हेन्डसम छु, मिलनसार छु। त्यसैले लाखौं युवती मेरा प्रशंसक छन्। तीमध्ये बाहिर हिँड्दा केही युवती-महिलाहरूसँग भेट हुन्छ। उनीहरूसँग देख्नेबित्तिकै ल  भुवनले फलानो केटी लिएर हिड्यो भन्ने हल्ला चलिहाल्छ। यस्तो हल्ला पनि मलाई साधारण लाग्न थालेको छ। कारण म चर्चित छु र त हल्ला चल्छ। नत्र यसरी कैयौं  व्यक्ति कैयौंसँग हिँडिरहेका हुन्छन्, तर मेरो मात्र हल्ला चल्नुले ममा अझै दम छ भन्ने बुझ्छु।

सार्वजनिक स्थानमा लफडै हुने गरी चर्चा हुनु, भुवन केसीले कुटाई खायो भन्ने समाचार आउनु त अति भयो नि, होइन र ?

हेर्नुहोस्, कुरा उठाइहाल्नुभो। त्यस दिन काठमाडौंबाट मेरी केटी साथी (गर्ल फ्रेन्डचाहिँ होइन रे) सँग उनको बुटिकको विज्ञापनको छायांकनका लागि लोकेसन हेर्न धुलिखे लतिर जाँदै थियौं। अब कसैसँग मित्रता गाँस्नुअघि तिम्रो बायोडाटा देऊ अनि मात्र मित्र हुन्छु भन्ने कुरा आउँदैन। उनको श्रीमान् र परिवार छन् भन्ने कुरा मलाई थाहा  थिएन। कोटेश्वर पुग्दा अचानक एउटा मोटरसाइकल आएर हाम्रो गाडी अगाडि तेर्सिएपछि मात्र थाहा भयो, उहाँ मेरी साथीकी श्रीमान् हुनुहुँदो रहेछ।

उहाँहरूबीच विवाद हुन थालेपछि एउटा जेन्टलम्यानले दुई जना जोइ-पोइका बीच भएको विवाद हेरिरहन मिल्दैन। त्यसैले म सुटुक्क बाहिर निस्किएँ। ट्राफिक जाम भएका  बेला म गाडीबाट बाहिर निस्किँदा कसैले भुवन केसीले हेल्मेटले कुटाई खायो भन्ने हल्ला चलायो। कुरै नबुझी त्यो कुरा पत्रिकामा आयो। वास्तवमा त्यहाँ सयौं मानिस  थिए, आजको जमानामा सबैको हातमा मोबाइल हुन्छ। ल मैले कुटाइ खाएको भए कसैले न कसैले त फोटो खिचेका होलान् नि। ल फोटो देखाऊन्, म सार्वजनिक रूपमै  आफ्नो गल्ती स्वीकार गर्छु। हुँदै नभएको कुरा यसरी आउँदा म साँच्चै दुःखी छ। यति दुःखी यसअघि म कहिल्यै भएको थिइनँ।

नेपाल जस्तो मुलुकमा अरूकी श्रीमतीसँग हिँड्दा यस्ता समस्या आउँदैनन् भन्ने सोच्नुभएको हो ?

ए बाबा, उनको परिवार छ भन्ने कुरा नै मलाई थाहा थिएन भन्या। म अलि खुला दिलको मान्छे, हामीबीच कुरा मिल्यो। हामी साथी भयौं। साथी हुनेबित्तिकै सबै कुरामा  चासो राख्नुपर्छ भन्ने पनि त छैन नि।

तपाईंका कारणले एउटी महिला बदनाम भइन्। परिवार बिगि्रयो भन्ने आरोप पनि लाग्न थालेको छ, के भन्नुहुन्छ ?

कसैको साथी भएकै कारण कुनै महिला बद्नाम हुन्छिन् भन्ने कुरा म मान्दिनँ। बाहिर के हल्ला चले वा चलाइए, म त्यसको पछि जान चाहन्नँ। म उनले आफ्नो घर  सम्हालेको हेर्न चाहन्छु। होइन, यदि उनको घर पहिले नै बिगि्रएको थियो भने मलाई मोहरा बनाउन पाइँदैन। म यो देशको एउटा कलाकार हुँ। उनीहरूको पारिवारिक  तनावको बीचमा म आउनु हुँदैन।

तपाईंलाई उहाँले मोहरा बनाएको होस् वा तपाईंले उहाँलाई मोहरा बनाएको होस्, घटना घटिसक्यो। अब तपाईंहरूबीच विवाहको सम्भावना छ कि छैन ?

