एमाले जिल्ला अधिवेशन तयारी पुरा,अध्यक्ष खनाल शुक्रवारे कपिलवस्तु आउने
किरणमान बज्राचार्य,कपिलवस्तु , २९ मंसिर - नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल मंसिर २९ गते कपिलवस्तु आउनुहुने भएको छ । नेकपा एमाले कपिलवस्तुको आठौ जिल्ला अधिवेशनको उदघाटन सत्रका लागि अध्यक्ष खनाल कपिलवस्तु आउनुहुने भएको हो ।
एमाले जिल्ला समितिका अध्यक्ष बलराम अधिकारीका अनुसार गोरुसिंगेमा हुने २ दिने अधिवेशनका लागि विशेषरुपले अध्यक्ष आउनुहुने भएको हो । उहाले कार्यक्रमको उदघाटन गर्ने, जनसभालाई सम्बोधन गर्ने कार्यक्रमहरु रहेको छ । जिल्लाको गोरुसिंगेमा हुन गइरहेको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजक कमिटिले जनाएको छ । आयोजक कमिटिका संयोजक अधिकारीका अनुसार अधिवेशनमा सहभागी हुन आउने प्रमुख अतिथी तथा अध्यक्ष झलनाथ खनाल, केन्द्रिय पदाधिकारी तथा प्रतिनिधि, अधिवेशनमा जिल्लाका ७७ गाविस बाट सहभागी २६४ प्रतिनिधि, पर्यवक्षेक, अतिथी, पत्रकारहरुको बस्ने तथा कार्यक्रम स्थलको चयन तथा व्यवस्थापन समाप्त भएको जानकारी दिनुभयो । उहाले अधिवेशनलाई भव्य तथा शानदार रुपमा समापन गर्न विशेष रुपमा कार्यकर्ता परिचालन गरिएको बताउनुभयो । शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, जिलला प्रहरी कार्यालय तथा शशस्त्र प्रहरी बल लगायतको सुरक्षा समितिलाई पत्राचार गरि शान्ति सुरक्षा चुस्त दुरुस्त गराउन आग्रह समेत गरिएको छ । अधिवेशनको खुलासत्रमा जिल्लाभरका ३ हजार बढि कार्यकर्ता तथा स्थानियबासीको सहभागिता हुने आयोजक एंव एमाले जिल्ला सचिव बाबुराम खनालले जानकारी दिनुभयो ।
आसन्न अधिवेशनमा नेतृत्वको लागी अध्यक्ष सहित ३ जना नेताहरुको नाम चर्चामा आएको छ । अध्यक्ष बलराम अधिकारीले सर्वसम्मत बनाउने प्रयास गरेपनि खासगरी राष्टिय प्रतिनिधि परिषद सदस्य झवीलाल पोख्रेल र जिल्ला उपाध्यक्ष डम्मर शर्माको नाम अध्यक्ष पदका लागि हानथाप भईरहेको छ । अध्यक्ष वलराम अधिकारीका अनुसार सर्वसम्मत रुपमा एमालेको नेतृत्व चयन गरिने बताइएको छ । यद्यपि दुवै नेताहरुले सर्वसम्मतको कुरा गरेपनि आफुले नै अध्यक्षता पाउनु पर्ने दावी गरेका छन् । यता विभिन्न उपसमितिका वैठकहरु वसेर प्रमुख अतिथि, अतिथी, पर्यबेक्षक, स्वागत, सुरक्षा, स्वयसेवक व्यवस्थाजस्ता विषयलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने जनाएको छ ।