पश्चिम वायुको प्रभावसँगै बुधबारदेखि चिसो बढ्यो
काठमाडौ, मंसिर २८ - पश्चिम वायुको प्रभावसँगै बुधबारदेखि मुलुकका विभिन्न भागमा पानी पर्न थालेलगत्तै चिसो बढेको छ । जुम्ला र जोमसोमको तापक्रम माइनसमा झरेको छ । राजधानीमा पनि जाडो बढेको छ । धेरै भागमा बिहानपख न्यूनतम तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिगि्रसेल्सियसमा झरेको छ भने अधिकतम १८ मा सीमित भयो । केही दिनअघिसम्म अधिकतम २५ देखि २८ डिग्री थयो भने न्यूनतम १२ देखि १५ सम्म ।
महाशाखाका अनुसार बुधबार डडेलधुरामा १.४, दिपायलमा १.५, धनगढीमा २.४, वीरेन्द्रनगरमा ०.५, जुम्लामा १.३, दाङमा ०.६ र जोमसोममा २ मिलिमिटर वर्षा भएको छ । पोखरा र भैरहवामा समेत फाट्टफुट्ट पानी परेको छ । तराईमा झापादेखि भैरहवासम्म बाक्लो कुहिरो लाग्न सुरु भएको छ ।
स्रोत :कन्तिपुर