भारत विश्व च्याम्पियन
२० चैत, काठमाडौँ । कप्तान महेन्द्रसिंह धोनीको प्रेरणादायी र गौतम गम्भीरको संयमपूर्ण पालीको मद्दतले भारत शनिबार श्रीलङ्कालाई छ विकेटले हराएर विश्वकप क्रिकेट प्रतियोगिताको दसौँ संस्करण जित्न सफल भएको छ । घरेलु मैदानमा फाइनल खेल्ने टिमले विश्वकप जितेको यो पहिलोपटक हो ।
भारतले विश्वकप जितेको यो दोस्रोपटक हो । सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलोपटक विश्वकप क्रिकेट प्रतियोगिता ट्रफी चुमेको थियो । सन् २००३ मा भारत फाइनलमा अस्ट्रेलियासँग हारेर उपविजेतामा चित्त बुझाउन बाध्य बनेको थियो । यसैगरी सन् १९९६ मा उपाधि जितेको श्रीलङ्का लगातार दोस्रो पटक उपाधि भिडन्तमा निराश बनेको छ ।
यस नतिजासँगै ४३ दिन चलेको प्रतियोगिता ४९ खेलपछि सम्पन्न भएको छ । यस विश्वकपमा भारतले सर्वाधिक २९, श्रीलङ्काले १२ र बङ्गलादेशले आठ खेलको आयोजना गरेका थिए । गत फागुन ७ गतेदेखि विश्वकप सुरु भएको हो ।
मुम्बइमा शनिबार माहेला जयवर्धनले ८८ बलमा १०३ रनको अविजित पाली खेलेपछि श्रीलङ्काले निर्धारित ५० ओभरमा छ विकेटको क्षतिमा २७४ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । गम्भीरले ९७ र धोनीले अविजित ९१ रन बनाएपछि भारतले दस बल बाँकी छँदै चार विकेटको क्षतिमा २७७ रन बनाई जित हात पार्यो । धोनीले छक्का प्रहार गरेर विजयी रन बनाए । विश्वकपका दसौँ फाइनलमा रन पछ्याएर जित हासिल भएको यो मात्र तेस्रो पटक हो ।
आज सङ्कटको समयमा क्रिजमा प्रवेश गरेका धोनीले ७९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । वीरेन्द्र सहवाग शून्यमा आउट भएपछि पहिलो ओभरमा ब्याटिङ गर्न आएका गम्भीरले १२२ बलको सामना गरी नौ चौका प्रहार गरेर श्रीलङ्कालाई निराश बनाए । यद्यपि गम्भीर धैर्य गुमाउँदा तीन रनले ऐतिहासिक शतक बनाउनबाट चुके ।
सचिन तेन्दुलकरले भने आज अन्तर्राष्ट्रिय क्रिकेटमा शतकको शतक बनाउन सकेनन् । घरेलु मैदानमा विश्वकपको फाइनल खेलिरहेका तेन्दुलकरबाट शतकको अपेक्षा गरिएको थियो । तर, तेन्दुलकर १८ रनमा छँदा लासिथ मालिङ्गाको बलिङमा विकेट पछाडि क्याच आउट भए ।
यद्यपि भारतका युवा ब्याट्सम्यानहरूले छ पटक विश्वकप खेलिसकेका महान् क्रिकेट हस्ती तेन्दुलकरको विश्वकप जित्ने सपना पूरा गरे । तेन्दुलकरले विश्वसनीय तरिकाले सुरुमै दुई चौका प्रहार गरे पनि उनको पाली १८ बलमा नै सकिएको थियो । फाइनलमा महìवपूर्ण पाली खेल्ने गम्भीर र कप्तान धोनीले विश्वकप जित तेन्दुलरलाई उपहार भएको प्रतिक्रिया दिएका छन् । तेन्दुलकरले पनि आˆनो खेलाडी जीवनको सबभन्दा ठूलो सपना पूरा भएको बताए ।
यसअघि जयवर्धने विश्वकपको उपाधि भिडन्तमा शतक बनाउने मात्र छैटौँ ब्याट्सम्यान पनि बनेका थिए । यसैगरी जयवर्धनेको यो १४औँ अन्तर्राष्ट्रिय एकदिवसीय शतक हो ।
श्रीलङ्काका कप्तान कुमार सङ्गकाराले शनिबार महìवपूर्ण टस जिती ब्याटिङ गर्ने निर्णय लिए । तर, श्रीलङ्काको सुरुआत सहज भने भएन । पुछारका ब्याट्सम्यान नुवान कुलशेखराले ३० बलमा ३२ र थिसरा परेराले नौ बलमा अविजित २२ रनको पाली खेलेपछि मात्र श्रीलङ्काले अनपेक्षित रूपमा ठूलो स्कोर बनाउन सकेको थियो । जयवर्धनेलाई उचित साथ दिने यी दुई ब्याट्सम्यानको ब्याटिङले श्रीलङ्काले अन्तिम पाँच ओभरमा ६३ रन बटुलेको थियो ।
मुम्बईको वानखाडे रङ्गशालामा आआˆनो टिमलाई हौसला दिन ३३ हजार दर्शकका साथै भारतकी राष्ट्रपति प्रतिभा पाटिल र श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्षेको पनि उपस्थिति थियो ।
भारतका बायाँहाते तेज बलर जाहिर खानले पहिलो स्पेलमा तीन मेडनसहित र्फममा रहेका प्रारम्भिक ब्याट्सम्यान उपुल थारङ्गाको विकेट लिएपछि श्रीलङ्का सुरुदेखि दबाबमा परेको थियो । जाहिर फाइनलमा दुई विकेट लिई यस विश्वकपमा सबभन्दा बढी विकेट लिने बलरको सूचीमा पाकिस्तानका कप्तान साहिद आपि|mदीसँगै शीर्ष स्थानमा रहन सफल भएका छन् । यी दुई बलरले २१/२१ विकेट लिए ।
श्रीलङ्काका प्रारम्भिक ब्याट्सम्यान तिलकरत्ने डिल्सनले ३३ रन बनाए । उनी कुल ५०० रन बनाई यस विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् । आˆनो अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेलिरहेका मुरलीधरनको बिदाइ सुखद हुन सकेन । मुरलीधरन एक विकेट पनि लिन सकेनन् ।
विश्वकप क्रिकेट प्रतियोगिताको एघारौँ संस्करण सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रूपमा हुनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्वकप जित्ने टिमका प्रत्येक खेलाडीलाई एक करोड रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ ।
फाइनलको म्यान अफ दि म्याच धोनी र म्यान अफ दि सिरिज युवराज सिंह घोषित भएको एएफपीले जनाएको छ ।
Source:Onlinekhabar

