|

नेपालमा २१ लाख बालश्रमिक

निरु अर्याल/मोहन गुरुङ

काठमाडौं,


नेपालमा झन्डै २१ लाख बालबालिका श्रम कानुनद्वारा निषेधित क्षेत्रमा श्रमिकका रूपमा कार्यरत छन् । राष्ट्रिय योजना आयोग र अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) को सहयोगमा केन्द्रीय बालकल्याणकारी समितिले बुधबार सार्वजनिक गर्ने तयारी गरेको अध्ययन प्रतिवेदनमा यो तथ्यांक छ ।

प्रतिवेदनअनुसार कृषि क्षेत्रमा सबैभन्दा बढी १८ लाख ७१ हजार बालबालिकाले काम गरिरहेका छन् । व्यापारिक क्षेत्रमा ३३ हजार, उत्पादनशील उद्योगमा २९ हजार, होटल तथा रेस्टुराँमा २० हजार र निर्माण क्षेत्रमा ६ हजार बालबालिका श्रमिक छन् । यसबाहेक अन्य क्षेत्रमा काम गर्ने बालश्रमिकको संख्या ३ हजारभन्दा बढी छ । तथ्यांकअनुसार कुल श्रमिकसंख्यामध्ये १ लाख ३८ हजार बालबालिका ज्यालादारका रूपमा काम गर्छन् ।

प्रतिवेदनमा ६ लाख २१ हजार बालबालिकाले अत्यन्त जोखिमपूर्ण काम गरिरहेको उल्लेख छ । यसअघि सन् १९९८ मा योजना आयोग र आईएलओले गरेको सर्वेक्षणअनुसार नेपालमा २५ लाख बालबालिका श्रमिकका रूपमा कार्यरत थिए ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव काशी दाहालले आन्तरिक स्रोत–साधन अभावले बालश्रमिकको अवस्थाबारे अनुगमन गर्न नसकिएको बताए । “बालश्रम अनुगमनका लागि न्यून बजेट छुट्ट्याउने गरिएको छ,” उनले भने, “त्यसैले समयमै निकृष्ट प्रकृतिको बालश्रम हटाउन नसकिएको हो ।”

सन् २००४ को श्रमसम्बन्धी गुरुयोजनाले २००९ सम्म निकृष्ट प्रकृतिका र २०१४ मा सबै बालश्रमिक हटाउने लक्ष्य लिएको थियो । यो समय नजिक आइसक्दा पनि बालश्रमिकको संख्या घट्न सकेको छैन ।

पहिलो गुरुयोजनाअनुसार लक्ष्य पूरा हुन नसकेकाले पुनरालोकन गरी नयाँ गुरुयोजना बनाउन लागिएको जानकारी दाहालले दिए । “गुरुयोजनामा २०१६ भित्र निकृष्ट बालश्रमिक र २०२० मा सबै प्रकारका बालश्रमिक हटाउने लक्ष्य लिएको छ,” उनले भने, “त्यसपछि बालश्रमिकको अन्त्यका लागि काम अगाडि बढाइनेछ ।” उनका अनुसार सबै गैरसरकारी संस्थाहरूसँग पनि सहकार्य गरिनेछ ।


Source:karobardaily

Posted by Butwalonline on 8:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालमा २१ लाख बालश्रमिक"

Leave a reply