विवाद पुग्यो तलैसम्म
दाहालको जिल्लामा भाडभैलो
काठमाडौ, अषाढ ११ -
माओवादीको चितवन जिल्ला कमिटीले बितेका १५ महिनायता बैठक बोलाएको छैन । अध्यक्ष पुष्पकमल दाहाल र उनका आलोचक रामबहादुर थापाको गृहजिल्लामा 'किचलो बढेकैले' बैठक हुन नसकेको हो । 'आन्तरिक विवाद र बहस चलेकै छ,' दाहाल पक्षीय जिल्ला सहइन्चार्ज ठाकुर
ढकालले भने, 'केन्द्रीय समितिको बैठक नबसेको अवस्थामा इस्यु नै छैन ।'
केन्द्रको सिको गर्दै यहाँ पनि माओवादीका तीन नेताका नाममा तीनै गुट सक्रिय छन् । तर दाहालको बहुमत कायमै छ, दुई उपाध्यक्षहरू बाबुराम भट्टराई र मोहन वैद्यका समर्थकहरू अल्पमतमा । जिल्ला कमिटीका इन्चार्ज अनिल शर्मा र सहइन्चार्ज शोभा कट्टेल वैद्य पक्षमा छन् भने अर्का सहइन्चार्जहरू अविनाश र ठाकुर ढकाल दाहाल पक्षमा । सहसेक्रेटरीहरू इन्द्रजित र ओवनाथ पाण्डे दुवै दाहाल पक्षमा छन् भने सेक्रेटरी अमर रेग्मी भट्टराई पक्षमा ।
तीनै गुटका नेताहरूले गरेको स्वीकारोक्तिअनुसार स्थानीय स्तरसम्म पुगेको विवादले कार्यकर्तामाझ चरम निराशा पैदा गरेको छ । केन्द्रीय लाइन स्थापित गर्न खोज्दा जिल्लामा पार्टीका कुनै योजना बन्न नसकेको तिनको गुनासो छ । 'गुटगत योजना बन्ने गरेका छन्,' दाहालनिकट जिल्ला सहसेक्रेटरी ओवनाथ पाण्डेले भने, 'केन्द्रले गरेका योजना कार्यान्वयन भएका छैनन् ।'
हार्दिकता नभएका बेला पनि अर्काले बोलाएको कार्यक्रममा सहभागी हुने नेताबीच अहिले सम्पर्क छैन । पाण्डेका अनुसार विवाद सतहमा पुगेपछि त्यो क्रम टुटेको छ । पार्टी स्रोतका अनुसार पहिले जिल्ला कमिटी बैठक प्रत्येक ६/६ महिनामा बस्थ्यो । 'बहिष्कारकै अवस्था हो,' जिल्ला सचिवालय सदस्य लालबहादुर तामाङले भने, 'विचारको संघर्ष चलिरहेको छ ।' उनले जिल्लामा तीनवटै गुटको समान प्रभाव रहेको बताए । 'संख्या यतिउति भन्ने ठूलो कुरा होइन,' उनले भने, 'क्रान्तिको पक्ष्ामा रहेका माओवादीहरू सक्रिय छन् ।' तीनै गुटका कार्यकर्ता 'आफ्नो लाइन र विचार प्रस्ट पार्न' तथा 'भेटघाट र सिक्न सिकाउन' गाउँ पसेको उनले बताए । फरक मत राख्नेलाई फुट परस्त र जडसूत्रवादीको आरोप लगाउने गरिएकाले समस्या भएको उनले बताए ।
वैद्य पक्षले सक्रियता बढाएको छ । उसले पूर्वी चितवनका जयमंगला, पदमपुर र सौराहामा हालै कार्यकर्ता भेला तथा प्रशिक्षण चलाएको थियो । एक महिनाअघि सौराहामा भएका तीन जिल्लाका कार्यकर्ता भेलामा वैद्य पक्षका नेता देव गुरुङले प्रशिक्षण दिएपछि दाहाल पक्षधर चिढिएका छन् ।
पर्सामा आरोपैआरोप
