पत्रकार बिस्थापीत भएपछि सञ्चार माध्यम बन्द
हेम राज भट्ट,नेपालगञ्ज,माघ १२ - दैलेखबाट बिस्थापित भएर सुर्खेतमा पुगेका दैलेखका पत्रकारहरुले सुरक्षाको माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएका छन् । माओवादीको धम्कीका कारण दैलेखमा बस्न सक्ने वातावरण नभएको भन्दै सुरक्षाको प्रत्याभूतिको माग गर्दै पत्रकारहरुले क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएका हुन् ।
पत्रकार महासंघका क्षेत्रीय संयोजक सुर्यमणी गौतमले दैलेख र सुर्खेतका पत्रकारहरुले अहिले क्षेत्रीय प्रशासन कार्यालयमा पुगी धर्ना दिईरहेको बताउनु भएको छ । उहााले पत्रकारको सुरक्षाको प्रत्याभुति सरकारले नदिएसम्म दैलेखी पत्रकारहरु फर्किन सक्ने अवस्था नभएको बताउनु भयो ।
माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्याका बिषयमा आवश्यक अनुसन्धान गरी कार्वाहीको माग गरेका पत्रकारहरु विभिन्न धम्की आएपछि बिस्थापित भएर हिजो राती जिल्ला छोडेका थिए । माओवादी कार्यकर्ताहरुले अरु दश जना पत्रकारहरुको हालत पनि डेकेन्द्रराज थापाको जस्तो बनाईदिने धम्की दिए पछि पत्रकारहरु बिस्थापित भएको बिस्थापीत पत्रकारहरुले बताए ।
पत्रकारहरु बिस्थापित भए पछि दैलेखमा सञ्चालित दुईवटा एफएम रेडियो र तीन वटा दैनिक पत्रिका बन्द भएका छन् ।
