|

प्रधानमन्त्रीविरुद्व दैलेखमा विपक्षीको जुलुस, एमाओवादीका कार्यकर्ता चढेका गाडी रोकिए

ज्ञानु गौतम,माघ ९ -दैलेख,माघ ९ - पार्टीको जिल्ला अधिवेशन उदघाटनका लागि एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भोली जिल्ला सदरमुकाम आउने थाहा पाएपछि दैलेखमा प्रतिपक्षी दलहरुले आन्दोलन शुरु गरेका छन् । एकीकृत माओवादीको विरोधमा घरघरमा कालोझण्डा राख्ने विपक्षी ६ दलले निर्णय गरेका छन् भने आजै सदरमुकाममा मसाल जुलुससमेत प्रदर्शन गरेका छन् ।

एकीकृत माओवादीको पूर्वनिर्धारित अधिवेशनमा भाग लिन सुर्खेतको सीमाक्षेत्रबाट माओवादी कार्यकर्ता बोकेर दैलेख सदरमुकामतर्फ लागेका ४ वटा गाडी गुराँसे भन्ने स्थानमा विपक्षी दलका कार्यकर्ताले रोकेर राखेको माओवादी नेताले बताएका छन् । दैलेखमा उत्पन्न असामान्य परिस्थितिलाई समाधान गर्न आज बिहान एमाले, कांग्रेस र एमाओवादीका जिल्ला नेतावीच सदरमुकाममा छलफल भएको थियो ।

एमाओवादीले आफ्नो पूर्व निर्धारित अधिवेशन निर्वाधरुपमा गर्न दिन आग्रह गरेकोमा विपक्षीले जिल्लाभरि गाडीसमेत चल्न नदिने भन्दै एमाओवादीको प्रस्ताव ठाडै स्वीकार गरेपछि स्थिति जटिल बनेको छ । प्रधानमन्त्री र दाहालको टोली दैलेख पुग्ने समयबारे सोध्दा जिल्ला प्रशासन कार्यालयले सुरक्षाका कारण समय भन्न नमिल्ने बताएको छ । विपक्षीहरुले पनि भोली दिउँसो विरोध सभा गर्ने भएका छन् । अधिवेशनमा भाग लिन आउने प्रतिनिधिलाई समेत विपक्षीले सदरमुकाम आउन नदिने नीति लिएको एमाओवादीले जनाएको छ । दुबैपक्षको एकै दिन कार्यक्रम भएकाले जिल्लामा दुइपक्षीय झडपको सम्भावना बढेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याबारे प्रहरीले आइतबारदेखि स्थलगत अध्ययन शुरु गरेपछि स्थानीय एकीकृत माओवादी तथा माओवादीका नेताहरु भने भागेका छन् । प्रहरी गाउामा पुग्दा सबैलाई पक्रिने डरले स्थानीय माओवादी नेता कार्यकर्ताहरु जंगलतर्फ लागेका छन् । अनुसन्धानका लागि प्रहरी निरीक्षक इन्द्र सुवेदीको टोली गाउा पुगेपछि स्थानीयबासिन्दा समेत डराएका छन् । द्वारीमा तीन दिनको अनुसन्धान गरी सकेर आज दैलेख फर्किने अनुसन्धान अधिकृत विनोद शर्माले जानकारी दिनुभयो । दैलेख प्रहरीले मुख्य फरार चार जना अभियुक्त मध्ये एकजना लक्षिराम घर्तीबाहेक मुक्ति भनिने बमबहादुर खड्का, अरुण भनिने बमबहादुर खड्का र केशवबहादुर खड्कालाई खोजतलास गर्न जिल्ला बाहिर प्रहरी परिचालन गरेको बताए पनि हालसम्म पक्राउ परेका छैनन् ।

Posted by Butwalonline on 6:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानमन्त्रीविरुद्व दैलेखमा विपक्षीको जुलुस, एमाओवादीका कार्यकर्ता चढेका गाडी रोकिए"

Leave a reply