एडिवीले झण्डै एक अर्ब ८० करोड अनुदान सहयोग दिने
१३ असार, काठमाडौं । एसियाली विकास बैंक एडिवीले एक अर्ब ७९ करोड ९६ लाख ७० हजार अर्थात (२५.१) मिलियन डलर अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
शङ्खुवासभा, दोलखा, रसुवा, मनाङ, मुस्ताङ हुम्ला, डोल्पा, जुम्ला, सोलुखुम्बु र मुगु गरी १० जिल्लाका जनताको कृषि तथा पशुपालनका लागि रु एक अर्ब ४४ करोड ११ लाख ७० हजार र पुँजी विस्तार र भौतिक पूर्वाधार विकासमा रु ३५ करोड ८५ लाख अनुदान सहयोग उपलब्ध गराउन लागेको हो ।
अनुदान सहयोग सम्वन्धी सम्झौतापत्रमा सोमबार अर्थ सचिव कृष्णहरि बाँस्कोटा र एसियाली विकास बैंकका निर्देशक बेरी जे हिट्चककले हस्ताक्षर गर्नुभयो ।
अर्थ सचिव कृष्णहरि बाँस्कोटाले अनुदान सहयोग उच्च हिमाली क्षेत्रमा बसोवास गर्ने जनताको कृषि तथा पशुपालन क्षेत्रमा सुधार ल्याउने प्रक्रियामा खर्च गरिने बताउनुभयो । एसियाली विकास बैंकका निर्देशक बेरीले अनुदान सहयोगबाट परियोजना सञ्चालन हुनगई उच्च हिमाली क्षेत्रका जनताको आम्दानी बढ्नुका साथै रोजगारीको अवसरसमेत प्राप्त हुनसक्ने जानकारी दिनुभयो ।
परियोजना सञ्चालनबाट कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत वृद्धि हुन गई सात हजार ५०० व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने बताइएको छ । रासस