पर्सामा एक वर्षयता जिल्ला कमिटी बैठक बस्न सकेको छैन । त्यसको कारण 'गुटबन्दी' रहेको सहइन्चार्ज बाबुराम कौशिकले बताए । यहाँ तीन जना सहइन्चार्जले तीन गुटको प्रतिनिधित्व गरेका छन् । कौशिक बाबुराम पक्षधर हुन् भने विनोद काफ्ले दाहाल पक्षीय र रामहरेराम वैद्य पक्षीय हुन् । दाहाल पक्षीय इन्जार्च क्षेत्रबहादुर श्रेष्ठले चाहिँ गुटबन्दीमा नलागेर पार्टीको आधिकारिक लाइनमै रहेको' बताए । जिल्लामा बाबुराम पक्षधरको पकड बलियो छ । दुई जना समानुपातिक सभासद इस्लाम हवारी र चन्दा राम बाबुरामको गुटमा छन् । एक सहइन्चार्जले भने, 'इन्चार्जले जे गरे पनि न्यायसंगत, अरूले गरे गलत हुने प्रवृत्तिले गुटबन्दी भएको हो ।'
फरक लाइनका कार्यकर्तालाई 'गलत' आरोप लगाउने प्रवृत्ति बढेको छ । बाबुराम पक्षलाई 'दक्षिणपन्थी, भारतपरस्त' भनिन्छ भने दाहाल पक्षलाई 'कुनै विचार नभएको' । वैद्य पक्षलाई चाहिँ बाँकी दुई पक्षले 'बन्दुकमै झुन्डिरहेको' भन्दै त्यसले मात्र परिवर्तन सम्भव नभएको बताउँछन् । भट्टराई पक्षलाई 'भारतपरस्त' भन्नेहरू नै यहाँस्थित भारतीय महावाणिज्य दूतको आमन्त्रणमा परिवार सहित भारत भ्रमणमा समेत जाने गरेको भट्टराई पक्षका एक नेताले बताए । उनले भने, 'हामीलाई चाहिँँ भारतनिकट भन्ने अनि आफैं पारिवारिक भ्रमणमा भारत जाने ?'
अबधमा वैद्य बलियो
माओवादीले संगठन निमार्णका लागि बनाएको रूपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला सम्मिलित अबध राज्यमा तीनै गुटले छुट्टाछुट्टै गोप्य भेला, प्रशिक्षण र जमघट तीव्र पारेका छन् । एकले अर्कालाई निषेध पनि गर्ने गरेका छन् । एक्लाएक्लै भेला हुँदा पार्टीका काम गर्न समस्या परेको तीनै पक्ष गुनासो गर्छन् । माओवादीको अबधमा ७ सभासद, ८ केन्द्रीय सल्लाहकार र ७ केन्द्रीय सदस्य छन् । जनमुक्ति सेनाका एक मुख्यसहित ३ शिविर पनि छन् । कार्यालयहरूमा भट्टराई पक्ष्ा बलियो देखिए पनि जिल्ला र गाउँका कार्यकर्ता तहमा वैद्य पक्षको पकड बलियो छ । दाहाललाई यहाँका कुनै केन्द्रीय सल्लाहकार र सभासदको साथ छैन । उनको पक्षमा वाईसीएलका अबध संयोजक टकबहादुर घर्ती मुनाल, सहसंयोजक प्रदिप कठायत, ट्रेड युनियन अबध इन्चार्ज विष्णु बेल्बासे, नवलपरासी सहइन्चार्ज भविश्वर तिवारी आजाद, कपिलवस्तु पार्टी सचिवालय सदस्य रूद्र बञ्जाडे र वाईसीएल राज्य सेक्रेटरी जनकलगायत छन् । तर मुनाललगायत केही नेता कार्यकर्तालाई भने आ-आफ्नो पक्षमा रहेको दाबी अरू खेमाले पनि गरेका छन् ।
मन्त्रीले नै घर-घरमा सरकारी गाडी पठाएर दाहाल पक्षले हालै मतदातास्तरमै भेला गरेको आरोप भट्टराई पक्षका नेताहरूले लगाएका छन् । रूपन्देही जिल्ला सहइन्चार्ज माधव शर्माले पार्टीको नीतिविपरीत मतदातास्तरसम्म पनि पुगेर भएका त्यस्ता भेलाले पार्टीलाई हित नगर्ने बताए । उता वैद्य पक्षधर अबध राज्य समिति सदस्य शरद ओलीले अन्य पक्षहरूले पहिले वडास्तरसम्म भेला गरेका कारण आफूहरू बाध्य भएर त्यस्तै भेला गर्नुपरेको दाबी गरे । दाहाल पक्षले भने पाटीको सही बाटो देखाउन नेता कार्यकर्तालाई प्रशिक्षण दिनुपरेको दाबी गरेको छ ।
