|

लाखौं रुपैयां लिएर दलालहरु फरार,२७ जना नयाँ दिल्लीमा अलपत्र

नयां दिल्ली, अषाढ ३ - दुबईको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभन देखाई २७ जनाबाट एकै पटक संकलन गरिएको लाखौं रुपैयां लिएर दलालहरु फरार भएका छन् ।
वालमार्ट कर्पोरेशन भन्ने कम्पनीमा काम गराउनका लागि भन्दै दलालहरुले आफूहरुबाट एक लाख ५० हजार देखि २ लाख ५० हजार रुपैयांसम्म लिएको पीडितहरुले बताएका छन् । स्याङ्जाको वालिङस्थित ब्राइटर मुन ह्युमन रिर्सोसेस् कम्पनीका महाप्रबन्धक अर्जुन कार्की, सहप्रबन्धक ध्रुव पौडेल र माधव न्यौपानेले आफूहरुबाट करिब ४५ लाख रुपैयाँ लिएपनि पूर्वप्रतिवद्धता विपरीत नयाँ दिल्लीमा अलपत्र छाडिदिएको पीडितहरुले गुनासो गरे ।
वालिङ्स्थित माछापुच्छ्रे बैंकमा समेत कार्यरत कार्की, नेपालबाट पीडितहरुको सम्पर्कमा रहेपनि पौडेल र न्यौपाने भने फरार छन् । यहाँस्थित नेपाली दूतावासले कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएपछि कार्कीले नयाँ दिल्लीको अशोका होटलमा बेखर्ची बसिरहेका पीडितहरुलाई नेपालसम्म ल्याउन सहयोग गर्ने वचन दिएका छन् ।
नयाँ दिल्लीसम्म पुर्याउन आएका पौडेल र न्यौपानेले छाडेर गएपछि होटल मालिकले पीडितहरुलाई त्यहां बस्दा र खांदा लागेको रकम नतिरेसम्म जान नदिने भन्दै बाहिर निस्कन समेत दिएका छैनन् ।
झण्डै दुई साता यता उक्त होटलमा बसिरहेका पीडितहरुका अनुसार हालसम्म खान र बस्नमात्रै ८० हजार रुपैयाँ खर्च भइसकेको छ । पीडितहरुमध्ये तीन जना होटलबाट भागेपनि अन्य २४ जना एउटै कोठामा कठीन ढंगले बसिरहेका थिए । अखिल भारत नेपाली एकता मञ्चका राज्य समिति सदस्य कृष्ण गैह्रेको सहयोगमा उनीहरुलाई बिहीवारै नयाँ दिल्लीबाट नेपालतर्फ पठाइएको छ ।
होटलबाट बिहीवार दूतावास खबर गर्न पुगेका चार जनाले दलालहरु आफूहरुको नजिकको नातेदार भएकाले विश्वास गरी रकम दिएको बताए ।
'आफ्नै नातेदारले पनि यसरी झुक्काएर भाग्लान् भन्ने विचारै गर्न सकिएन', पीडित प्रदीप पौडेलले भने ।
२७ मध्ये पहिलो चरणमा बुधवार १० जनालाई दुबई पठाइदिने र त्यसै दिन विमानस्थलमा भिसा ल्याइदिने आश्वासन दिएपनि दलालहरु उडान समयको केहीअघिदेखि सम्पर्कविहीन भएका थिए । १० मध्येका तीन जनालाई पहिले भिसा दिएपनि पछि परीक्षणका क्रममा नक्कली प्रमाणित भएको थियो । आफूहरुलाई काठमाण्डौंबाट उडाउन पीडितहरुले दबाब दिएपनि दलालहरुले दुबईस्थित वालमार्ट कर्पोरेशनका महाप्रबन्धक नयाँ दिल्ली आएकाले यहाँ नै सम्झौतापत्रमा हस्ताक्षर गरी यतैबाट उडान भर्न भनेका थिए ।
'आखिर त्यो सम्झौतापत्र र भिसा नक्कली रहेछ । कम्पनी र महाप्रबन्धक भनिएका व्यक्ति पनि फर्जी भएजस्तो लाग्छ,' अर्का पीडित महेन्द्रराज धमलाले ईकान्तिपुरसंग भने । अलि अहमद खान भन्ने भारतीय नागरिकलाई कम्पनीको महाप्रबन्धकका रुपमा खडा गरी नक्कली सम्झौतापत्रमा हस्ताक्षर गराइएको पीडितहरुले बताए । उनीहरुलाई प्याकिंग हेल्पर, टी बोय, बुच्चर, लाइट भेइकल ड्राइभर लगायतका काममा लगाइदिने र काम हेरी १ हजार ८ सय देखि ५ हजार दिनारसम्म मासिक तलब दिने आश्वासन दिइएको थियो । ठगिएकामध्ये अधिकांश यसअघि पनि वैदेशिक रोजगारीमा गइसकेका थिए ।
जग्गा धितो राखी, ऋण गरी तथा अंश बेची रकम बुझाएका पीडितहरुले घर फर्कन पनि आफूहरुलाई अप्ठ्यारो रहेको बताए । 'अब कुन मुखले घर फर्कने । भएको सम्पत्ति पनि विदेश जाने भनेर सकियो,' प्रदीपले भने ।


Source:kantipurnews

Posted by Butwalonline on 12:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लाखौं रुपैयां लिएर दलालहरु फरार,२७ जना नयाँ दिल्लीमा अलपत्र"

Leave a reply