प्रेम त भएको छैन, विवाह त टाढाको कुरा। हाम्रो मित्रताका क्रममा न त मैले उनीसमक्ष प्रेम प्रस्ताव राखेको छु, न त विवाहको कुरा नै भएको छ। हाम्रो मित्रता यस्तो  थियो, जहाँ उनको विवाह भएको छ कि छैन भन्ने कुरा पनि गौण थियो।

जे होस्, अहिले एक्लो हुनुहुन्छ, तपाईंको स्वभाव अनुसार शर्मिलाजीसँग नभए अरू कसैसँग विवाह त गर्नु नै हुन्छ होला, कि होइन ?

अहिले मेरो दिमागमा मेरो छोरा अनमोलको करियरको चिन्ता नै बढी छ। उसको पहिलो चलचित्र 'साथी म तिम्रो' रिलिज हुँदैछ। त्यसैले सारा ध्यान उसको फिल्मी  करियरमा छ। यद्यपि म अब बूढो भएँ, विवाह गर्दै गर्दिनँ भन्ने पनि होइन। म जवान छु। मेरो छोरो, मेरी आमा र शुभचिन्तकहरू पनि असल युवती फेला परेको खण्डमा  फेरि मेरो घरबार होस् भन्ने चाहनुहुन्छ।

भनेपछि शर्मिला नभए उर्मिलाको खोजीचाहिँ जारी छ भन्ने बुझ्नुपर्‍यो ?

अरे यार, जवानी र जीवन हुन्जेल पार्टनर त चाहियो नि, होइन र ?

तपाईं यति स्त्रीप्रेमी भएर पनि लामो समयसम्म एउटै महिलासँग किन घरबार हुँदैन, तपाईंजस्तो मानिससँग त महिला झन् खुसी हुनुपर्ने होइन र ?

मेरो तर्फबाट त सधैं प्रेम रहन्छ। खै किन हो, विवाहचाहिँ सफल हुन सकिरहेको छैन।

कहिलेकाहीँ महिला मनोविज्ञान बुझ्न नसकेका कारण आफ्नो विवाह सफल हुन सकिरहेको छैन भन्ने लाग्दैन ?

म साँच्चै भनौं ? मैले आवश्यकताभन्दा बढी माया गरेका कारण मात्तिएर यस्तो अवस्था आएको हो। मैले श्रीमतीहरूलाई सधैं आवश्यकभन्दा बढी माया-सम्मान दिएँ र  सपोर्ट गरें। कस्तो व्यक्तिलाई कहाँ पुर्‍याए त्यो सबैलाई थाहा छ। बरु उनीहरूले मेरो मनोविज्ञानचाहिँ बुझेनन् कि भन्ने लाग्छ।

पूर्वश्रीमती सुस्मिताले तपाईंलाई स्त्री-लम्पट मात्र होइन, पैसा-मोह धेरै भएको व्यक्तिको आरोप लगाउँदै सार्वजनिक माध्यमबाटै गाली गर्नुभएको छ, यसबाट पनि तपाईंको  धेरै कुरा बाहिर आयो भन्ने लाग्दैन ?

हैसियत नभएकाहरूले आफू राम्रो छु भन्ने देखाउन अरूलाई नीच देखाउँछन्। यो त्यस्तै प्रयास हो। उनी मेरो अत्यन्तै प्रिय छोरा अनमोलकी आमा पनि हुन्। उनले आफू  कुन औकातको मानिस हुन् भन्ने कुरा देखाइन्। म खराबै थिएँ भने पनि असल आमा भएको भए छोराका लागि त्यस्तो कुरा सार्वजनिक गर्नुहुँदैनथ्यो। उनका बारेमा बोल्न  मसँग धेरै कुरा हुँदाहुँदै पनि म केही भन्दिनँ। यति हो, यदि मैले कसैको एक पैसा लिएको प्रमाण दिन्छ भने म त्यसको चार दोब्बर तिर्न तयार छु।

सुस्मिताजीले हाकाहाकी उहाँको माइतीबाट पैसा ल्याएर करोडपति बनाएको आरोप लगाउनुभएको छ। पैसाकै लागि तपाईं महिलाको संगत गर्नुहुन्छ रे ?

