|

मोबाइल अपराधको यो हद !

'राति ढोका खोलिराख्नु ल डार्लिङ, म आउँदैछु।' यस्तो वाक्यांश एसएमएस बनेर आउँदा कविता बाँस्तोला (नाम परिवर्तन) ले परदेशमा रहेका आफ्ना श्रीमान्लाई सम्झिन्। सन्देश हेरेर 'रोमान्टिक मुड' बनाएकी कवितालाई लाग्यो, सायद खसमले काठमाडौं आएर 'म्यासेज' पठाएको हुनुपर्छ। यस्तै गम खाइरहेका बेला विदेशबाटै श्रीमान्ले सन्चो-सुविस्ता खोजबिन गर्दै कल गर्दा पो कविता छाँगाबाट खसेझैं भइन्। त्यो विश्वासमा ठेस लागेपछि उनको उमङ्ग क्षणभरमै पानीको फोका सावित भयो। कविताले भनिन्- 'त्यसपछि पो ननभेज म्यासेज पठाउने अरू कोही रहेको भेउ पाएँ।'    

मोरङ उर्लाबारीकी कवितालाई जेठ १ गते पहिलोपल्ट 'राति ढोका खोलिराख्नु...' लेखिएको मात्र होइन, तारन्तर तीन दिनसम्म अश्लील शब्दको वर्षा नै भयो, उनको मोबाइल 'इनबक्स'मा। 'पढेर सुनाउने खालको शब्द नै होइन,' प्रहरी हाताका लेखन्दास गणेश गुरुङले भने- 'यस्तो एसएमएसको कानुनी उपचार खोज्नु कविताको साहसिक निर्णय हो।' दुई सन्तानकी आमा कविताले मानसिक तनावबाट मुक्ति पाउन जेठ ५ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिइन्। प्रहरीले सिम नम्बरका आधारमा अनुसन्धान तीव्र पारेपछि कविताकै भनाइमा कल्पनासमेत नगरेको व्यक्ति दोषी देखिए अर्थात् छिमेकी लोमनाथ ढुंगेल। ३५ वर्षीय ढुंगेलले अश्लील एसएमएस पठाउनकै लागि मधुमल्ला, तोरीबारीका नरबहादुर निरौलाका छोरा कमल निरौला बनेर एनसेलको ९८१५३३०५२५ नम्बरको सिम किनेको रहस्य पनि त्यतिबेलै खुल्यो।    

प्रहरीले सिम कमल निरौलाको नाममा रहेको र कमलको बाबुको नाम नरबहादुर नै भएको आधारमा नरबहादुरलाई पनि पक्राउ गर्‍यो। तर, उनका छोरा कमल तीन वर्षअघि नै साउदी अरब गएको कुरा स्पष्टपछि ढुंगेलले किर्ते गरी एनसेलको सिम निकालेको रहस्योद्घाटन भएकोे हो। ७५ वर्षीय वृद्ध नरबहादुरले दुःखी हुँदै भने- 'के दिन आयो, मजस्तो पाकोले पनि अनाहकमा तीन दिन तारेख धाउनुपर्‍यो।'   

पछिल्लो समय मोबाइलबाट हुने अपराध अचाक्ली बढेको छ। एउटा बिराउने शाखा पिराउने भनेझैं एउटाले गल्ती गर्दा अनुसन्धानका नाममा निरपराधीले पनि सास्ती खेप्न थालेका छन्।    

