|

बच्चाले मकै भुट्दा घर जलेर नष्ट

हेटौंडा, ७ माघ । काँकडा–१ सिलिङेका पूर्णलाल चेपाङको घर जलेर नष्ट हुँदा १२ जनाको परिवारको बिचल्ली भएको छ ।

बच्चाले मकै भुटेर खाने क्रममा सल्किएको आगोका कारण घर जलेपछि उनीहरू छिमेकीको गोठमा चिसो रात बिताइरहेका छन् । एउटै घरमा संयुक्त परिवारमा बस्दै आएका १२ चेपाङ माघको चिसोमा कठिन रात काटिरहेका छन् ।

२६ पुसमा उनीहरूको घर जलेको हो । ‘भाइले मकै भुट्न खोज्दा आगो सल्किएर घर जल्यो,’ कक्षा ३ मा पढिरहेकी मनीता चेपाङले भनिन्, ‘आगोले घरभित्र भएका लत्ताकपडा, भाँडाकुँडा पनि जलेपछि हाम्रो बिचल्ली भएको छ ।’

उनीहरूको परिवारमा बाबुआमा पूर्णलाल, आमा बेसरीमाया, छोराहरू हेमलाल, सुनील, विनोद, सर्केस, प्रदीप, रमिता छन् । यस्तै एउटा छोराको विवाह भएकाले बुहारी, नातिनातिनासहित १२ जनाको परिवार एउटै घरमा बस्दै आएका हुन् ।
घर आगलागीमा परेपछि उनीहरू छिमेकीको गोठमा बस्दै आएका छन् भने अहिलेसम्म कतैबाट राहत पाएका छैनन् । शुक्रबार लिजा हिमालयको सहयोगमा केही भाँडाकुँडा र लत्ताकपडा दिइएको अनिल पौडलले बताए । उनले तत्काल जाडोबाट बच्नका लागि केही कपडाबाहेक अरू सहयोग दिन नसकिएको बताए ।

‘नौ दिनपछि बालबच्चाले तातो कपडामा सुत्न पाउने भए,’ पूर्णलालले भने, ‘अब यत्रो परिवार पाल्ने कसरी, खानलाई अन्न र बस्नलाई घर पनि छैन ।’ हुर्केका केही छोरा र उनले गरेको ज्यालादारीका भरमा परिवार चलेको छ । साना बालबच्चा गाउँकै स्कुलमा पढ्छन् ।

‘पूर्णलालको परिवारलाई सहयोग जुटाउन जरुरी छ,’ शुक्रबार सिलिङे पुगेर फर्किएका सामाजिक कार्यकर्ता अनिल पौडेलले भने, ‘परिवारका सदस्यको हालत देखेर दया जाग्छ तर भनेजति सहयोग गर्न सकिएन ।’ उनले चेपाङ परिवारको सहयोगका लागि अपिल पनि गरे । ‘जाडोमा बालबच्चा जोगाउन र घर बनाउन सहयोग गर्नुहोस्,’ पूर्णलालले भने, ‘यो परिवारको बिजोग भयो, तपाईंले सकेको सहयोग गर्नुहोस् ।’ उनीहरूले नौ दिनदेखि छिमेकले दिएको एकछाक मात्र खाएर जाडोमा कठिन रात काट्दै आएका थिए । संस्थाले केही लत्ताकपडा र खाद्यान्न दिएपछि केही दिनलाई भने राहत भएको छ ।स्रोत :सौर्य दैनिक

Posted by Butwalonline on 7:09 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बच्चाले मकै भुट्दा घर जलेर नष्ट"

Leave a reply