म उहाँ जन्मनुअघि नै गाडी चढेर हिँडेको मान्छे। आज जहाँ एयरपोर्ट छ, ती सबै जग्गाको मालिक भएको मान्छे। यस्तो जाबो आरोप कसले पत्याउँछ होला ? ईश्वरको कृपाले आजका दिनसम्म मलाई पैसाको खाँचो भएन। मैले भनिहाले नि, आफूलाई ठूलो देखाउन अरूलाई निचा देखाउनुपर्छ। उनले लगाएका सबै आरोप मिथ्या हुन् भन्ने  कुरा सबैलाई राम्रैसँग थाहा छ।

तपाईंमा जिद्दीपन, आफ्नो कुरा नै ठिक, आफूचाहिँ हिरो, अरु जीरो भन्ने भावनाचाहिँ अलि बढी नै छ, हैन ?

म केही हुँ भन्ने अहम्चाहिँ छ। मेरी आमाले मलाई यू आर समथिङ भन्ने चिनाइदिनुभयो। उहाँको माया, प्रेम र उत्साहको पिण्ड नै भुवन केसी हो। त्यसैले म आज जे छु,  त्यसमा गर्व गर्छु र भुवन केसीमा केही छ भने त्यो आमाकै कारणले हो भन्छु।

आजभोली अनौपचारिक प्रसङ्गमा तपाईं आमाबाहेक आफ्नी जेठी श्रीमती विजयालाई पनि सम्झन थाल्नुभएको छ। के जेठी श्रीमतीसँग पारपाचुके गर्नु भूल थियो भन्ने  कुरा रियलाइज गर्न थाल्नुभएको हो ?

विजया असाध्यै पढेलेखेकी महिला र मेरा दुई सन्तानकी आमा हुन्। उनी समझदार एवं सुसंस्कृत महिला हुन्। हामी समझदारीपूर्वक नै छुट्टिएका हौं। हाम्रो आज पनि  मित्रता छ। उनी मेरो प्रथम प्रेमिका र जीवनसाथी हुन्। जब को असल भन्ने कुरा आउँछ, म उनलाई सम्झन्छु।

त्यसो भए तपाईंहरूबीच फेरि मिलन हुन सक्छ ?

सक्दैन, किनभने म पशुपति आर्यघाटमा नेपालीकै रूपमा खरानी हुन चाहन्छु। उनी अमेरिकामा दुई सन्तानको करियर बनाउन बिजनेस गरेर बसेकी छिन्। मलाई नेपाली  दर्शकले यति ठूलो स्थान दिनुभयो, त्यसैले म अमेरिकी हुन सक्दिनँ। उनी यता नआउने, म उता नजाने। त्यसैले हाम्रो मिलन असम्भव छ।

ठीक यसैबेला राजनीतिमा हात हाल्नुभएको छ ? एकांकीपन हटाउन राजनीतिमा आउनुभएको हो ?

म नाम कमाउन राजनीतिमा गएको होइन, किनभने म अलरेडी फेमस छु। म भ्रष्टाचार गर्न पनि राजनीतिमा गएको होइन, किनभने मलाई पुग्दो पैसा छ। म कार्यकर्ता  हुन र नेताको जी हजुरी गर्न पनि राजनीतिमा गएको होइन, किनभने मसँग आफ्नै भिजन छ। मैले चलचित्र जीवनमा पाएको नाम र क्षमता राजनीतिमा प्रयोग गर्दा  त्यसबाट देशले फाइदा पाउने देखेर यता आएको हुँ।

त्यसो भए कमरेड भुवन केसीले देशमा के परिवर्तन ल्याउँछ त ?

हेर्नुहोस्, चलचित्र क्षेत्रमा मेरो फेर समातेर धेरै कलाकार स्थापित भए। मेरा अपोजिट हिरोइनहरू तृप्ति, करिश्मा, गौरी, हिरोहरू श्रीकृष्ण श्रेष्ठ, रमेश उप्रेती, कलाकार रतन  सुवेदी, संगीतकार सम्भुजित बाँस्कोटाहरू उचाइमा पुगे। प्राइभेट सेक्टरबाट चलचित्र बन्न सक्छन् र त्यसले नाफा कमाउन सक्छ भन्ने कुरा म हिरो भएका चलचित्रले नै  स्थापित गरे। नेपाली चलचित्रको यति ठूलो कलाकार जुन पार्टीमा पुग्छ, त्यसले त्यो पार्टीकै नाम चम्काउँछ। निर्वाचनमा म मात्र जित्दिनँ, मेरो उपस्थितिले अरू नेताहरू लाई पनि जिताउँछ।

यो भुवन केसीको अहम् हो ?

होइन, आत्मविश्वास हो, मैले लेखेको इतिहास हो। राजनीतिमा पनि यस्तै इतिहास लेखिनेछ।
Source :SaptahikKantipur

Posted by Butwalonline on 12:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लफडाको अर्को नाम भुवन के.सी."

Leave a reply