|

इन्टरनेट प्राइस, प्रविधि र स्पिड

काठमाडौ, वैशाख २ - संसार अटाउने 'प्यान्डोरा बक्स' जस्तै भएको छ, इन्टरनेट । त्यसैले अहिलेको पुस्ता इन्टरनेटमा सहज पहुँच खोजिरहेको छ । प्रविधिको विकास यति दु्रत गतिमा भएको छ, त्यो पुस्ता विश्वको कुनाकन्दरा जहाँसुकै होस्, इन्टरनेटको पहुँचमा पुगिरहेको छ । विश्व बजारमा भर्खरै सार्वजनिक भएको फिल्म तुरुन्तै आफ्नो कम्प्युटरमा उपस्थित भयो । कति हतारिन्छन्, होला त्यसलाई डाउनलोड गर्न । इन्टरनेटको स्पिडले साथ दिएन भने ? यस्तोमा रिसको पारोले कति डिग्री चढ्न सक्नेछ । तर तपाईंको रिसको पारो नतात्ने उपाय पनि छ । अब इन्टरनेट प्याकेज कुन लिने भन्ने रोजाइ आफ्नैनै भएको छ । हाजिर छन्, प्रविधि, स्पिड र पैसामा 'वार' गर्दै इन्टरनेट सेवा उपलब्ध गराउने (आईएसपी) कम्पनीहरू ।

उनीहरूले सस्तोमा, उच्च गतिको इन्टरनेट, नयाँ प्रविधिमा उपलब्ध गराउने छन् । नयाँ पुस्ताले दशकअघि इन्टरनेट डायल अप प्रविधिले चलाइन्थ्यो भनेर पत्याउँदैन । टेलिफोनलाई कम्प्युटरमा जोडेर आईएसपीको नम्बर डायल गरेपछि इन्टरनेटसँग जोडिइन्थ्यो । बिल भने टेलिफोन र इन्टरनेट दुवैको तिर्नुपर्ने ।

त्यस्तो इन्टरनेटको स्पिड कति होला ? जम्मा ५६ केवीपीएस । त्यस्तो झन्झटबाट मुक्ति पाएको केही वर्ष भइसक्यो, भलै अझै केही कम्पनीले यस्तो सेवालाई कायमै राखेका किन नहोऊन् । अहिले प्रविधिले इन्टरनेटको गतिलाई धारामा पानी झरेजस्तै निरन्तर झरिरहने गरी फास्ट बनाइदिएको छ ।

इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले १० एमबीपीएस स्पिडमा केबल जुम इन्टरनेट उपलब्ध गराउँछ । कम्पनीले बजारमा रहेका कुनै पनि इन्टरनेट सर्भिसको तुलनामा १० गुणा (सबैभन्दा) फास्ट भएको कम्पनीले दाबी गरेको छ । वल्र्ड लिंकले १० गुणा दाबी गरे पनि त्यसको आधाभन्दा केही कम (४ एमबीपीएस) गतिमा क्लासिक टेकले अप्टिकल फाइबरमार्फत सर्भिस उपलब्ध गराउने जनाएको छ ।

नेपाल टेलिकम, ब्रोडलिंक, भायोनेटलगायतले १ एमबीपीएस स्पिडमा इन्टरनेट उपलब्ध गराउँछन् । कहाँको ५६ केबीपीएसको डायल अप इन्टरनेट, कहाँको १० एमबीपीएसको केबल जुम । यस हिसाबले १ सय ७८ गुणा फास्ट इन्टरनेट उपभोक्ताले प्रयोग गर्न पाउन थालेका छन् । त्यति मात्र कहाँ हो र ?