कास्कीमा झाँगिँदो कलह
वैशाख १८ मा मजदुर दिवस मनाउने क्रममा सामान्य विवादमा भट्टराई पक्षीय राज्यसमिति सदस्य टीकाराम पौडेलमाथि कुटपिट भयो । जेठ ४ मा जिल्ला कार्यालयको निर्णयविपरीत पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष मनोनीत गरिएको भन्दै दाहाल पक्षद्वारा भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी प्रमुख अतिथि र समिति अध्यक्ष जितबहादुर गुरुङको पदस्थापन कार्यक्रम बहिष्कार भयो । जेठको अन्तिम साता तीनवटै पक्षको भेटघाट, छलफल तीव्र पारे । जेठ ३० गते कास्कीमा उपलब्ध तमुवान् राज्य समितिस्तरीय सदस्यको बैठक राखिए पनि दाहाल पक्षले एकतर्फी रूपमा आफ्ना एजेन्डामात्र पेस गर्ने थाहा पाएर अन्य पक्ष सहभागी नहुने भएपछि भोलिपल्ट सारियो । असार ३ मा वैद्य पक्षधरद्वारा लेखनाथमा गोप्य भेला भयो । यसअघिका भेला तथा छलफलमा समान हैसियतका नेता कार्यकर्ताको सहभागिता रहँदै आएकामा उक्त भेलामा भने माओवादी स्थायी समिति सदस्यद्वय नेत्रविक्रम चन्द र देव गुरुङ तथा पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देलको सहभागिता रह्यो । अन्य पक्ष सशंकित भए । असार ४ मा भट्टराई पक्षधरले दाहाल पक्षधरको अनुरोधलाई बेवास्ता गर्दै गोप्य भेला गरे जसमा भट्टराई आफैं उपस्थित थिए । उपाध्यक्षजस्तो पदमा बसेका व्यक्तिले आफू निकटकालाई मात्रै भेटेको भन्दै दाहाल पक्ष सशंकित भयो । भट्टराईका साथ दाहाल पक्षधर केन्द्रीय सदस्य प्रकाश पोखरेल र कास्की इन्चार्ज झलकपाणि तिवारी थिए तर भट्टराई उनीहरूलाई छलेर भेलामा पुगेका थिए ।
कास्की माओवादीभित्र झांगिएको गुटबन्दीले गर्दा नेतृत्व तहका नेता तथा कार्यकर्ता आपसमै हाई हेल्लो बोहेक बोल्न छाडेका छन । कास्कीमा वैद्य र भट्टराईर् पक्षलाई संस्थापन पक्षले पेल्ने गरेको आरोप लाग्दै आएको छ । 'यतिसम्मकी फरक विचार राख्नेका कार्यकर्तालाई घर जाने बाटो खर्च र विरामी छोराछोरीको लागि उपचार खर्चसमेत दिइँदैन,' भट्टराईर् पक्षीय एक कार्यकर्ताले भने, 'विचार, व्यवहार र सांगठानिक रूपमा निषेध गर्न थालिएको छ ।' 'विचारको लडाइँ जुँगाको लडाइँमा झरेकाले तल्लोस्तरमा त्यसको असर परेको' एक नेताले बताए ।
पालुङटार बैठकमा तीनवटा फरक दस्तावेज पेस भएका र फरक मतलाई पनि पार्टीको कार्यकर्ता तहसम्म पुर्याउने निर्णयपछि पार्टीभित्र कलह झांगिएको बताउँछन् माओवादी सेक्रेटरी बखानसिंह
गुरुङ । उनले भने, 'वैचारिक बहसबाट अहिले कतिपय साथीहरू प्राविधिक पक्षलाई जोड दिएर एक-अर्कामा आरोपप्रत्यारोप गर्न थालेकाले पार्टीभित्रको कलह सतहमा आउन थालेको हो ।'
