|

सास मात्रै लिएर आए चन्द्रनाथ

काठमाडौ, चैत्र २२ -
उनी हेरिरहेका छन् । बोल्न खोज्दैछन् । आफ्नो कुरा राख्न हतारिएका छन् । तीन वर्षपछि भेट भएकी श्रीमती बिमलाले पाँच दिनदेखि आफ्नो श्रीमान् चन्द्रनाथ आर्चायको यही रूप देखिरहेकी छिन् ।
चन्द्रनाथ बोल्न भने सक्तैनन् । नाकबाट तरल पदार्थको रूपमा खाना र घाँटीबाट अक्सिजन दिइरहेको छ । दाइने खुट्टा काटिएको छ । दुवै हात बाँगिएको छ । चोट नलागेको शरीरको कुनै भाग छैन । उनलाई यही अवस्थामा गत शुक्रबार साउदी अरेवियाबाट ल्याइएको हो ।
एक वर्षअघिदेखि साउदीको स्थानीय अस्पतालमा उपचारार्थ राखिएको उनलाई साउदीकै दुई डाक्टरले काठमाडौंमा परिवारको जिम्मा लगाई फर्के । 'भाइको सासमात्रै रहेछ,' गहभरि आँसु पार्दै दिदी मञ्जुले भनिन् ।
उनको अवस्थाबारे श्रीमती बिमला स्पष्ट रूपमा बोल्न सक्तिनन् । आम्दानीको थप बाटो नभएको बिमलाको काँधमा अचेत श्रीमान्को थप उपचार, रेखदेख र ४ वर्षे छोरीलगायत पारिवारिक जिम्मेवारी थपिएको छ ।
चन्द्रमानलाई साउदीबाट सीधै वीर अस्पतालमा लगिएको थियो । तर वीरले उसको अवस्था देखेर भर्ना लिन मानेन । केही घन्टा वीरमा राखेपछि काठमाडौं मोडल अस्पतालको ३२३ वार्डमा 'पारिवारिक जिम्मेवारी' मा राखिएको छ । ३५ वषर्ीय चन्द्रनाथ १२ वर्षदेखि साउदीमा चालक थिए । सिजुवा-४ मोरङका उनी एक वर्षअघि सडक दुर्घटनामा परेका हुन् । साहूलाई पुुर्‍याएर फर्किंदै गर्दा ठूलो मालबाहक गाडी पल्टिएर उनले हाँकेको कारलाई थिच्न पुग्दा उनको शरीर काम नलाग्ने अवस्थामा पुगेको हो । 'साउदीमा उपचार भइरहेको थियो । बिमा कम्पनीले बिमाको अवधि सकिएको भन्दै नेपाल ल्याइदियो,' भाइ केदारले भने, 'स्थिति यस्तो छ । उपचार गरिराख्नुपर्ने समय अनिश्चित छ ।'
उपचारमा संलग्न चिकित्सकका अनुसार चन्द्रमानको पूरै शरीर फ्याक्चर छ ।
उसलाई निरन्तर अक्सिजन र तरल पर्दाथबाट मात्रै खान खुवाउनुपर्छ । थप उपचार कसरी गर्ने भन्नेमा परिवार अन्योलमा छ । 'सास रहुन्जेलसम्म बचाउन सबै उपचार पद्धति जारी राख्नुपर्छ भन्ने हाम्रो चाहना हो,' सानिमा मनमाया लुइँटेलले भनिन्, 'परिवारलाई धान्ने छोराको हालत यस्तो छ । पूरै उपचार खर्च परिवारले मात्रै धान्न सकिने अवस्था छैन ।'
परिवारले चन्द्रमानको उपचारमा राज्यलाई सहयोग गर्न अपिल गरेका छन् । 'हाम्रो सहभागिताले मात्रै उनको उपचार सम्भव छैन,' केदारले भने, 'उपचार पद्धति अनिश्चित छ । सरकारलाई सहयोग गर्न हाम्रो अपिल छ ।'

Source:Kantipur News

Posted by Butwalonline on 9:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सास मात्रै लिएर आए चन्द्रनाथ"

Leave a reply