जनताको माग संबोधन नभए सम्म सरकारबाट छोडदैनौ : अर्थमन्त्री पुन
किरणमान बज्राचार्य,कपिलवस्तु १४ माघ-अर्थमन्त्री बर्षमान पुन अनन्तले कांग्रेस ऐमाले लगायतका बिपक्षी दलहरुले आफ्नो अनुकुलतामा संविधान बनाउन निर्वाचनको नेतृत्व लिन खोजेको भन्दै जनताको माग सम्बोधनको ग्यारेन्टी नभएसम्म सरकार नछाडिने अडान दोहरयाउनुभएको छ ।उहाले कांग्रेस र एमालेका आ–आफ्नै स्वार्थका कारण सहमति हुन नसकेको आरोप लगाउनुभयो ।दलहरु निर्वाचनको पक्षमा नरहेकाले विभिन्न बहाना बनाउदै सहमतिको वातावरण विगारेको बताउनुभयो ।
एकीकृत नेकपा माओवादी कपिलवस्तुको तौलिहवामा जारी जिल्लाको दोश्रो जिल्ला सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले कुर्सी लिने र जनताको ऐजेण्डा छाड्नेलाई सरकारले बाटो नदिने जिकिर गर्नुभयो । उहाले कांग्रेस एमाले लगायतका दललाई बर्तमान सरकारकै नेतृत्वलाई सर्वपक्षिय बनाएर निर्वाचनमा जान अनुरोध समेत गर्नुभयो । आफुहरुले चारवटा बिकल्प प्रस्तुत गर्दा पनि नमान्ने बिपक्षी दलहरुलाई के गर्न खाजेको भन्दै चुनौती दिनु भएको थियो ।
माओवादी नेता समेत रहनुभएका पुनले जनयुद्धकालका मुद्धा उचाले शान्ति प्रक्रिया जोखिममा पर्ने बताउनुभयो । उहाले दैलेख घटना लगायतका मुद्धालाई उचालेर विपक्षिहरुले सरकार ढाल्ने प्रयास गरेपनि त्यसको प्रभाव शान्ति प्रक्रियामा परेको जिकिर गर्नुभयो । उहाले अन्तिरम संविाधानमा २०५२ साल देखि २०६३ साल सम्मका मुद्धा सत्य निरोपण तथा मेलमिलाप आयोगले समाधान गर्ने भएकाले त्यसलाई बढि नउचाल्न विपक्षिहरुलाई अनुरोध गर्नुभयो । “यदि जनयुद्धकालका सबै मुद्धा एक एक गरि उचाल्न थालियो भने तत्कालिन देउवा सरकार तथा पूर्व मन्त्रीहरु समेत दोषि देखिन्छन् ”उहाले भन्नुभयो ।
अर्थमन्त्री पुनले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुले भ्रमणमा बढि रकम खर्च गरेको हल्ला सार्वजनिक भएको प्रति आपत्ति व्यक्त गर्नुभयो ।उहाले बर्तमान सरकार सम्वृद्धिको पक्षमा रहेको र पूर्व सरकारको जस्तै खर्च गरेर ढुकुटी रित्याउने किसिमको नरहेको दाबी गर्नुभयो । “हामीले कहाा बढि खर्च गरेका छौ पुष्टी गर्नुहोस हामी कारवाही भोग्न तयार छौ ” उहाले भन्नुभयो । नेता पुनले बर्तमान सरकार जनताले चाहे अनुसारको काम गर्न नसक्नुमा विपक्षिहरु नै बाधक भएको आरोप लगाउनुभयो । सरकार अहिले विपक्षिहरु बाट चारैतिरबाट घेरिएको र असफल बनाउने प्रयत्नमा रहेको बताउनुभयो । सरकारले जनताको पक्षमा सक्दो काम गरेको र जनताको पक्षमा आफुहरु सधै सफल भएको दाबी गर्नूभयो । अर्थमन्त्री पुनले कपिलवस्तुका पुरातात्विक एंव ऐतिहासिक स्थलको विकासका लागि एकीकृत विकास योजना लागू गर्न आफुले पहल गरेको जानकारी समेत दिनुभयो । उहाले सरकारले यसलाई प्राथमिकतामा नराखे भारतीय पक्षले गरेका भ्रमित प्रचारहरुले स्थान पाउने बताउनुभयो । यस क्षेत्रको एकीकृत विकासको लागि पर्यटन बोर्ड तथा अर्थ मन्त्रालयले कार्य थालेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै माओवादी नेता एंव अवध राज्य संयोजक बलदेवले बर्तमान सरकारकै नेतृत्वमा निर्वाचन हुने ठोकुवा गर्नुभयो । उहाले निर्वाचन गराउने ठेक्का एमाले र कांग्रेसको नभएको भन्दै माओवादीले नै चुनाव गराउने र निष्पक्ष गराउने दाबी गर्नुभयो । कार्यक्रममा जिल्ला भरका ५ हजार बढि पार्टी सदस्य एंव सर्वसाधारणको उपस्थिति रहेको थियो । आसन्न हेटौडामा हुन लागेको केन्द्रिय महाधिवेशनका लागि जिल्ला अधिवेशनले प्रतिनिधि छनौट गर्ने जिल्ला इन्चार्ज रामलौटन तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रिय सदस्य बामदेव क्षेत्री, भक्ति पाण्डे, दयाराम शर्मा लगायतले बोल्नुभएको थियो । अधिवेशन दुई दिन सम्म तौलिहवामा चल्ने छ ।