माओवादी नेतृत्वले तमुवान् राज्य समितिमा क्षेत्रीय इन्चार्ज भंग गरेर संस्थापन पक्षकालाई इलाका सेक्रेटरी मात्रै बनाइएपछि अन्य पक्ष बढी आक्रोशित देखिएका हुन् । कास्कीमा दाहाल र वैद्य पक्षबीच बढी टकराव देखिन्छ । माओवादीमा आन्तरिक कलहको रूप नगर विकास समितिको अध्यक्ष नियुक्तिमा देखा पर्यो । जिल्ला पार्टी कार्यालयले दाहाल पक्षधर सहइन्चार्ज रामजी बराललाई सिफारिस गरी केन्द्रमा पठाएको थियो । तर भट्टराईर् पक्षधर जितबहादुर गुरुङले केहीको हस्ताक्षरसहित सीधै भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीकोमा पुगेर नियुक्ति लिएर आएका थिए । पार्टीले एउटा सिफारिस गर्ने मन्त्रीले अर्को नियुक्ति गरेर घेरा तोडेको आरोप संस्थापन पक्षको छ । त्यसैको प्रतिशोधस्वरूप गुरुङको पदस्थापन कार्यक्रममा संस्थापन पक्ष अर्थात् संस्थागत रूपमा पार्टीका नेता कार्यकर्ता सहभागी भएनन् ।
बागलुङमा पनि गुटबन्दी
बागलुङमा तीनवटै समूहका छुट्टाछुट्टै भेला र गोप्य बैठक भइरहेका छन् । वैद्य पक्षको नेतृत्व गर्ने जिल्ला इन्चार्ज पारसमणिको नेतृत्वमा बुर्तिवाङमा गोप्य भेला गरे लगत्तै दाहाल पक्षले सदरमुकामसँगैको बागलुङ कालिका मन्दिर परिसरमा बनभोज भन्दै भेला गर्यो । भट्टराई पक्षले भने छिमेकी पर्वतको डिमुवामा पुगेर भेला गरे । 'केन्द्रीय रूपमा देखिएका विभिन्न क्रान्तिकारी विचारलाइ व्यवहारमा उतार्न र छलफल गर्न त्यस्ता भेला भएका हुन्,' पारसमणिले भने, 'गुट उपगुट र फुटको लागि गरिएका भेला भने होइनन् ।'
वैद्य पक्षकै मानिने जिल्ला सेक्रेटरी टेकबहादुर केसी 'आजाद' भने दाहाल पक्षीय भेलालाई जनयुद्ध विरोधीहरूको भेलाको संज्ञा पनि दिने गरेका छन् । 'पार्टीमा एकता नचाहने, क्रान्तिकारी धारलाई परिवर्तन गरेर परम्परावादी बन्न खोज्नेहरूले सानातिना भेला गरेका हुन्,' केसीले भने, 'सानातिना भेलाहरूले सिंगो पार्टी एकतामा कुनै असर पर्दैन ।'
दाहाल पक्षको नेतृत्व गरेका सहइन्चार्ज सापकोटा भने अध्यक्षले लिएको विचार प्रमुख भएको बताउँछन् । 'तत्काल विद्रोहमा जाने स्थिति नभएकोले शान्ति र संविधानलाई टुंगोमा पुर्याउनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नको लागि कार्यकर्ताहरूको भेला राखेका हौं,' सापकोटाले भने, 'हामी सबै प्रचण्ड पक्षीय हौं, कोही अन्य गुट उपगुट हुनेविरुद्धको भेला गरिएको हो ।'
बागलुङ जिल्ला कमिटीमा वैद्य समूह बलियो देखिन्छ ।
मध्यपश्चिममा दाहाल
पक्षधर हाबी
सशस्त्र द्वन्द्वको उद्गम थलो मानिएको मध्यपश्चिममा माओवादीभित्रको गुटबन्दी सतहमै छरपस्ट नभए पनि भुसको आगोझैं मौलाएको छ । राज्य कमिटीहरू इन्चार्जहरू उपाध्यक्ष मोहन वैद्य पक्षधर रहे पनि सिंगो कमिटी र अधिकांश जिल्ला कमिटीहरूमा दाहाल पक्षधर हाबी छ । जाजरकोट, जुम्ला र कालिकोटमा मात्र वैद्य पक्षधर हाबी छ । भट्टराईर् पक्ष्ाधरको भने कुनै जिल्लामा पनि बाहुल्य छैन ।
