|

रुपन्देहीमा अभियानमुखी कृषि उत्पादन कार्यक्रम

तीन वर्षअघि रुपन्देहीमा पहिलो पटक सुरु भएको अभियानमुखी प्याज, माछा र मकै, भटमास उत्पादन कार्यक्रमप्रति स्थानीय कृषक आकर्षित बन्दै गएका छन् । केही वर्षअघि सम्म परम्परागत कृषि प्रणालीमा आधारित रही घरखर्चका लागि मात्र खेती गर्नेहरुले अहिले व्यावसायिक रूपमै यो अभियानलाई निरन्तरता दिइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सूर्यप्रसाद पौडेलले बताए ।

जिल्लामा अभियानमुखी प्याज उत्पादन कार्यक्रम लागू भएपछि प्याजखेती गर्ने सबै कृषक सफल भएको कार्यालयले जनाएको छ । सरकारले अभियानमुखी प्याज कार्यक्रम नेपालमा पहिलो पटक २०६४ सालमा रुपन्देहीमा सुरु गरेको थियो । अभियानअन्तर्गत सरकारले कृषकलाई प्याजको बीउमा ५० प्रतिशत छुट, कीटनाशक औषधिमा राहत र डिजेल तथा मोटरपम्प खरिदमा १२ हजार ५ सय अनुदान दिने गरेको छ ।

कृषकहरुले गहुँबाट भन्दा प्याजखेतीबाट बढी आम्दानी गर्न सफल भएको कार्यालयका वागबानी तथा प्याजबालीतर्फका प्राविधिक सहायक रामनारायण चौधरीले बताए ।

रुपन्देहीका रायपुर, आमा, धकधई, सूर्यपुरा, खुदाबगर, पिपरहवालगायतका दुई दर्जन गाविसमा आव ०६६÷६७ मा २ सय ७५ हेक्टरमा प्याजखेती लगाइएकोमा २२.८६ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको थियो ।

त्यस्तै माछा उत्पादनका लागि मुलुकमा धनुषापछि दोस्रो स्थानमा रहेको रुपन्देहीमा व्यावसायिक माछा उत्पादनमा कृषक संलग्नता बढाउन भन्दै तीन वर्षदेखि अभियानमुखी माछा उत्पादन कार्यक्रम लागू गरिँदै आएको छ । हालसम्म जिल्लाका टिकुली गढ, पश्चिम अमवा, दयानगर र हाटी फर्साटिकर गरी चार गाविसमा कार्यक्रम लागू भइसकेको छ । ती गाविसको ४९.२८ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन भइरहेको कार्यालयका मत्स्य विकास अधिकृत अब्दुल मोकिम खानले जनाए । यो वर्ष अभियानमुखी माछा उत्पादन कार्यक्रम थप १० हेक्टरमा विस्तार भएको कार्यालयले जनाएको छ ।

अभियानअन्तर्गतसरकारले कृषकलाई प्रतिहेक्टर १ लाख अनुदान दिने गरेको छ । रुपन्देहीमा अभियानमुखीसहित ७ सय हेक्टरमा माछामालन भइरहेकोमा उत्पादन २ हजार १ सय मेट्रिक टन हुने गरेको छ । नेपालमै प्रसिद्ध मानिने छपियामा १ सय ५० हेक्टर जमिनमा माछापालन गरिएको छ, जसबाट ५ सय टनभन्दा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी, जिल्लाका २४ गाविसमा अभियानमुखी मकै, भटमास उत्पादन कार्यक्रम सञ्चालनमा छ । गाविसका ५ सय हेक्टर क्षेत्रफलमा मकै तथा भटमास उत्पादन कार्यक्रम तीन वर्षदेखि सञ्चालनमा छ, जसमा ३० कृषक समूह संलग्न छन् ।

सरकारले यो कार्यक्रममा मकै बीउ, कर्न सेलर, स्प्रेयर, त्रिपाललगायतमा प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।

कार्यालयले अनुदान, प्रोत्साहन, विभिन्न तालिम तथा प्राविधिक सहयोग गर्ने भएकाले हरेक वर्ष अभियानमुखी कार्यक्रममा सहभागी हुने कृषकको संख्या बढ्दै गएको प्रमुख पौडेलले बताए ।


Source:Karobar Daily

Posted by Butwalonline on 7:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीमा अभियानमुखी कृषि उत्पादन कार्यक्रम"

Leave a reply