कोरियाली भाषा परीक्षा केन्द्र बुटवलमा राख्न माग
काठमाडौंमा मात्रै हुँदै आएको कोरियाली भाषा परीक्षा (ईपीएस टोपिक) को केन्द्र बुटवलमा पनि राख्ने व्यवस्था मिलाइदिन माग गर्दै नेपाल–कोरिया विकास परिषद् रुपन्देहीले श्रम तथा यातायात व्यवस्था मन्त्रालयसहितका सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको छ । परिषद्ले रुपन्देही प्रशासन, जिविस, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, बुटवल नगरपालिका, होटल तथा रेस्टुराँ व्यवसायी संघ, उच्च माध्यमिक विद्यालय परिषद् तथा प्याब्सनको ऐक्यबद्धतासहित ज्ञापनपत्र बुझाएको हो ।
परिषद्का अध्यक्ष गम्भीर गुरुङ, केन्द्रीय सदस्य सूर्य न्यौपानेसहित गएको प्रतिनिधि मण्डलले बुधबार श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राई र कोरिया सरकारको मानव संशाधन तथा विकास मन्त्रालयका नेपाल प्रमुख किम ब्योङ चेओनलाई उनीहरुकै कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाएको परिषद्ले जनाएको छ । यस्तै, परिषद्ले वैदेशिक रोजगार विभाग ईपीएस शाखा प्रमुख महेश आचार्य, रक्षामन्त्री एवं रुपन्देहीका सभासद् विष्णु पौडेल र सभासद् चन्द्र थापालाई भेटी परीक्षा केन्द्र बुटवलमा राख्नका लागि सिफारिस गरिदिन आग्रह गरेको छ ।
श्रममन्त्री राईले माग सकारात्मक र जायज भएकाले पहल गर्ने आश्वासन दिएको परिषद् अध्यक्ष गुरुङले बताए । कोरिया सरकार मानव संशाधन तथा विकास मन्त्रालयका नेपाल प्रमुख किम ब्योङले नेपाल सरकारले आवश्यक पहल गरे परीक्षा केन्द्र बुटवलमा स्थापना हुन सक्ने बताएको परिषद्ले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया जानका लागि भाषा परीक्षा आगामी साउन ६ र ७ गते हुने तय भइसकेको छ । भाषा परीक्षा उत्तीर्ण गर्नेमध्ये बढी अंक ल्याउने ७ हजार १ सयजना यो वर्ष रोजगारीका लागि कोरिया जान पाउँछन् ।
बुटवलमा पहिलोपटक फारम वितरण भएकामा पश्चिम, मध्यपश्चिम र सुदूर पश्चिमाञ्चलका गरी १३ हजार १ सय ७९ जनाले फारम भरेका छन् । बुटवलमा २० हजारजनाले परीक्षा दिनसक्ने भौतिक पूर्वाधार भएको उच्च माध्यमिक विद्यालय परिषद् तथा प्याब्सनले जनाएका छन् ।
बुटवलमै परीक्षा केन्द्र सञ्चालन भए फारम भरेका टाढाका विद्यार्थीलाई काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भई राहत हुने र परीक्षा सञ्चालनमा पनि सहजता आउने परिषद्को ठम्याइ छ । परीक्षा केन्द्र रुपन्देहीमा ल्याउन रुपन्देहीमा क्रियाशील १८ राजनीतिक दलले समेत माग गरेका गरेका छन् ।
Source:Karobar Daily