माओवादीमा नवप्रवेशीको ठूलो हिस्सा पनि दाहाल पक्षमा लागेको छ । माओवादी लडाकुका पाँचौं, छैटौं र सातौं डिभिजनका प्रमुखहरूसमेत दाहाल पक्षका भएकाले पार्टी संगठनमा पनि त्यसको मनोवैज्ञानिक असर रहेको दाबी गर्ने एक नेता भन्छन्, 'समग्र क्षेत्रभर थारूवान इन्चार्ज हरिभक्त कँडेल, भेरी-कणर्ाली इन्चार्ज खड्गबहादुर विश्वकर्मा र सेती-महाकाली इन्चार्ज धर्मेन्द्र बास्तोला वैद्य पक्षधर हुन् भने मगरात इन्चार्ज हेमन्तप्रकाश वली अध्यक्ष दाहाल पक्षधर हुन् ।'
आपसी अन्तरबिरोधले माओवादीको तल्लो कमिटी र कार्यकर्ताहरू अल्मलिएको अवस्था छ । नेताहरूबीचको आपसी सम्बन्ध चिसिएको र द्वन्द्व चर्केकाले स-साना विषयमा विवाद बढेका मात्र छैनन्, नेताहरूबीच बोलचालसमेत टुटेको छ ।
बाँकेमा बैठक बस्न सकेन
गुटबन्दीका कारण माओवादीको पालुङ्गटार विस्तारित बैठकपछि जिल्ला कमिटीको बैठक बस्न सकेको छैन । तर अन्यत्रझै सतहमै देखिने गरी गुटबन्दी नभएको नेताहरूको दाबी छ ।केन्द्रीय गुटबन्दीका कारण गतिविधि गाउँसम्म पुर्याउन र कार्यकर्ता भेला तथा प्रशिक्षणहरू रोकिएको जिल्ला कमिटीका एक सदस्यले बताए । थारूवान राज्य कमिटीका इन्चार्ज तथा पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले जिल्लामा केही हदसम्म गुटबन्दी रहेको स्विकारे । 'धेरै होइन, अलिअलि छ तर अन्यत्रजस्तो छैन,' उनले भने ।
उनले बाँकेको जिल्ला कमिटीमा प्रचण्ड पक्षले आफन्ो गुटको एजेन्डा जबर्जस्त पेस गर्ने गरेकाले पनि विवाद हुने गरेको हो । जिल्ला कमिटीमा प्रचण्ड पक्षको बाहुल्य छ । 'राजनीतिक संकट बढिरहेको बेला गुटबन्दी हुनु स्वाभविक हो,' वैद्य पक्षका प्रभावकारी नेता कँडेलले भने, 'एकआपसमा भेटघाटहरू कम भएका छन् । तर, बोलचालै बन्द भएको भन्न मिल्दैन ।'
थारूवान 'राज्य'का सचिव एवं केन्द्रीय सदस्य महेश्वर गहतराज 'अथक'ले पनि पार्टीभित्रको गुटबन्दीपछि जिल्ला नेताहरू गाउँ जान छोडेको स्वीकार गरे । 'पार्टीको अधिकारिक निर्णय गाउँगाउँका कार्यकर्ताहरूसम्म पुर्याउनसमेत कठिन भएको छ,' दाहाल पक्षीय अथकले भने ।
दाङमा एक-अर्कालाई चेतावनी
माओवादीभित्रको गुटबन्दीको प्रत्यक्ष असर नगर विकास समितिका अध्यक्ष नियुक्तिमा देखिएको छ । जिल्लामा दाहाल पक्षीय नेतृत्व रहे पनि नगर विकासका अध्यक्षहरू भट्टराई पक्षका नियुक्त भएपछि विवाद भयो ।
जिल्ला इन्चार्ज निर्मल आचार्यले नगर विकासका अध्यक्षहरूलाई कारबाही गर्ने धम्की दिएपछि नगर विकास अध्यक्षहरूले त्यसको प्रतिकार नै गरेका छन् । घोराही नगर विकासका अध्यक्ष बुद्धिराम पुनले केही समयअघि कार्यालयमै पत्रकार सम्मेलन गरी इन्चार्ज आचार्यलाई कारबाही गर्न चेतावनी दिएका थिए । उनले आचार्यलाई गुटबन्दीको धमिरा भएको आरोप लगाएका छन् ।
