सडक दुर्घटनाका घाइतेको उपचारमा ६० करोड खर्च
बढ्दो सडक दुर्घटनाका कारण घाइते भएकाहरुको उपचारमा वार्षिक ६० करोड रुपैयाँभन्दा धेरै खर्च हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले दिएको जानकारीअनुसार नेपालमा वार्षिक ९ सयजनाको सडक दुर्घटनामा ज्यान जाने गरेको छ भने १२ हजार सडक दुर्घटनाका घाइतेहरुको उपचारमा ६० करोड रुपैयाँभन्दा धेरै खर्च हुने गरेको छ ।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार नेपालमा हाल १० लाख सवारी धनी छन् । त्यसमध्ये करिब ७ लाख दुई पांग्रे सवारी साधन (मोटरसाइकल) धनी छन् । सडक दुर्घटनामा घाइते हुनेमध्ये ४० प्रतिशत मोटरसाइकल दुर्घटनाबाट हुने गरेको छ । परिषद्ले उपलब्ध गराएको विवरण अनुसार ६० प्रतिशत अन्य सवारी साधनको दुर्घटना हुने गरेको छ । अनुसन्धान परिषद्ले ट्राफिक प्रहरीलाई उद्धृत गरेर दिएको जानकारीअनुसार सडक दुर्घटनामा बर्सेनि वृद्धि हुँदै गएको छ ।
हाडजोर्नी विशेषज्ञहरुका अनुसार दुर्घटनाबाट घाइते भएर अस्पताल आउने बिरामीको उपचारमा न्यूनतम ४० देखि ५० हजार रुपैयाँ खर्च हुने गरेको छ । अंगभंग भएका बिरामीको उपचारमा न्यूनतम १ देखि ५० लाखसम्म खर्च हुने गरेको छ ।
कात्तिकमा सडक दुर्घटनामा परेका एक बिरामीले नेपालको निजी अस्पतालमा उपचार गराउँदा ३० लाख रुपैयाँ र दिल्लीस्थित मेदान्ता मेडिसिटीमा उपचार गराउँदा थप २० लाख रुपैयाँ खर्च भएको जानकारी दिए । दुर्घटना भएका घाइतेको उपचारमा नेपालका अस्पतालका चिकित्सकले बढी खर्च गराउने गरेको अनुभव ती बिरामीले व्यक्त गरे ।
सामान्य घाइते (हात, खुट्टा भाँचिने) अवस्थामा मात्रै पनि १ लाख रुपैयाँबराबर उपचार खर्च लाग्ने गरेको छ । जटिल प्रकृतिका घाइते (टाउकोको चोट, मेरुदण्ड, करङ र हिप) लगायतका अंग भाँचिदा सोभन्दा बढी रकम खर्च हुने गरेको हाडजोर्नी विशेषज्ञ बताउँछन् । हाडजोर्नी विशेषज्ञ डा. प्रवीण नेपालले घाइतेको उपचार खर्चको सीमा नै नहुने बताए ।
सवारी साधनको बढ्दो चापसँगै घाइतेको चाप अस्पतालहरुमा बढ्दै गएको अनुभव उनले सुनाए । नर्भिक अस्पतालको उपचारमा संलग्न डा. नेपालका अनुसार उपत्यकामा दुई पांग्रे सवारी साधन बढी दुर्घटना हुने गरेका छन् तर उपत्यकाबाहिर चार पांग्रे सवारी साधन दुर्घटना बढी हुने गरेको छ ।
दुर्घटनाबाट घाइते भएर सामान्य उपचारका लागि अस्पताल आउने बिरामी न्यूनतम चार दिन अस्पतालको उपचारपछि घर फर्किने गरेको भए पनि जटिल अवस्थाका घाइते बिरामी महिनौंसम्म अस्पतालको उपचारमा रहने गरेको अनुभव डा. नेपालले सुनाए ।
दुर्घटनामा घाइते भएका अस्पताल आउने बिरामीको संख्यालाई आधार मान्दा राजधानीमा शुक्रबार साँझ बढी दुर्घटना हुने गरेका छन् । राजधानीका ठूला निजी तथा सरकारी अस्पतालका अनुसार मासिक ३० देखि ४० घाइते बिरामी इमरजेन्सी वार्डमा भर्ना हुन आउने गरेका छन् । तीमध्ये केही दुर्घटनास्थलमै मृत्यु भएको अवस्थामा कानुनी प्रक्रिया पु¥याएर मृत घोषित गर्न पनि अस्पताल ल्याइने गरेको एक चिकित्सकले बताए ।
परिषद्ले उपलब्ध गराएको तथ्यांकअनुसार दुर्घटनाबाट मृत्यु हुनेहरुको उमेरलाई अध्ययन गर्दा १६ देखि २२ वर्ष उमेरका युवा बढी छन् । यो उमेर समूहका मृतक बढी दुई पांग्रे सवारी साधनको दुर्घटनाका कारण हुने गरेको तथ्यांकले देखाएको छ । राजधानीमा शुक्रबारे साँझ मनाउने क्रमसँगै दुर्घटना बढ्दै गएको अनुभव ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीका अनुसार शुक्रबार रातिको पारिवारिक वा साथीभाइको जमघटमा मदिरा सेवनसहितको खानपानपश्चात आ–आफ्नो गन्तव्यमा फर्कने क्रममा बेपर्वाहसँग सवारी साधन चलाउदा दुर्घटना बढी हुने गरेको छ । दुर्घटनाका अन्य कारणहरुमा ओभर लोड, सडकको जीर्ण अवस्था, सिकारु चालक, मदिरा सेवनलगायत छन् ।
संयुक्त राष्ट्रसंघले विश्वमा बढ्दो सवारी साधनका कारण बढिरहेको दुर्घटना कम गर्न १० वर्षीय न्यूनीकरण योजना ‘डिकेड अफ एक्सन फर रोड सेफ्टी २०११–२०२०’ सञ्चालन गरेको छ । नेपालमा बढ्दो दुर्घटना कम गर्न कार्यक्रम सफल हुने विश्वास सम्बन्धित निकायले गरेका छन् । यसलाई सफल तुल्याएर अनावश्यक खर्च बचावट गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री शक्ति बस्नतेले बताए ।
कार्यक्रमको कार्यान्वयनमा चुनौती रहे पनि जनचेतना फैलाउन सके दुर्घटना न्यूनीकरण हुने विश्वास मन्त्री बस्नेतले व्यक्त गरे । हाडजोर्नी विशेषज्ञ डा. अशोक बज्राचार्यले घाइतेको उपचार खर्च वार्षिक ६० करोड रुपैयाँभन्दा धेरै हुन सक्ने बताए । “६० करोड न्यूनतम खर्चमात्रै हो,” उनले भने । जनचेतना फैलाएर दुर्घटना न्यूनीकरण गरे अनावश्यक खर्च बचत हुने विश्वास डा. बज्राचार्यको छ ।
१० लाख सवारी साधन भएको देशमा १६ हजार किलोमिटर सडक विस्तार भएको छ भने ५ हजार किलोमिटरमात्र कालोपत्रे छ । ५ हजार किमी ग्राभेल र बाँकी सडक कच्ची रहेको परिषद्ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यातायात व्यवस्था विभागका अनुसार गत वर्षमात्र २ लाखभन्दा धेरै सावारी साधन थपिएका छन्
Source:Karobar Daily