|

बन्धक घरेलु कामदारको उद्धार

पोखरा, चैत्र २२ -
बाहिरबाट साँचो लगाई थुनिएकी एक घरेलु कामदारलाई अधिकारकर्मीले मंगलबार उद्धार गरेका छन् । लामाचौरस्थित मोहन ज्ञवालीको घरमा च्यानल गेटमै साँचो लगाएर बाहिर निस्कन रोक लगाएको अवस्थाबाट उनलाई प्रहरीको सहयोगमा निकालिएको हो ।

घरधनी मोहनकी श्रीमती शोभा काठमाडौं गएको बेला पनि साँचो लगाएरै राखिएको र यसअघि पनि दैनिकजसो मानसिक यातना खेप्दै आएकी १५ वषर्ीया विष्णु टण्डनलाई परिवारको आग्रहमा मुक्त गरिएको थियो ।

अभिभावकलाई रकम दिएर अर्घाखाँची चिदिका २ की १५ वषर्ीया विष्णुलाई पढाउने सर्तमा घरायसी कामका लागि ल्याए पनि उनलाई सधैँ गालीगलौजबाट मानसिक यातना दिएपछि परिवारजनले ती बालिकालाई घर लैजान बालमजदुर सरोकार केन्द्र -सिविन) लाई आग्रह गरेका थिए । अधिकारकर्मी र प्रहरी उक्त घरमा पुग्दा च्यानल गेटमै साँचो लगाएको भए पनि कामदार विष्णु भने घरभित्रै एक्लै बसेको भेटिएकी थिइन् । शोभाले घर रेखदेख गरिदिन छिमेकी बुद्धिमाया चौधरीलाई साँचो दिएकी रहिछन् । भीड देखेपछि आएकी चौधरीले साँचो खोलेर विष्णुलाई बाहिर निकालिएको सिविन पोखरा प्रमुख प्रेम सोङमेनले बताए ।

सोही दिन बिहान पीडितकी दिदी शारदा उक्त घरमा बहिनी भेट्न पुग्दा थुनिएको र च्यानल गेट बाहिरबाट मात्रै कुरा गर्न पाएपछि उनले आएर सिविनमा उद्धारका लागि निवेदन दिएको सोङमेनले बताए । 'म जाँदा पनि बहिनीलाई छुटाउन नसकेपछि सिविनलाई गुहारेँ,' शारदाले भनिन् ।

विष्णुलाई काममा लगाउन रकम दिएर ल्याउने मोहन भने अमेरिकामा छन् । उनकी श्रीमती शोभा पनि अमेरिका जाने प्रक्रियाका लागि मंगलबार काठमाडौं गएको बेला प्रहरी र स्थानीयबासीको रोहबरमा विष्णुलाई दिदी शारदाको जिम्मा लगाएको छ ।

ज्ञवालीले मासिक ५ सय रुपैयाँ पारिश्रमिक दिने र पढाइ दिने शर्तमा अभिभावकलाई १० हजार नगद दिएर माघ २६ गते ८ कक्षा पढ्दै गर्दा ल्याएका थिए । 'पढाउँछांै, पोखरामै परीक्षा दिने वातावरण मिलाउँछांै भनेर ल्याए तर सबै अवसरबाट चुकेँ,' विष्णुले भनिन्, 'आन्टीले बारम्बार गालीमात्रै गर्नुहुन्थ्यो, कुकुर बाहिर गए पनि मैले गाली खानुपथ्र्यो ।'

घरधनी शोभाले आफू बारम्बार बिरामी भइरहने भएकाले उसलाई घरमा ल्याएको बताइन् । 'छोरीसरह उच्च शिक्षा पढाउने भन्दै ल्याएका थियौं,' काठमाडौंमा रहेकी उनले कान्तिपुरसित टेलिफोनमा भनिन्, 'अन्तिम अवस्थामा विद्यालयले भर्ना नलिँदा पढाइलाई निरन्तरता दिन सकिएन ।' उनले आफूहरूले विष्णुलाई कुनै मानसिक यातना नदिएको दाबी गरिन् ।

Source:Kantipur News

Posted by Butwalonline on 10:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्धक घरेलु कामदारको उद्धार"

Leave a reply