'हिजो युद्धमा अरूले बन्दुक बोक्दा झोला बोकेर हिँड्ने तर अहिले हामीलाई कारबाहीको धम्की दिने ?' उनले भने, 'आचार्य र म दुवै राज्य समिति सदस्य हौं । उनको कारबाही गर्ने के हैसियत ?' आचार्यले भने जिल्ला पार्टीले सिफारिस गरेभन्दा फरक व्यक्ति नियुक्त भएको भन्दै आपत्ति जनाएका छन् ।
यसैगरी तुलसीपुर नगरविकासका अध्यक्ष चूर्णबहादुर सुनारले दाहाल पक्षको धम्कीका कारण सुरुमा काम गर्न कठिन भएको बताए । 'जिल्ला पार्टीले ईश्वरी पाण्डेलाई अध्यक्षमा सिफारिस गरी पठाएको रहेछ । पछि म लगायत ६ जना केन्द्रबाटै नियुक्त भएपछि जिल्ला नेतृत्वले असहयोग गरे,' उनले भने, 'अहिले बिस्तारै विवाद कम हुँदै गएको छ ।'
जिल्ला नेतृत्वमा दाहाल पक्षस्य बहुमत छ । राज्य समिति र एरिया तहमा भने वैद्य र भट्टराई पक्षीय नेताहरू केही छन् । जिल्लाकै पत्रकार हिरामणी दुःखी वैद्यले प्रकाशन गर्न थालेको 'दायित्वबोध' साप्ताहिकका सम्पादक छन् ।
हुम्लामा बाटो र संघमा गुटबन्दी
हुम्लामा भने माओवादी गतिविधि अरू नै विवादले निष्त्रिmय छन् । केन्द्रीय पहुँच भएका नेताहरू जिल्ला बस्न छाडेका छन् । गुटगत विभाजनको प्रभावभन्दा संघीयता र मोटरबाटोबारे फरक मतले सभासदहरूदेखि नेताहरूसम्म आपसी सम्बन्ध चिसो छ । सभासदहरूमध्ये छिमी लामा प्रचण्ड पक्षधर हुने भने कर्णजित बुढाथोकी वैद्य पक्षका हुन् । त्यस्तै, जिल्लाका सहइन्चार्ज वीरजग शाही भट्टराईर् पक्षधर हुन् । जिल्लाको विकासमा माओवादी सभासदहरू विभाजित छन् । लामा हिल्सा-सिमकोट मोटरबाटोले प्राथामिकता पाउनुपर्छ भन्ने पक्षमा छन् भने बुढाथोकी लिमी-लाप्चा- सिमकोट मोटरबाटो निर्माण गर्न लागीपरेका छन् ।
हिल्सा सिमकोट मोटरबाटो निर्माणका चासो देखाएकाले काग्रेससँग मिलेको सभासद लामा पक्षधरको आरोप छ ।
माओवादीले प्रस्ताव गरेको जडान राज्यबारे पनि माओवादीभित्र विवाद छ । सहइन्चार्ज वीरजंग शाही यो प्रस्तावलाई असम्भव बताउँछन् । कर्णाली राज्यलाई जातीय आधारमा विभाजन गरिए स्थानीयस्तरमा द्वन्द्व बढ्ने उनको तर्क छ । त्यसका लागि पनि लामा लागिपरेका छन् भने बुढाथोकी विरोधमा छन् ।
रूकुममा दाहाल पक्षधरबीचै बोलचाल छैनरुकुम जिल्ला कमिटीमा दाहाल पक्षधरको वर्चश्व छ । पोलिटब्युरो सदस्यहरू जनार्दन शर्मा, लोकेन्द्र बिष्ट र हेमन्तप्रकाश ओली दाहाल पक्षका हुन् भने केन्द्रीय सदस्य पूर्ण घर्ती वैद्य पक्षका । एक सय ५५ सदस्यीय जिल्ला कमिटीमा वैद्य पक्षधर पाँच जना मात्र नेताहरू रहेको दाहाल पक्षीय दाबी छ ।
घर्तीको गाउँ चुनबाङ र वरपरका गाविसका कमिटीहरूमा वैद्य पक्षको बर्चस्व छ । उनले आफ्ना पक्षका नेताहरूको छुट्टै बैठक बोलाएर गोप्य छलफल गरेपछि एकअर्का गुटबीच मनमुटाव बढेको माओवादी स्रोतको दाबी छ । दाहाल गुटकै नेताहरूबीच पनि व्यावहारिक रूपमा सम्बन्ध घनिष्ट छैन । माओवादी पूर्वसचिव जितमान पुनसँग जिल्ला इन्चार्ज सरुण वाँठा र सचिव रामसुर बुढा लगायतका नेताहरूको बोलचाल समेत नभएको दाबी गर्ने स्रोत भन्छ, 'बोलचालसमेत नहुँदा पार्टी काममा बाधा पुगेको छ ।'
