|

लुम्बिनी र चितवनमा एक बर्षमा ४३ को ज्यान गयो

विनोद परियार
बुटवल जेठ १४ ।
गएको एकवर्षमा लुम्बिनी अञ्चल र चितवन जिल्लामा विभिन्न घटनामा परी ४३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका अनुसार प्रहरी कारवाही, दोहोरो मुठभेड, कारागार तथा हिरासत, कुटपिट, बम विष्फोट, गोली प्रहार जस्ता घटनाबाट ४३ जनाको मृत्यु भएको हो । एकवर्षको अवधिमा आयोगमा ४१ वटा मानवअधिकार उल्लंघन सम्बन्धी उजुरी परेको आयोगका मानवअधिकार संरक्षण अधिकृत चन्द्रकान्त चापागाईंले जानकारी दिनुभयो ।  आयोगले ११ औं वर्ष पूरा गरेको अवसरमा उपक्षेत्रीय कार्यालय बुटवलले आज आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले मानवअधिकारको पूर्ण बहालीका लागि संक्रमणकालीन अवस्था, दण्डहीनताको अन्त्य र आयोगका सिफारिस कार्यान्वयन हुनुपर्ने बताएका छन् । संविधानको निर्माण हुन विलम्ब हुनु, बिस्तृत शान्ति सम्झौता बमोजिम कब्जा सम्पत्ति फिर्ता नहुनु, बेपत्ता आयोग, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन नहुनु, राजनीतिक अस्थिरता जस्ता कारणले मानवअधिकार संरक्षणको ग्यारेन्टी हुन नसकेको उनीहरुको ठहर छ । मानवअधिकार उल्लंघनमा संलग्न व्यक्तिहरुलाई छुृट दिने, राजनीतिक संरक्षण दिने र कारवाही नै नचलाउने जस्ता कामबाट दण्डहीनताको संस्कार विकास भएको भन्दै मानवअधिकारको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले लोकतन्त्र, मानवअधिकार र कानुनी राजको मान्यताविपरितका यस्ता कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् । कार्यक्रममा आयोग उपक्षेत्रीय कार्यालय बुटवलका प्रमुख दिपकजंग ध्वज कार्कीले आयोगका सिफारिसहरुको कार्यान्वयन नहुंदा मानवअधिकार उल्लंघनका घटना रोक्न नसकिएको बताउनुभयो । अधिवक्ता दिनेश त्रिपाठीले मानवअधिकार आयोगको क्षमतामाथि गम्भीर चुनौती आएको उल्लेख गर्दै आयोगको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने खांचो औंल्याउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अपराधीलाई कसैले पनि संरक्षण नदिने हो भने मानवअधिकार संरक्षणमा सहयोग पुग्ने धारणा राख्नुभयो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले पीडितका भन्दा पीडकका आवाज बढी सुनिने गरेकाले मानवअधिकार संरक्षणमा चुनौती आएको बताउनुभयो । त्यस अवसरमा स्थानीय विकास अधिकारी ताराबहादुर कार्की, बुटवल नगरपालिकाका कार्यकारी अधिकृत यज्ञप्रसाद भट्टराई,  बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष शंकर श्रेष्ठ, सशस्त्र प्रहरीका डीएसपी के.बि. बस्नेत, अधिवक्ता शिव गौडेल, शान्ति समाजका गोविन्द खनाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली, नेपाली कांग्रेसका खेलराज पाण्डे, एकिकृत माओवादीका यज्ञ पोखरेल लगायतले मानवअधिकार संरक्षणमा सबै सरोकारवाला निकायको उत्तिकै दायित्व भएको बताएका थिए । 

"बुटवल अनलाइन"

Posted by Butwalonline on 12:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी र चितवनमा एक बर्षमा ४३ को ज्यान गयो"

Leave a reply