निजीस्तरबाट सुदूरपश्चिममा सञ्चार क्रान्ति
नवराज भण्डारी
डडेल्धुरा, २४ जेठ
सरकारीस्तरबाट सूचना प्रविधिको विकास गति सुस्त भए पनि निजीस्तरबाट गरिएको लगानी तथा प्रयासबाट दूरदराजका सर्वसाधारणले प्रत्यक्ष लाभ लिएका छन् । विगतदेखि राज्यको विकास दृष्टि पुग्न नसकेको पश्चिम नेपालको सुदूरपश्चिम हिजोआज सञ्चार क्रान्तिको अभियानमा लागि परेको छ ।
मुलुकको समग्र राजनीति उथल पुथलसँगै यही क्षेत्रका नेताहरूले पटक–पटक राज्यको बागडोर सम्हाले पनि सुदूरपश्चिमको सूचना सञ्चार तथा प्रविधि (आईसिटी) विकासमा ध्यान दिन सकेनन् । वि.सं. २०५० सालमा निर्मित कर्णाली पुलपश्चात् यस क्षेत्रले राज्य उपस्थितिको प्रत्यक्ष आभाष पाएको मानिन्छ । त्यस पूर्वराजधानी काठमाडौंसँग प्रत्यक्ष सम्पर्क नहुँदा उपेक्षित बन्दै आएको सुदूरपश्चिम हाल आईसिटीको विकासबाट नयाँ ‘सुन्दर सुदूरपश्चिम’ उपनामबाट चिनिने गरेको छ ।
२००७ सालमा स्थापना भएको प्रजातन्त्रसँग यस क्षेत्रमा पहिलो दैनिक पत्रिका ‘सुदूरपश्चिम समाचारपत्र’ को जन्म भइसकेको थियो । राणाविरुद्ध आन्दोलन छेड्न सञ्चार जगत्बाट प्रजातन्त्र प्रेमी जनतालाई गोलबन्द गर्न यस एक मात्र पहिलो दैनिक पत्रिकाले महत्वपूर्ण भूमिका खेलेको सञ्चारविद्हरू बताउँछन् । सुदूरपश्चिम समाचारपत्र नेपालकै चौथो दैनिक पत्रिकाका रूपमा समेत परिचित छ । हाल सुदूरपश्चिमका ९ वटै जिल्लामा दैनिक तथा साप्ताहिक पत्रिकाको चर्को प्रतिस्पर्धा नै चलेको देखिन्छ । जसबाट सर्वसाधारणले चाँडोभन्दा चाँडो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा समाचार पाउने गरेका छन् । पत्रपत्रिका, एफएम, स्थानीय केवल टेलिभिजनबाट प्रकाशन तथा प्रसारण हुने स्थानीय आवाजबाट सर्वसाधारणले सूचना सञ्चार प्रविधिमाथि सहज पहुँच स्थापित गरेका छन् । साथै सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र रोजगारीको माध्यमका रूपमा समेत आईसिटी क्रान्ति अगाडि बढेको छ ।
संसारमै सबैभन्दा बढी परिवर्तन भइरहेने आईसिटी क्षेत्र राष्ट्र विकासको प्रमुख माध्यम भए पनि नेपालका लागि सो कार्य ओझेलमा पर्दै गएको छ ।
हाल सुदूरपश्चिमका तराई जिल्ला कञ्चनपुर कैलाली र सातवटा पहाडी जिल्ला गरी १८ वटा एफएफ सञ्चालनमा छन् । जसमा सामुदायिक एक दर्जन सामुदायिक एफएमहरूले स्थानीय समाचारहरूलाई प्राथमिकता दिँदै आएका छन् । “हालसम्म सञ्चारमाध्यमको पहुँच पुग्न नसकेका विषयहरूलाई उजागर गरी जनतालाई चेतना अभिवृद्ध गर्नु यहाँका सामुदायिक एफएमहरूको काम हो,” नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष स्थानीय डिआर पन्तले बताए । उनका अनुसार, पाँच वर्षअघिसम्म पनि एक आध एफएम र औंलामा गन्न सकिने पत्रपत्रिका यस क्षेत्रबाट सञ्चालित थिए । “सञ्चार माध्यमबाट स्थानीय विषयहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनुका साथै रोजगारका लागि राम्रो माध्यम पनि आईसिटी क्षेत्र भएको छ,” पन्तले अगाडि थपे ।
धनगढी, महेन्द्रनगर, डडेल्धुरा, साँफेबगर, दिपायललगायतका बजारमा खोलिएको कम्प्युटरसम्बन्धी पसल, साइबर, इन्स्टिच्युटले पनि आईसिटी क्रान्तिमा ठूलो टेवा पु¥याएको देखिन्छ । दुई चार वर्षअघिसम्म पनि सुदूरपश्चिम क्षेत्रका पहाडी र तराईका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले कम्प्युटर पनि देख्न पाएका थिएनन् । छिमेकी मुलुक भारतसँग सीमा जोडिएकै कारण सूचना प्रविधिको अनुभव लिन यस क्षेत्रका सर्वसाधारणका लागि भारत पहिलो गन्तव्य बन्ने गरेको हो । अहिले यस क्षेत्रका कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला र बैतडी जिल्लामा निजी आईसिटी व्यवसायीहरूको छाता संगठन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)को जिल्ला शाखा गठन भइसकेको छ । जसले स्थानीय आईसिटी विकासका लागि नियमित कार्यक्रम गर्दै आएको छ । यस्ता निजीस्तरबाट हुने गरेका सूचना क्रान्तिसम्बन्धी गतिविधिमा सरकारको सहकार्य हुन सके सुदूरपश्चिमसँगै समग्र मुलुक आईसिटी क्रान्तिको बाटोबाट समृद्धितर्फ उन्मुख हुने निश्चित छ ।
Source:KarobarDaily