सर्लाहीमा तानातान
सर्लाहीमा वैद्य पक्षले जेठ ३० गते बयलवासमा मिथिला र भोजपुरा राज्य समित सदस्यस्तरीय भेला डाकेर आफ्नो लाइनबारे स्पष्ट पार्दै कार्यकर्तालाई अडिएर रहन आग्रह गर्यो । भेलामा सचिव सीपी गजुरेल र स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले प्रशिक्षण दिएका थिए ।
दाहाल पक्षीय जिल्ला कमिटी इन्चार्ज अच्युतम काफ्लेलाई भेलाबारे जानकारीसमेत थिएन् । अनौपचारिक जानकारी मात्र पाएको उनले बताए । त्यसको केही दिनमै दाहाल पक्षले धनुषाको लालगढमा आफ्ना पक्षका मिथिला राज्य समिति सदस्यलाई मात्र डाकेर अर्को भेला गर्यो । दुवै भेलामा आफ्नो लाइन राम्रो भन्दै अर्काे पक्षको नकारात्मक टिप्पणी नेताले गरेका
थिए । गुटबन्दी मात्र नभई भेलामा धेरै सहभागिता देखाएर शक्ति प्रदर्शन पनि गरियो । अर्काे पक्षका सदस्यलाई आफ्नो पक्षमा आउन फकाउने र धम्क्याउने दुवै काम भएको कार्यकर्ताको भनाइ छ । वैद्य पक्षीय भेलामा सहभागी भएका ५ नम्बर क्षेत्रका सेक्रेटरी हनुमान यादव केही दिनपछि भएको दाहाल पक्षीय भेलामा पनि सहभागी भए । 'साथीहरूले जाउँ भनेकाले दुइटै भेलामा गइयो', उनले भने, 'म चाहिँ यो गुटबन्दीमा छैन ।'
जिल्लामा जम्मा ६८ जना राज्य समिति सदस्यमध्ये भट्टराईर् पक्षमा सबैभन्दा कम ८, वैद्य पक्षमा १८ र बाँकी प्रचण्ड पक्षमा रहेको उनीहरूको भनाई छ । दाहाल पक्षका मधेसी राष्ट्रिय मुक्ति मोचर्ाका जिल्ला अध्यक्ष राजकुमार यादवले आफ्नो पक्षमा ५४ जना राज्य समिति सदस्य रहेको दाबी गरेका छन् ।
वैद्य पक्षीय सहइन्चार्ज रामचन्द्र अध्यक्ष्ाबाट बढी पेलान भएपछि फरक विचार समूह गुटमा परिणत भएको बताउँछन् । 'एउटा पक्ष नांगो रूपमा प्रस्तुत भएपछि स्वभावतः प्रतिक्रिया हुन्छ,' उनले गुटबन्दी हुनुको कारण खोल्दै भने, 'पद्धतिमार्फत अघि बढेको भए राम्रो हुन्थ्यो तर, अध्यक्षबाटै गुटबन्दीको थालनी भएको हो ।'
पूर्वमा बोलचालै बन्द हुने स्थिति
विराटनगरबाट लीलावल्लभ घिमिरे लेख्छन्, लाइन संघर्ष चर्किएपछि जिल्ला तहका नेताहरूबीच बोलचाल नै बन्द हुने अवस्था भएको छ । एउटा पक्षले गरेको भेलामा अर्को समूहका नेताहरू जान छाडेका छन् । 'पटकपटक छलफलका लागि बोलाउँदासमेत दुवै समूहका साथीहरू आउँदैनन्,' माओवादी मोरङ इन्चार्ज -दाहाल पक्षीय) शिवकुमार मण्डलले भने । 'कस्ता कस्ता चरित्र बोकेका व्यक्तिहरू क्षणिक फाइदाका लागि कुदेका छन् भन्ने हामीलाई थाहा छ, पार्टीभित्र केही कुरा चित्त नबुझे छलफलमा आउने आँट गर्नुपर्छ ।' तर, अन्य दुई पक्ष पछिल्लो समय दाहाल पक्षले दादागिरी देखाउँदै एकलौटी बिना छलफल अघि बढेको आरोप लगाउँछन् । 