नयां दिल्ली, जेष्ठ २२ - नेपाल पर्यटन वर्ष प्रवद्र्धनका लागि भारतमा गरिएका कार्यक्रम विवादमा तानिएका छन् । नेपाल पर्यटन बोर्डले कार्यक्रम गर्दा आफूहरुसंग कुनै किसिमको समन्वय नगरेको भन्दै यहांस्थित नेपाली दूतावासका अधिकारीहरुले गहिरो असन्तुष्टि जनाएका छन् ।
'भारतका अन्य भागमा भएका
कार्यक्रमबारे हामीलाई जानकारी
समेत छैन । दिल्लीमा गरिएको कार्यक्रमको निम्तोमात्रै पाइयो', दूतावासका मिनिस्टर इकोनोमिक केदारबहादुर अधिकारीले ईकान्तिपुरलाई भने ।
काठ्माण्डौंबाट फ्याक्स् गरी कार्यक्रम हुने मिति र स्थानबारे दूतावासलाई जानकारी दिएपनि नयां दिल्लीमा प्रवद्र्धनमा जुटेका स्थानीय सहयोगीबारे उल्लेख समेत गरिएको छैन ।
'को मार्फत कार्यक्रम गर्न लागिएको हो, कसलाई सम्पर्क गर्नुपर्ने हो भन्ने समेतमा हामी अन्योलमा पर्यौं । लोकल पार्टीले पनि हामीलाई सम्पर्क गरेनन्,' अधिकारीले भने ।
प्रर्वद्धनात्मक कार्यक्रम अन्तर्गत पर्यटन बोर्डले स्थानीय सहयोगीमार्फत नयां दिल्ली र आसपासका क्षेत्रमा रहेका मलहरुमा स्टल राखी प्रचारात्मक कार्यक्रम गरेको छ । नयां दिल्ली नजिक रहेको उत्तर प्रदेशको गाजियावादस्थित सिप्रा मलमा शनिवार शुरु भएको कार्यक्रम आइतवार सकिदैंछ । यो संगै भारतमा नेपाल पर्यटन वर्षको प्रवद्र्धनात्मक कार्यक्रम सकिनेछ ।
प्रवद्र्धनात्मक कार्यक्रमको अन्तिम चरणमा सहभागी हुन आएका पर्यटन बोर्डका प्रतिनिधि रोहिणी खनालले दूतावाससंग समन्वय नगरिएको कारणबारे सोध्दा अनविज्ञता प्रकट गरे ।
'दिल्लीमा भएको कार्यक्रमबारे उहांहरु (दूतावासका अधिकारीहरु) लाई जानकारी दिएकै हो । जहांसम्म समन्वय नभएको भन्ने कुरा छ, मलाई त्यसबारे थाहा छैन,' खनालले भने ।
यद्यपि गत मे २१ र २२ मा नयां दिल्लीको रजौरी गार्डेनस्थित सिटी स्कावयर मलमा गरिएको कार्यक्रममा राजदूत रुक्मशम्शेर राणा पुगेका थिए । त्यसपछि साकेतको डीएलएफ प्लेस मलमा मे २८ र २९ मा स्टल राखिएको थियो । दिल्लीको निकै व्यस्त मलहरुमा गरिएका ती कार्यक्रममा अवलोकनकर्ताहरुको ठूलो भीड थियो । उनीहरुले नेपाल भ्रमणका प्याकेज, पर्यटकीय, धार्मिक एवम् ऐतिहासिक स्थलहरुबारे चाखपूर्वक जिज्ञासा राखेका थिए ।
लक्की ड्र, नेपाल सित्तैमा घुम्ने अवसर तथा अन्य पुरस्कारको घोषणा लगायतले पनि पर्यटन बोर्डको स्टलप्रति थप सर्वसाधारण आकर्षित गरेको थियो । ती गतिविधिमा गृहणी तथा कामकाजी महिलापुरुषदेखि लिएर केटाकेटीसम्मले भाग लिएका थिए । यसअघि अहमदावाद, जयपुर, कानपुर, लखनऊ, पुणे, मुम्बई, र कोलकातामा पनि विभिन्न मलमा स्टल राखी पर्यटन वर्षबारे प्रचारप्रसार गरिएको थियो ।
यसैबीच भारतीय टभल एजेन्टहरुले नेपाल पर्यटन वर्षका लागि भारतमा पर्याप्त प्रचार नभएको भन्दै गुनासो गरेका छन् । पर्यटन वर्षको प्रवद्र्धन कार्यक्रममा आफ्ना सहभागिता जनाउंदै आएको ओम शान्ति ओम टुर्स एण्ड टभल्स्का प्रबन्ध निर्देशक विजय मिश्रले ईकान्तिपुरसंग भने , 'मलहरुमा स्टल राखेरमात्रै नेपालको बहुआयमिक पर्यटन व्यवसायको पर्याप्त प्रचार हुंदैन । नेपालमा सबैभन्दा धेरै पर्यटक जाने मुलुक भारतमा विशेष र भव्य कार्यक्रम नै गर्नुपर्छ ।'
दिल्लीमा भएको पर्यटन बर्ष २०११ को झलक । पर्यटन बर्षको अवसरमा भारतसहित विभिन्न मुलुकमा नेपालको प्रचार प्रसार भइरहेको छ ।
ईकान्तिपुर