|

अल्टीमेटम पछि बजारबासी आफैले घर टहरा भत्काउन थाले

किरणमान बज्राचार्य,कपिलवस्तु , २१ फागुन-पुर्व– पश्चिम राजमार्ग क्षेत्रमा अतिक्रमण गरि बनाइएका घर टहरा हटाउन कडाईका साथ  सूचना जारी लगत्तै घरनीहरुले आफै अतिक्रमण हटाउन थालेका छन् । उनीहरुले आफै २५ मिटर भित्रका घर टहर हटाउन शुरु गरेका हुन ।

 डिभिजन सडक कार्यालय नं.५ शिवपुर ले पूर्व पश्चिम महेन्द्र राजमार्ग किनारमा अतिक्रमण गरेर बनाइएका  घर टहरा हटाउने सूचना पटक पटक जारी गरे पनि बेवास्ता गरिउको थियो । तर अन्तिम पटक भन्दै चेतावनी दिईए पछि बजारबासी आफैले अतिक्रमण हटाउन थालेका हुन् । कार्यालयले जारी गरेको १५ दिने सूचना पाउन साथ सडक किनारका घर टहरा, ट्याङ्की, छाप्राहरु बजारबासी आफैले हटाउन सुरु गरेका थिए । देशका विभिन्न स्थानमा २५ मिटर कायम गराउन गरेको अभियान अन्र्तगत डिभिजन कार्यालयले पनि अभियान थालेको हो ।

महेन्द्र राजमार्ग अन्तर्गत पर्ने कपिलवस्तुको चन्द्रौटा, शिवपुर, खरेन्द्रपुर, इमिलिया, गोरुसिंगे, बनगाई, चारनम्बर, पिपरा लगायतका बजारहरुमा सडक सीमाको २५ मिटर भित्र बनेका घर टहरा भत्काउने कार्य जारी रहेको छ । सडक सीमाको १५ मिटर दाया बाया मार्किङ लगाउने कार्य शुरु गरेपछि सीमाभित्र परेका बासिन्दामा आफ्नो घरपनि भत्काउने हो कि भनी सन्त्रास फैलिएको थियो । कार्यालयले भत्काउन भन्दा आफै भत्काए घरमा बढि क्षति नहुने हुदा आफै अग्रसर भएको बनगाईका राजु केसी बताउनुहुन्छ । यतिखेर बजारक्षेत्रमा छाप्रो बनाई होटल गर्ने होटल व्यवसायी र वर्षौंदेखि सडकसीमामा राखिएका ट्यांकी व्यापारी स्वयंलाई हटाउन  भ्याई नभ्याई छ ।

सडक सीमामा पर्ने घरटहरा र ट्यांकी खाली गर्न थालेपछि अहिले चार नम्बर देखि चन्द्रौटा सम्म राजमार्ग क्षेत्रको मुहार नै फेरिएको छ । अहिले सडक फराकिलो र खुल्ला भएपछि बजारकै स्वरुप नै अति रमाइलो र नमूना शहर जस्तो देखिन थालेको स्थानियबासीहरुको भनाई छ । सडक विभागले अतिक्रमित गरि बनाइएका पक्की घरहरुमा मार्किङ समेत गरेको थियो । सो क्रममा बजारक्षेत्रमा बनेका कैयौं पक्की घरहरु समेत सडक सीमामा परेका छन् । राजमार्गको सीमा अतिक्रमण गरि बसेकाहरुलाई हटाउन सडक विभागले फागुन २१ गते सम्मको म्याद दिएको छ । अत्यधिक सवारी चापले सांघुरिंदै गएको राजमार्ग अतिक्रमणले गर्दा सवारी दुर्घटना, ट्राफिक जाम जस्ता समस्या बढेकोले डिभिजन सडक कार्यालय नं. ५ ले आफ्नो कार्य क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र सहायक मार्गहरुमा अतिक्रमित क्षेत्र हटाउने कार्य बमोजिम सडक सीमामा मार्किङ लगाउने कार्य संचालन गरेको हो । कार्यालयले सूचना पश्चात फेरी घरटहरा हटे नहटेको, मार्किङ्ग गरिएका घर भत्काए नभत्काएको अनुगमन गर्ने र त्यसपछि मेशिनको प्रयोग गरि घरटहरा हटाउने डिजिन सडक कार्यालयका ईन्जीनीयर राजेश यादवले बताउनु भयो ।

Posted by Butwalonline on 6:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अल्टीमेटम पछि बजारबासी आफैले घर टहरा भत्काउन थाले"

Leave a reply