मधुमल्लाका निरौलाजस्तै सास्ती खेप्नेमा पर्छन् उर्लाबारीका हेमराज अग्रवाल। कसैको मोबाइलमा नम्बर 'सेभ' भएकै कारण उनले सात दिन थुनामा बिताउनुपर्‍यो। हेमराजले ०६७ असार ३२ गते एनसेलको सिम लिएका थिए, तर विक्रेताले लापरवाहीपूर्वक ९८१४३१०२९५ नम्बरको सिम दिएर दर्ता खातामा ९८१४३१०२६५ नम्बर टिपेपछि अग्रवालले प्रहरीको सास्ती भोगेका हुन्। एक महिनाअघि झापाको बिर्तामोडमा घुमुवा प्रहरी अम्बिका पोखरेललाई गोली हान्ने माओवादी लडाकु भेषराज दर्जीको मोबाइल 'कल डिटेल्स' खोज्ने क्रममा अग्रवालको नाम देखिएपछि उनी प्रहरी फन्दामा परेका थिए। हाल १५ दिने तारेख खेपिरहेका व्यापारी अग्रवालले आफूले लडाकु भेषराज दर्जीको फोन रिसिभ पनि नगरेको र उनलाई कल पनि नगरेको उल्लेख गर्दै भने- 'लापरबाही गर्ने सिम विक्रेता कारबाहीको भागीदार हुनुपर्थ्यो तर उल्टो भयो।'    

अग्रवाललाई सिम बेच्ने उर्लाबारीस्थित एनसेलका आधिकारिक विक्रेता डम्बर तुम्वाहाङ भने मोबाइल बोक्नेहरू नै सतर्क र सजग हुनुपर्ने कुरा बताउँदै भन्छन्। उनले भने- 'नम्बर दर्ता मात्र सबै थोक होइन।' यस्तै गत वैशाख ९ गते पथरीकी चन्द्रकला गुरुङलाई स्थानीय अन्नपूर्ण आवासीय विद्यालयका शिक्षक महेश नायकले मोबाइलबाटै ५० लाख रुपैयाँ माग गर्दै धम्की दिएपछि उनी पक्राउ परे। अहपरण ऐनअन्तर्गत इलाका प्रहरी कार्यालय उर्लाबारीले मुद्दा चलाएपछि नायकलाई जेठ १ गते पुर्पक्षका लागि मोरङ कारागार चलान गरिएको प्रहरी निरीक्षक श्याम सारु मगरले बताए।    

महिनैपिच्छे मोबाइलबाट हुने अपराधका घटना दुई-चारवटा दर्ता हुने गरेको उर्लाबारी प्रहरी बताउँछ। यद्यपि पीडितकै आग्रहमा कतिपय घटनामा मिलापत्र गराउनुपर्ने बाध्यता भएको पनि प्रहरीले बतायो। एक वर्षअघि पथरीका व्यापारी महावीर जैनलाई लिम्बुवान संगठनका नाममा मोबाइलबाट धम्की दिइएको घटना सामाजिक छलफलबाटै मिलापत्रमा पुगेर टुंगिएको थियो। त्यस्तै चार महिनाअघि पथरीका पत्रकार अर्जुन जम्नेली राईलाई एसएमएस गरी धम्की दिने विवेक भट्टराईविरुद्ध सार्वजनिक मुद्दा दायर गरियो। अभियुक्त भट्टराई हाल २८ हजार धरौटी तिरेर रिहा भएका छन्। पत्रकार राईलाई धम्की दिने अन्य अपराधी भने नेपथ्यमै हराएका छन्।

मोबाइल प्रदायक कम्पनीहरूले हचुवाको भरमा सिम वितरण गर्दा यस्ता घटनाहरू हुने गरेको प्रहरी निरीक्षक सारुमगरले बताए। खासगरी पानपसल तथा किराना पसलहरूमा समेत पाइने सिमकार्ड ग्राहकको तस्बिर, तीनपुस्ते र नागरिकताबिना नै बिक्री हुने गरेका छन्। सस्तो मूल्यमा पाइने सिमका कारण सर्वसाधारण जनता सञ्चारको पहुँचमा पुगे पनि सिम दुरुपयोगको घटनाबाट धेरैले ताडना खेप्नुपरेको यथार्थ हो।
मिमिलन के राउत
Source:Saptahik Kantipurलन के राउत

Posted by Butwalonline on 12:04 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोबाइल अपराधको यो हद !"

Leave a reply