आँखा झिमिक्क गर्दा झन्डै ३ जीबीको फिल्म कम्प्युटरमा डाउनलोड हुने स्पिडको इन्टरनेट सेवा ३ महिनाभित्रै नेपालमा भित्रँदै छ । मेगा ब्रोडकास्ट प्रालिले मल्टिपल भिडियो एन्ड डाटा सिस्टम (एमभीडीडीएस) मार्फत टेलिभिजन प्रसारणसहित १ जीबी स्पिडको इन्टरनेट दिने घोषणा गरेको छ ।

कम्पनीले आगामी तीन महिनाभित्र परीक्षण प्रसारण सुरु गर्ने र त्यसको एक महिनापछि व्यावसायिक रूपमा इन्टरनेट वितरण सुरु गर्ने दाबी गरेको छ । इन्टरनेटको प्रविधिमा आएको परिवर्तनलाई एकैछिन हेरौं । कुरा फेरि डायलअपमै गएर ठोकिन्छ । कम्प्युटरमा जोडिएको मोडेममा टेलिफोनको तार जोडेर डायल गरिने प्रविधिलाई अनेक थरीका प्रविधिले विस्थापित गरेका छन् ।

पछिल्लोपटक चौथो पुस्ताको वाइम्याक्स प्रविधिसम्म नेपालमा भित्रिएको छ । नेपाल टेलिकमले भर्खरै यो प्रविधि सर्वसाधारणलाई वितरण सुरु गरेको छ । ब्रोडब्यान्डमा वाईफाई, एडीएसएल, डीएसएल, केबुल/अप्टिकल फाइबर इन्टरनेट भित्रिएका छन् । सुविसुलगायतका कम्पनीले केबुलमै टिभी च्यानलसहित इन्टरनेट वितरण गर्दै आएका छन् । वल्र्डलिंक, क्लासिक टेक, भायोनेटलगायतले फाइबर अप्टिकलमार्फत इन्टरनेट घरघर पुर्‍याएका छन् ।

वेभसर्फरले अप्टिकल फाइबर र बिनातारको डिजिटल सब्स्क्राइबर लाइन (डीएसएल) मार्फत इन्टरनेट सेवा उपलब्ध गराउँछ । ब्रोडलिंक, वल्र्डलिंक, क्लासिक टेक, हिमाल टेक, सुविसुलगायतले वाईफाई इन्टरनेटसमेत उपलब्ध गराउँछन् । बजारमा मोबाइलको रिचार्ज कार्ड किनेजस्तै इन्टरनेटका कार्ड किनेर सीधै वाईफाई डिभाइसमा इन्टरनेट चलाउन सकिन्छ ।

नेपाल टेलिकम, एनसेल, यूटीएललगायतका टेलिकम कम्पनीले डाटा कार्डमार्फत इन्टरनेट सुविधा दिँदै आएका छन् । तिनका मोबाइलमा इन्टरनेट चलाउन मिल्ने जीपीआरएस प्रविधि सबैभन्दा धेरै ग्राहकको रोजाइ बनेको छ । टेलिकमको एडीएसएल प्रविधिले फोनसँगै इन्टरनेट चलाउन सकिन्छ ।

टेलिकमले कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) प्रविधिमा आधारित तीव्र गतिको इभोल्युसन डाटा अप्टिमाइज्ड (ईभीडीओ) थ्रीजी सेवा आगामी असारमा देशभर पुर्‍याउँदै छ । मेगा ब्रोडकास्टले पनि सम्भवतः असारदेखि नै तीव्र गतिको एमभीडीडीएस प्रविधिमार्फत उच्च गति(१ जीबीपीएस) को इन्टरनेट वितरण गर्दैछ ।

इन्टरनेट प्रदान गर्ने प्रविधिमा आएको परिवर्तनसँगै आइएसपी कम्पनीले आफूलाई अपग्रेड गरेका छन् । धेरै कम्पनीले डायल अप सर्भिस बन्द गरेका छन् । अपग्रेड गर्न नसक्ने झन्डै डेढ दर्जन आईएसपी यस अवधिमा आफ्नो सेवा बन्द गर्न बाध्य भएका छन् । विकसित मुलुकमा डाटा, भ्वाइस र भिडियो सेवा एकै पटक लिन सकिने इन्टरनेट सेवा सुरु भइसकेको छ ।

