कांग्रेसद्वारा सुनसरी र ताप्लेजुङ बन्द
२२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसले आहृवान गरेको बन्दका कारण पूर्वका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
इलाका प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक श्यामल सुब्वालाई कारवाही माग गर्दै कांग्रेस सुनसरीले आजदेखि अनिश्चितकालीन जिल्ला बन्द आहृवान गरेको हो ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, पसल, शिक्षणसंस्था र कलकारखाना ठप्प छन् । कांग्रेस इटहरी नगर अध्यक्ष हेम कर्ण पौडेलले सुव्वाले कार्यक्षेत्र बाहिर गएर आफ्ना कार्यकर्तालाई यातना दिएकाले त्यसको विरोधमा बन्द आहृवान गरको बताउनु भयो ।
उता संखुवासभामा पनि नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आफ्नो कार्यकर्तालाई तत्काल रिहाइको माग गर्दै अनिश्चितकालिन जिल्ला बन्द गराएका छन् । बन्दका कारण विहानैदेखि सवारी साधन पूर्णरुपमा ठप्प छन् भने बजार पसल तथा शैक्षिक संस्था पनि खुलेका छैनन् ।
गत बैशाख १४ गते नगरपालीका तोडफोड गरेको विषयमा तरुण दलका कार्यकर्ता प्रनिस राइलाई प्रहरीले गिरफतार गरेको थियो ।
Source:Onlinekhabar