वैद्यपक्षीय माओवादी कार्यकर्ताले खोसे १३ सय मोबाइल
काठमाडौं २८ पुस - वैद्यपक्षीय नेकपा माओवादीको महाधिवेशनमा सुरक्षाको जिम्मा लिएका लडाकूहरुले १३ सय थान मोबाइल कब्जामा लिएका छन् ।
शनिबार बिहानै प्रज्ञा प्रतिष्ठानको गेटमा तैनाथ माओवादी युवाहरुले महाधिवेशनका लागि गेटभित्र प्रवेश गर्न लागेका प्रतिनिधि, पर्यवेक्षकहरुलाई ठूलो-ठूलो स्वरमा भनिरहेका थिए- मोबाइल भित्र लान पाइन्न है, भित्र लगेमा कब्जा गरिने छ र हरायो भनेर गुनासो गर्न पाइने छैन ।’ प्रत्येक व्यक्तिको साथमा रहने मोबाइल थन्क्याउने ठाउँ नपाएपछि केही कार्यकर्ता छेउको चिया पसलमा मोबाइल राखिदिन आग्रह गरिरहेका भेटिन्थे ।
यसैवीच एमालेनिकट अनेरास्ववियूकी केन्द्रीय नेता नवीना लामाका पिता माणिक लामाको मोबाइल शनिबार बिहान माओवादी कार्यकर्ताले कब्जामा लिएका छन् । ‘मेरो मोवाइल साथीहरुले कब्जामा लिए, आज फिर्ता पाइन्न भनेका छन्, मोबाइल खोसिनेमा म १३ सय नम्बरमा परेंछु ।’- प्रज्ञा भवनको गेटैभित्र लामा गुनासो गरिरहेका थिए ।
काभ्रेको मानदकुँडारी निवासी लामा जनमोर्चाका तर्फबाट पूर्व गाविसअध्यक्ष समेत हुन् । वीचमा एमाले र मालेमा प्रवेश गरेका लामा वैद्यपक्षीय माओवादीको महाधिवेशनमा पर्यवेक्षकका रुपमा सहभागी छन् । लामाकी छोरी नवीना भने भर्खरै विघटन भएको एमाले समर्थित अनेरास्ववियूकी केन्द्रीय उपाध्यक्ष हुन् । स्रोत : ऑनलाइन खबर