नेपाली आईएसपीसमेत यस्तो सेवाको अनुमति सरकारसँग कुरिरहेका छन् । प्रविधि र गतिमा आएको तीव्र परिवर्तनसँगै इन्टरनेटको शुल्कसमेत निकै सस्तिएको छ । आईएसपी कम्पनीहरूका अनुसार इन्टरनेट मूल्य सुरुमा डायलअप आउँदाका तुलनामा ८० गुणा सस्तिएको छ ।

विश्व बजारमा ब्यान्डविथ शुल्क घटेपछि नेपालमा इन्टरनेट सेवा सस्तो भएको हो । आईएसपी कम्पनीले भोलुम र स्पिडअनुसार सुल्क कटौती गरेका छन् । वल्र्डलिंकले १ हजार १ सय रुपैयाँमा २० जीबी डाटा १० एमबीपीएसको स्पिडमा उपलब्ध गराउँछ । प्याकेज १ महिना नपुग्दै सकिए स्पिड १ सय २८ केबीपीएसमा परिणत हुन्छ ।

त्यो स्पिडको इन्टरनेट अनलिमिटेड चलाउन सक्नु हुन्छ । थोरै चलाउनेहरूलाई अझ सस्तोमा छ । ल्यापटपले वल्र्डलिंकको वाईफाई सिग्नल देखाउँछ भने बजारमा ३ सय ९९ रुपैयाँको रिचार्ज कार्ड किनेर ५ जीबी भोलुमको प्याकेज चलाउन सक्नु हुन्छ । युट्युबमा भिडियो हेर्नु हुन्न भने डाटा चलाउन महिनाभर छेलोखेलो हुन्छ ।

यस्तै ब्रोडलिंकले ७६८/२५६ केबीपीएस स्पिडमा ३ जीबी भोल्युम डाटा ४ सय ९९ रुपैयाँमा उपलब्ध गराउँछ । युट्युबसमेत हेर्ने गरी लिने भए फाइबर अप्टिकल इन्टरनेट उपयुक्त हुन्छ । भायोनेटले १ एमबीपीएस स्पिडमा १ हजार ९ सय ५० रुपैयाँमा १ महिना अनलिमिटेड इन्टरनेट उपलब्ध गराउँछ ।

क्लासिक टेकको अनलिमिटेड प्याकेज वायरलेस/अप्टिकल फाइबर इन्टरनेट ५ सय १२ केबीपीएसमा अनलिमिटेड मासिक २ हजार रुपैयाँ पर्छ । ब्रोडलिंकको २ सय ५६ केबीपीएस स्पिडको अनलिमिटिड प्याकेजको ८ सय ९९ रुपैयाँ पर्छ । यो १.४ सेयरिङ बेसिसमा हो । डेडिकेटेड लिँदा भने यही प्याकेजको २ हजार ६ सय ९७ रुपैयाँ तिर्नुपर्छ ।

नेपाल टेलिकमले भर्खरै सुरु गरेको चौथो पुस्ताको वाइम्याक्स इन्टरनेट २ सय ५६ केपीपीएस स्पिडमा लिँदा ५ जीबीको ६ सय ५० रुपैयाँ पर्छ । स्पिड र भोलुमअनुसार शुल्क बढ्दै जान्छ । यसलाई चलाउन युएसबी डंगोल, मोडेम वा कस्टमर पि्रमिसेस इक्युपमेन्ट (सीपीई) छुट्टै किन्नुपर्छ ।

सस्तिँदो शुल्क, बदलिँदो प्रविधि, तीव्र गति र सहज पहुँचले इन्टरनेट प्रयोगकर्ताको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । बितेको एक वर्षमा इन्टरनेटका ग्राहकको वृद्धि झन्डै ७ प्रतिशतले भएको छ । यस अवधिमा इन्टरनेट प्रयोग गर्नेको संख्या झन्डै १८ लाखले थपिएको दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ । त्यसअनुसार देशका ५८ लाख ९१ हजार ५ सय ८६ ले आफ्नै इन्टरनेट चलाउँछन् ।  साभार : कान्तिपुर

Posted by Butwalonline on 10:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इन्टरनेट प्राइस, प्रविधि र स्पिड "

Leave a reply