क्याम्पस प्रमुखले छात्रामाथि यौन शोषण गरेको भिडियो सार्वजनिक पछि क्याम्पस बन्द
डडेलधुरा, मंसिर २४ - सात वटा पहाडी जिल्लाका चार हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्ने शिक्षा संकायको सुदूरपश्चिमको एकमात्र क्याम्पस छ महिनादेखि ठप्प छ । 'छ महिनादेखि क्याम्पसका सबै गतिविधि ठप्प छन्,' डडेलधुरा शिक्षा क्याम्पस स्ववियु सभापति विपिन ओझाले भने, 'क्याम्पस प्रमुखले गरेका अनियमित क्रियाकलापले क्याम्पस ठप्प भएको हो ।'
७ महिनाअघि क्याम्पस भवन निर्माणमा अनियमितता, छात्रामाथि प्रमुखद्वारा गरिएको यौन शोषण र अनियमित तरिकाले कर्मचारी भर्ना गरिएको भन्दै नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले पठनपाठन अवरुद्ध गरेका हुन् । क्याम्पसमा शैक्षिक सुधार र दोषीलाई कारबाही माग राख्दै आन्दोलन गरिरहे पनि सुनुवाइ नभएको विद्यार्थी संगठनहरूले जनाएका छन् । 'तत्कालीन क्याम्पस प्रमुख बद्री शर्माले अनियमितता गरे,' अखिल क्रान्तिकारीका अध्यक्ष नवराज धिक्तले भने, 'अख्तियारले छानबिन गर्न टोलीसमेत पठायो तर समस्या समाधान हुन सकेको छैन ।'
त्रिवि कुल सचिवको कार्यालयले अनियमित तरिकाले भर्ना भएका कर्मचारीको नियुक्ति बदर गर्न लिखित आदेश दिए पनि वर्तमान क्याम्पस प्रमुख वेद शर्माले पनि पुरानै प्रमुखको शैलीमा काम गरिरहेको विद्यार्थी संगठनहरूले आरोप लगाएका छन् । 'विश्वविद्यालयले नियुक्ति बदर गरिसकेका कर्मचारीलाई पनि तलब खुवाइएको छ धिक्तले भने, 'छ महिनादेखि पठनपाठन ठप्प हुँदासमेत कसैले चासो देखाएको छैन ।'
'तत्कालीन क्याम्पस प्रमुखले गरेका अनियमित क्रियाकलापको न त विश्वविद्यालयले छानबिन गर्यो न प्रशासनले नै चासो देखायो,' स्ववियु सभापति ओझाले भने, 'आफ्नै क्याम्पसका छात्रामाथि यौन शोषण गरेको भिडियोसहित प्रकाशमा आएपछि फरार क्याम्पस प्रमुख बद्री शर्मा हाजिर नै नभई सरुवा भएपछि विद्यार्थी संगठन आक्रोसित भएका हुन् ।' विगतमा चार हजारभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेको क्याम्पसमा यस वर्ष तीन सय विद्यार्थी पनि भर्ना भएका छैनन् ।
समाचार :कान्तिपुर बाट