फेसबुकको कुराकानीकै आधारमा श्रीमति दाबी गर्ने साथीसँग बिहे
धनकुटा, माघ १० - फेसबुकमा भएको कुराकानीकै आधारमा श्रीमति भएको दावी गर्दै घर आएकी महिलासँग मौनाबुधुक गाउँ विकास समिति वडा नं. ८ धनकुटाका हेमकर्ण कोइरालाले बिहे गरेका छन्। चार महिना अगाडि फेसबुकमा भेटिएकी २२ वर्षीया सविता अधिकारीले श्रीमति भएको दावी गर्दै घर बस्दै आए पनि श्रीमति मान्न अस्वीकार गरेका कोइरालाले मंगलबार धनकुटा सदरमुकाममा भएको छलफलपछि स्वीकार गरेका हुन्।
महिला मानव अधिकार सञ्जाल र परिवार सहितको छलफल कार्यक्रमपछि सवितालाई श्रीमतिको रुपमा स्वीकार गरेको टेलिफोन सम्पर्कमा कोइरालाले बताए। फेसबुकमा चिनजान भएकी महिलाले सामाजिक फन्दामा पारेको बताउँदै आएका कोइरालाले कानुनी प्रक्रिया जानु भन्दा विहे गर्नु नै उत्तम थानेको बताए।
काठमाडौँमा टेम्पो चालक भएको बताउने अधिकारीले फेसबुकबाटै कोइरालासँग लभ परेको र उनले श्रीमति बनाउँछु भनेर आश्वसन दिएकाले कोइरालाको घर सोध्दै आएको बताएकी थिइन्। महिलाको भावनामा खेलवाड गरेको र श्रीमति नबनाएसम्म घर नफर्कने दावी गरिरहेपछि हेमले श्रीमतिको रुपमा स्वीकार गरेका हुन्।
४ वर्ष अगाडि वैदेशिक रोजगारीका लागि कतार गएका कोइरालाको घरमा एक महिना अगाडिदेखि सविता बस्दै आएकी थिइन्। फेसबुकमा सविताले नै साथीको लागि अनुरोध गरेको र उनीसँग पारिवारिक र ब्यक्तिगत विषयमा समेत कुराकानी भएको बताइएको छ।
कोइरालाले श्रीमतिको रुपमा स्वीकार नगरेपछि सविताले जिल्ला सदरमुकाममा आएर महिला अधिकारकर्मीहरुलाई गुहारेकी थिइन। सविताको विषयमै महिला मानव अधिकार सञ्जल धनकुटाले कोइराला र उनको परिवारलाई बोलाएर छलफल समेत गराए। छलफलपछि मंगलबार श्रीमतिको रुपमा स्वीकार गर्ने भएपछि बुहारी बनाएर घर लगेको हेमकर्णका दाजु टीका कोइरालाले बताए। घट्नाको सम्बन्धित ब्यक्तिहरु नै सहमति भएपछि परिवारलाई कुनै आपत्ति नभएको उनले बताए।हेमकर्णले श्रीमतिको रुपमा स्वीकार गरे पछि मंगलबार नै उनीहरु घर फर्केका छन्। साभार ऑनलाइन खबर
