पाच बर्षमुनीका दलित बालवालिकालाई मासिक २ सय रुपैया पोषणभत्ता
बुटवल,२५ मंसिर । सामाजिक सुरक्षा भत्ता अन्तर्गत दलित समुदायका पाच बर्षमुनीका वालवालिकालाई उपलब्ध गराईने पोषणभत्ता लक्षित समुदायसमक्ष पुर्याउन संयन्त्रलाई सक्दोपरिचालन गर्न सरकारी अधिकारीहरु सहमत भएका छन् । रेडियो जागरणको साप्ताहिक कार्यक्रम कचहरीको छलफलमा आज सहभागिहरुले पोषणभत्ता आफुहरुले नपाएको गुनासो गरेपछि जिल्ला विकास समिति,नगरपालिका र गाविस सचिवका प्रतिनिधिले कमजोरी सच्याएर जाने प्रतिबद्धता गरेका हुन ।
सरकारले पाच बर्षमुनीका दलित बालवालिकालाई मासिक २ सय रुपैया दिदै आएको छ । कार्यक्रममा सहभागि अधिकांशले पोषणभत्ता छुटिन्छ भन्ने नै थाहा नपाएको बताएपछि जिल्ला विकास समिति रुपन्देहीका पञ्जीकाधिकारी कृष्ण पाण्डेले सबैले जानकारी नपाएको स्विकार गर्दै तत्तकालै प्रसार प्रसार तिव्र पारिने बताउनुभयो । उहाले मंसिर मसान्तसम्म पोषणभत्ताको लागत संकलन गरिने भएकाले समुदायपनि सेचत हुनुपर्ने बताउनुभयो ।
बुटवल नगरपालिकाका सामाजिक शाखा अधिकृत दामोदर ज्ञवालीले जन्मदर्ताका र जनचेतना कारण पोषणभत्ता लिनेहरुको संख्या न्यून रहेको भन्दै यो बर्षबाट समुदायलाई सचेत गराउन वडा सचिव र टोल समितिलाई सक्रिय बनाईएको बताउनुभयो । दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष पदम बहादुर विश्वकर्माले राज्यले पूर्णरुपमा समुदायलाई खबर नगर्दा पोषणभत्ताबाट बच्चाहरु ब्ञ्चित हुनुपरेको बताउनुभो । कार्यक्रममा दलित संघ रुपन्देहीका सचिव रवि विश्वकर्मा,मुक्ति समाज रुपन्देहीका सदस्य पूर्ण परियार,समानताका लागि जागरण केन्द्र रुपन्देही अध्यक्ष भुवनसिंह विश्वकर्मा,संचारकर्मी कपिल ज्ञवाली,जुद्ध बहादुर विक लगायतले बोल्दै स्थानीय निकायनै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।