'सत्ताको भरमा हामीलाई पेलेर अघि बढ्न खोजेको अवस्था हो तर, यो उनीहरूकै लागि घातक हुन्छ,' सचिव कुशल लिम्बूले भने माओवादी मोरङ जिल्ला कार्यालयले गत बुधबारदेखि इलाका स्तरीय भेलाको आयोजना गरेपछि यहाँ विवाद झनै चर्किएको हो । भेलालाई भट्टराईर् र वैद्य पक्षले बहिष्कार गरेका छन् । दुवै समूहले दाहाल पक्षले जबरजस्ती कार्यक्रम राखेका कारण बहिष्कार गर्नुपरेको जनाएका छन् ।
बुधबार कटहरीमा ४, ५ र ६ नम्बर क्षेत्रका जिल्ला कमिटी सदस्य र एरिया कमिटी सदस्यको भेला
भयो । बिहीबार मोरङका १, २ र ९ नम्बर क्षेत्रको भेला भएको थियो भने शुक्रबार ३, ७ र ८ नम्बरको भेला भएको छ । शनिबार नगर क्षेत्रको भेला बोलाएको सहइन्चार्ज गणेश उप्रेती सुशीलले बताए । यी सबै भेलामा दाहाल पक्षका मात्र नेताहरू सहभागी छन् । जिल्ला पार्टी कार्यालयले निर्णय गरेर भेला बोलाएका कारण सबै पक्षका कार्यकर्ता आएको उप्रेतीले बताए । 'हामीले यो भेला कुनै गुटको कुरा सुनाउन भन्दापनि आउँदो बजेट, विकास निर्माण र कार्यकर्तामा देखिएको कुण्ठा र निराशालाई चिर्न बोलाएका हौं,' उनले भने ।
अन्य समूह यो मान्न तयार छैनन् । दाहाल पक्षले भेला बोलाएर गुटको बिजारोपण गाउँसम्म पुर्याएको पार्टीका सहसचिव खेम प्रधान बताउँछन् । हामीले केन्द्रीय समितिको बैठकपछि तीनै समूहका जिल्ला नेता एक साथ जाउँ भनेका थियौं तर, यहाँ बल मिच्याइँ भयो' उनले भने ।
ताप्लेजुङमा दाहाल, वैद्य एक आनन्द गौतम लेख्छन्, तुलनात्मक रूपमा दाहाल र वैद्य गुट आपसमा नजिक छन् । भट्टराईर् पक्षधरलाई उनीहरूले आँखा तरेर हेर्ने गरेका छन् । भट्टराईर्का विचारको बढी वकालत गर्ने सभासद सञ्चपाल मादेनले गुटबन्दी सुरु गरेको भन्दै उनीहरू असन्तुष्ट छन् । स्रोतका अनुसार मादेनले संविधानसभाको निर्वाचनअघिदेखि नै भट्टराईर् पक्षमा वकालत गरेका थिए । सुरुमा उनको गुटबन्दी प्रभावकारी नभए पनि सभासद भएपछि जागिर दिलाउँछु र विकासका कार्यक्रम ल्याउँछु भन्दै कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो गुटमा तानेको आरोप एक जिल्ला स्तरीय कार्यकर्ताले लगाए । तर, दाहाल पक्षधरका कार्यकर्ता भने प्रलोभनमा जाने खासै नभएको दाबी गर्छन् ।
मादेनले गोरखाको पालुङटार भेलामा जानुअघि सदरमुकाम फुङलिङमा एक महिना बसेर सार्वजनिक रूपमै गुटबन्दी गरेका थिए । उनले आफूलाई पार्टीको भन्दा पनि गुटको नेता बनाउन खोजेको भन्दै अन्य पक्षले कारबाहीको प्रयास गरेको आरोप भट्टराई पक्षधरको छ । तर, जिल्ला सचिव पराग विचारकै आधारमा कसैलाइ कारबाही नगरिने बताउँछन् । उनले भने 'कसैले पार्टी हित विपरीत काम गरे पार्टी नीति अनुसार कारबाही हुन्छ । विचारकै आधारमा कारबाही गर्ने सोचसम्म पनि छैन ।'
Source:KantipurNews