भारतको हरियाणाका पूर्व मुख्यमन्त्री चौटालासहित ५३ जनालाई १० बर्ष जेल सजाय
नयाँ दिल्ली,माघ ९ - नयाँ दिल्लीको एक अदालतले हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालालाई १० वर्षको जेल सजाय सुनाएको छ । १३ वर्षअघि अवैध ढंगले शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेको विषयमा दोषी ठहर गर्दै दिल्लीको अदालतले चौटालासहित ५३ जनालाई सजाय सुनाएको हो ।
चौटालाका छोरा अजय, पूर्वसचिव विद्याधर, भारतीय प्रशासनिक सेवाका पूर्ववरिष्ठ अधिकारी सञ्जी कुमारसहित नौं जनालाई १०–१० वर्षको जेल सजाय सुनाइएको हो । सन् २००० मा मुख्यमन्त्री हूँदा चौटालाले पैसा लिएर नाम फेरबदल गरी आफू निकटका व्यक्तिलाइ शिक्षक नियुक्ति गरेको आरोप थियो । त्यतिबेला ३२ सय ६ जना शिक्षक नियुक्त गरिएको थियो । चौटाला अहिले हरियाणा राज्य विधान सभामा विपक्षी दलका नेता हुन् । अदालतको फैसला विरुद्ध चौटालाको पार्टी भारतीय राष्ट्रिय लोक दलका हजारौं कार्यकर्ताले अदालत बाहिर प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।
