|

विराटनगरमा निषेधाज्ञा आज पनि निरन्तर

विराटनगर, अषाढ ३ - अप्रिय घटना हुनसक्ने सम्भावनालाई ख्याल गर्दै मोरङ प्रशासनले विराटनगर उपमहानगरपालिकाको खास क्षेत्रमा लगाएको निषेधाज्ञा शुक्रबार पनि जारी छ । प्रशासनले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निशेधाज्ञा आदेश जारी गरेको हो ।
यसअघि बुधबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म जारी गरिएको यो आदेश राति ९ बजेसम्मका लागि थपिएको थियो ।
उपमहानगरका विभिन्न स्थानमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन् । मोरङ प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञाका जारी गरिएको हो । यस अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति हिडडुल गर्न, सभा, जुलुस र धर्ना गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
यो बन्देज कोसी राजमार्गको विराटनगर उत्तर कञ्चनबारीदेखि दक्षिणमा रोडशेष र बजारका मुख्य भागमा लागू हुने प्रशासनले जनाएको छ । एमाले भातृ संगठन युवा संघले गर्न लागेको बिहीबार गर्ने भनेको 'प्रतिकार सभा' लाई ध्यानमा राख्दै यस्तो कडाइ गरिएको हो ।
बिहीबारै पक्राउ परेका युवा संघ अध्यक्ष महेश बस्नेतको गिरफ्तारीलाई लिएर युवा संघका कार्यकर्ताले विभिन्न स्थानमा प्रंदर्शन गरिरहेका छन् । यसक्रममा तनाव हुने सम्भावना ख्याल गर्दै प्रशासनले निगरानी बढाएको छ ।
पक्राउ परेका बस्नेतले प्रहरी नियन्त्रणबाट निस्कन मानेका छैनन् । पक्राउको कारण स्पष्ट पार्नुपर्ने भन्दै उनी प्रहरी तालिम केन्द्रमै बसेका छन् । उनी बिहीबार इटहरीको रिभरसाइट रिसोर्टबाट पक्राउ परेका थिए ।
बस्नेतले पत्रकार खिलानाथ ढकाल आक्रमणका दोषी भनी किटानी जाहेरीमा नाम उल्लेखित पर्शुराम बस्नेतको मुद्दा फिर्ता लिनुपर्ने र आफूलाई पक्राउ गर्नुको कारण खुलाउनुपर्ने माग गरेका छन् ।

Source:KantipurNews

Posted by Butwalonline on 11:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विराटनगरमा निषेधाज्ञा आज पनि निरन्तर"

Leave a reply