|

उचित मूल्य र बजार अभावका कारण गोलभेडा कुहियो

किरणमान बज्राचार्य,कपिलवस्तु ६ फागुन-आफूले सोचे भन्दा बढी गोलभेडा उत्पादन भएपनि कपिलवस्तुका कृषकहरु निराश बनेका छन् । उत्पादित गोलभेडाले उचित बजार तथा मूल्य नपाउदा उनीहरु निराश भएका हुन् । जिल्लामा लाग्ने हाटबजार र तरकारी बजार यतिखेर टमाटरमय बनेका कारण उपभोक्ताहरुको लागि आर्कषणको केन्द्र बनेपनि कृषकहरुमा कुनै उत्साह देखिएको छैन ।

 “ उत्पादन गरेको गोलभेडा कौडिको भाउमा बेच्न परेको छ” धनकौली ८ धर्मनगरका कृषक लोरिक केवटले मुख निन्याउरो पार्दै भन्नु भयो । “त्यसमा पनि माल विक्रि नहुदा टमाटर सडेर जादा त्यसै फाल्नु परेको छ ” । अहिले जिल्लाका तरकारी बजारहरुमा प्रति केजि ५ रुपैया सम्ममा टमाटर विक्रि वितरण भइरहेको छ । तीन महिनाको मिहिनेत, विउ, मल, सिचाई, विषादी को खर्च गरि लाएको लगानी सम्म उठन गाह्रो भएको छ, दश किलोमिटर टाढा बाट ढुवानी गरि तौलिहवा हाट बजारमा गोलभेडा विक्रि गर्न आएका निग्लीहवाको पचेहराका रामवृक्ष केवटले भन्नु भयो “ हामीहरुको मिहिनेत र लगानी त्यसै खेर गएको छ” । उनीहरु द्धारा उत्पादित गोलभेडाले न राम्रो बजार पाउन सकेको छ न त बजारीकरणका लागि कसैले पहल नै गरेको छ । बीउ, बिषदी, सिंचाई , परिश्रमको गरी लगानी समेत नउठे भए पछि जिल्लाका धरै कृषकहरुले बोटमा फलेका टमाटर नटिपी त्यसै कुहाएर राखेका कृषकको गुनासो छ ।

उत्पादित टमाटर धनकौली स्थित एउटा मात्र संकलन केन्द्र रहेको छ । त्यहाबाट केही मात्रामा टमाटर निकासी भई रहेका पनिे जिल्ला बाहिर समेत निकासी गर्न जिल्ला स्थित कृषि कार्यालय विभिन्न संघ संस्थाले पहल नगरेको कारण कृषकहरुले घाटा बेहोरेर टमाटर विक्रि गर्न बाध्य छन् । जिल्लाका धनकौली, निग्लीहवा, जहदी, कोपवा, मोतिपुर लगायतका ३० भन्दा बढि गाविसमा व्यवसायिक टमाटर खेती हुने गरेको छ ।

१५ सय हेक्टर क्षेत्रफलमा हाइब्रेड जातका मनिषा, सोनाम, नविन, रामिया ९९९ जातका गोलभेडाको खेती हुने गरेको छ । जिल्लाका २ हजार भन्दा बढि कृषकहरु टमाटर खेती तर्फ आर्कषित भएपनि बजार अभावले गर्दा उनीहरु अहिले निकै मारमा परेको गुनासो गरेका छन् । बढि उत्पादन भएका बस्तु भण्डारण गर्ने चिस्यान केन्द्र समेत जिल्लामा नहुदा कृषकहरु झनै समस्यामा परका छन् । जिल्लामा दिनहु हजारौ टन टमाटर विक्रिको लागि तयारी अवस्थामा भएपनि मूल्य तथा बजार अभावका कारण उनीहरुले बोटमा फलेका टमाटर नटिपी त्यसै कुहाएर फाल्न थालेका छन् ।

उता कृषि कार्यालयका प्रमुख खुर्शेद अहमद खाँ ले उत्पादन बढी भए पनि बजार अभावका कारण कृषकहरुले उचित मूल्य पाउन नसकेको स्वीकार गर्दै उत्पादित टमाटर जिल्ला बाहिर पठाउन पहल भइरहेको बताउनुभयो । उचित वजार व्यवस्थापनको लागि मन्त्रालयमा पत्राचार गरिएको समेत उहाले बताउनुभयो ।

Posted by Butwalonline on 4:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उचित मूल्य र बजार अभावका कारण गोलभेडा कुहियो"

Leave a reply