दोषिलाई कारवाही गर्न माग गर्दै क्रान्तिकारी पत्रकारको प्रदर्शन
बिनोद परियार ,रुपन्देही, माघ २ गते - मुलुकमा जनयुद्धदेखि हालसम्म बेपत्ता पारिएका ३ तथा हत्या गरिएका ३३ जना पत्रकारहरुको सत्यतथ्य पत्ता लगाई दोषिलाई कारवाही गर्न माग गर्दै क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले मंगलबार बुटवलमा प्रदर्शन गरेको छ ।
सत्य निरुपण आयोग गठन गर, कृष्णसेनलगायत हत्या गरिएका पत्रकारहरुका हत्यारालाई कारवाही गर, पत्रकार एकता जिन्दावाद, शान्ति प्रक्रिया भांड्न पाइदैन जस्ता नारा लगाउंदै बुटवलको मिलनचोकबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरी मिडियाचोकमा कोणसभा गरेको थियो । सभालाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार संघ नेपाल केन्द्रीय सचिवालय सदस्य तथा अवध अध्यक्ष यानेन्द्र जीसीले हत्या तथा बेपत्ता पत्रकारहरुको अवस्था पत्ता लगाई दोषीलाई कारवाही गर्न माग गर्नुभयो । उहांले भन्नुभन्यो, ‘हामी कुनै पनि पत्रकारका हत्यारालाई उन्मुक्ति दिइयोस भन्दैनौ तर एकजना पत्रकारका परिवारले न्याए पाउंदा अरुले पनि पाउनुपर्छ भन्ने माग हो ।’ क्रान्तिकारी पत्रकार स्वर्गीय कृष्णसेन इच्छुकका हत्याराको पहिचान हुंदा पनि कारवाही नभएको भन्दै त्यति बेलाका तत्कालिन शासक तथा दलका नेतालाई पनि कारवाही गरिनुपर्ने उहांले बताउंनुभयो ।न्याय सबैलाई समान हुनुपर्ने भन्दै उहांले अहिले पत्रकारका संगठनहरुबीच पनि मतभेद ल्याउने खेल भइरहेको तर्क गर्नुभयो । यदि दोषीलाई कारवाही नभए अब सबै स्वर्गीय क्रान्तिकारी पत्रकारका परिवारले मुद्दा हाल्ने उहांले चेतावनी दिनुभयो ।
कार्यक्रमा प्रेस स्वतन्त्रता सेनानीद्धय कर्णबहादुर कार्की र अर्जुन ज्ञवालीले सत्यनिरुपण आयोग गठन गरेर द्धन्द्धकालिन घटनाका समस्या समाधन गर्ने भनिएपनि त्यो अध्यादेशलाई राष्ट्रिपतिले रोकेर राखेको उल्लेख गर्नुभयो । उहांहरुले द्धन्द्धकालिन घटनालाई आयोग मार्फत नै टुंग्याउनुपर्ने भन्दै अन्यथा यस अघिका प्रशासकहरुलाई पनि मुद्दा हाल्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली, पत्रकार मदनलाल पौडेल, अधिवक्ता लिलाधर मरासीनी, क्रान्तिकारी पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष रुद्रहरि कुंवर लगायतले बोल्दै हालसम्म हत्या तथा बेपत्ता पारिएका सबै पत्रकारका दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । संघका रुपन्देही सचिव भुवन कार्कीको सञ्चालनमा भएको कोणसभामा सर्बसाधारणको पनि बाक्लो उपस्थिति रहेको थियो ।