|

भुस्याहा कुकुरलाई सिरक डस्ना मासु भात ..!

काठमाडौं, माघ ८ - सामान्यतः भुस्याहा कुकुरको रात सडकपेटी या कुनाकाप्चामा बित्ने गर्छ। कमलादी गणेशस्थानका २१ कुकुर भने मासु-भात खाएर सिरक डस्नामा सुत्ने गरेका छन्।

यी कुकुरलाई आफ्नै सन्तानझैं स्नेहले हुर्काइरहेकी छिन् गणेशस्थान मन्दिर परिसरमा बस्दै आएकी ५४ वर्षीया ज्ञानी देउलाले। ‘मन्दिर दर्शन गर्न आएकाहरू कुकुरका छाउरा छाडेर हिँड्थे,' उनले भनिन्, ‘तिनै बेवारिसे बच्चालाई माया गरेर हुर्काउँदै आएको छु।'

मन्दिरमा फूल बेचेर जीविका चलाउँदै आएकी उनले त्यसैबाट कुकुरलाई खानेकुरा किन्ने गरेको सुनाइन्। ‘दैनिक सय रुपैयाँको मासु, दुई किलो चामल र चिया-बिस्कुट किन्ने गरेको छु,' उनले भनिन्, ‘मन्दिरमा आएका भक्तहरूले पनि केही बिस्कुट किनिदिने गरेका छन्।'

देउलाले यी कुकुरलाई सिरक डस्नासमेत व्यवस्था गरेकी छिन्। कुकुर पनि दिनभरि उनकै पछि लाग्छन्। उनले भनेका सबै कुरा मान्छन्। उनीसँगै सुत्छन्। देउला पनि आफूलाई यी कुकुरहरूको आमा भन्न रुचाउँछिन्। इमान्दारिता कारण आफूलाई कुकुर औधि मन परेको उनले बताइन्।

‘स्वर्ग जाने पनि यिनै कुकुर, चन्द्रमा जाने पनि यिनै', उनले भनिन्, ‘यिनैलाई कतिपयले घाँडो सम्झेर मन्दिरमा ल्याएर छाड्ने गरेका छन्।' कुकुरले दिउसोको खाजाका रूपमा दुध र बिस्कुट खानेको गरेको सुनाइन्।
देउला मन्दिर आउने भक्तलाई कुकुर नछाड्न आग्रह गर्छिन्। ‘मलाई यिनै कुकुर पाल्नसमेत समस्या छ,' उनले भनिन्, ‘अरु पाल्न सक्दिनँ होला।' साभार : नागरिक न्यूज

Posted by Butwalonline on 7:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भुस्याहा कुकुरलाई सिरक डस्ना मासु भात ..!"

Leave a reply