|

आपराधिक घटनामा साना हतियार प्रयोग बढ्दो

विराटनगर, चैत्र १ - पूर्वी तराईका जिल्लामा बढ्दो आपराधिक क्रियाकलापमा युवाको संलग्नता बढेको छ । यसै साता सुनसरीको इटहरीमा एक युवक इटालीमा बनेको पेस्तोलसहित पक्राउ परे । पक्राउ पर्ने इटहरी ४ का नेत्रबहादुर पौडेलको साथबाट पेस्तोल र गोली प्रहरीले बरामद गर्‍यो ।
यसैगरी इलाका प्रहरी कार्यालय पकलीले पनि भासी गाविसको झुम्का बजारबाट एक थान पेस्तोल, दुई राउन्ड गोली, एक थान खुकुरी र एक थान छुरीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भासी-५ का ३२ वर्षीय प्रकाश श्रेष्ठ, २८ वर्षीय चेजन्द्र सिंह, २८ वर्षकै भीम राई र श्रीपुर ७ का ३३ वर्षीय हैदर अली रहेको प्रहरीले बतायो । 
अवैध पेस्तोलसहित पक्राउ परेकाले प्रयोग गर्दै आएको को५प ७९२३, को२प ४२६६, र को४प २९६८ नम्बरको मोटरसाइकलसमेत बरामद भएको इलाका प्रहरी कार्यालय पकलीले जनायो । भासी बजारमा शंकास्पद अवस्थामा भेटिएका युवाले साधा पोसाकमा रहेका प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि हतियारसहित उनीहरू पक्राउ परेका हुन् । खुला सीमाका कारण यस क्षेत्रमा साना हतियारको त्रास दिन प्रतिदिन बढ्दो छ ।
आपराधिक समूहदेखि सामान्य व्यक्तिमात्र होइन विभिन्न जातिका नाममा खुलेका भूमिगत संगठनले समेत हतियारको प्रयोग बढाएका छन् । खुला सीमाका कारण यस क्षेत्रमा हतियारको व्यापार मौलाएको हो ।
भूमिगत संगठनमा काम गरेर छोडेका वा भागेकाले यस्ता हतियार ८ देखि १२ हजार रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेका छन् । सीमा जोडिएको भारतीय बजारमा सस्तो र सहज रूपमा यस्ता हतियार पाइने गर्छन् । त्यहाँबाट विराटनगरमा सहजै हतियार आउँछन् ।
कसैले हतियार किन्न चाह्यो भने तत्काल उसको घरमा नै ल्याइदिने गरेको जानकार बताउँछन् । यहाँ भित्रने गरेका हतियारमा कटुवा पेस्तोल, सिस्सर, इटालियन पेस्तोल र यूएसए पेस्तोल बढी छन् । कटुवा पेस्तोलको मूल्य २ हजार रुपैयाँबाट सुरु हुन्छ । एक राउन्डको यो पेस्तोल सस्तो भएकाले साना आपराधिक मानसिकता भएका व्यक्तिले समेत किन्ने गरेका छन् ।
इटालियन र यूएसए लेखिएका पेस्तोल भेटिए पनि यी हतियार पनि भारतमा नै बनेको एक प्रहरी अधिकृत बताउँछन् । ९ राउन्डसम्म गोली जाने यी हतियारको बजार भाउ ४५ हजार रुपैयाँसम्म छ ।
यस्ता हतियार चोरी गर्ने, अपहरण गर्ने, चन्दा, फिरौती रकम असुली र हत्या गर्ने जस्ता काममा प्रयोग हुने गरेका छन् । पार्टीका कार्यकर्ताको हातमा पनि यदाकदा हतियार भेटिने गरेका छन् । साथै व्यक्तिगत सुरक्षाका लागि पनि अवैध हतियार राख्नेको संख्या यहाँ उलेख्य छ । मोरङ जिल्लामा मात्र २२ किलोमिटर क्षेत्र खुला सिमानामा पर्छ ।
अधिकांश हतियार युवाको हातमा हुने गरेको प्रहरीको भनाइ छ । 'धेरैजसो युवाका हातमा यस्ता हतियार भेटिन्छन्,' एक प्रहरीले
भने । यसका कारण राजनीतिक दलको संरक्षणसमेत हुन सक्ने ती प्रहरीको तर्क छ । तर पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डीआईजी विनोद सिंह हतियारको व्यापार बढेको नभई सुरक्षा कारबाही बलियो भएको बताउँछन् ।
'तराई क्षेत्रलाई मात्र ध्यान दिंदै आएको क्षेत्रीय प्रहरी कार्यालयको 'कभर टिम' अहिले पहाडी जिल्लामा समेत सक्रिय भएको छ, त्यसैक्रममा पक्राउ पर्नेको संख्या बढी हँुदा व्यापार बढेजस्तो मात्र देखिएको हो,' उनले भने ।

चार पक्राउ
सर्लाही (कास)- नलकटुवा बन्दुक र गोलीसहित छटौल गाविसबाट आइतबार राति चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । छटौल-५ स्थित विवाह कार्यक्रममा सहभागीलाई कुटपिट गरी हवाई फायर गर्दै भाग्ने क्रममा रामसेवक, रामज्ञान र रामएकवाल सहनी तथा गणेश पण्डित पक्राउ परेका हुन् ।
राति ११ बजे विवाहमा आएका रामलक्ष्मण रायमाथि कुटपिट भएको सूचना पाएर मनुष्मारा बेस क्याम्पबाट पुगेको सशस्त्र प्रहरीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक पद्मसिंह ऐरका अनुसार रामसेवकको साथबाट नलकटुवा बन्दुक र दुई राउन्ड गोली बरामद गरिएको छ । उनीसँगै कुटपिटमा संलग्न भई भाग्दै गरेका
अन्यलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट चक्कु र प्रयोग भएको एसएलआरको एक थान खोखा पनि फेला परेको सशस्त्र प्रहरीले जनायो ।
 
Source:Kantipur News





Posted by Butwalonline on 8:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आपराधिक घटनामा साना हतियार प्रयोग बढ्दो"

Leave a reply