युएईमा एक बर्षभित्र ५५ जना नेपालीहरुको मृत्यु
लालबहादुर ढेंगा, दुबई, युएई-नेपाली रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बनेको छ । करिब २ लाख २० हजारको हाराहारिमा नेपाली कामदारहरु रहेको अनुमान गरिन्छ भने अझै भित्रिने क्रम पनि जारी नै रहेको छ । दुबई सरकारले काम गर्ने इम्पलोइमेन्ट भिषा दिनलाई निरन्तरता दिएता पनि भिजिट भिषा अर्थात् व्यापारिक भ्रमण भिषा भने बन्द गरिदिएको छ । अन्य सहर शारजाह, अजमान, अबुधावी, अलाएन, फुजेराह र रसअल खैमाहबाट भिजिट भिषा निकालेर आउने क्रममा पनि बृद्धि भएको पाइन्छ । त्यस्तैगरी ४–५ बर्ष यता पुरुष कामदारहरुको तुलनामा महिला कामदारहरुको आगमनमा पनि ह्वाट्टै बढेको छ । नेपाली कामदारहरु बढ्दै गएपछि विभिन्न समस्याहरु पनि बढ्ने स्वभाविकै कुरा हो । नेपाली राजदूतावास अबुधावीको तथ्यांङ्क हेर्ने हो भने नेपालीहरुको मृत्यु दरमा विगतका बर्षमा भन्दा यस बर्ष २०१२ मा कमि आएका छन् ।युएईको सरकारी बिभागदेखि लिएर निजी कम्पनीहरुको हरेक क्षेत्रमा नेपाली कामदारहरु कार्यरत छन् । तर महिलाहरु भने धेरै घरेलु कामदारको रुपमा कार्यरत रहेको पाइन्छ । यस बर्ष २०१२ को तथ्यांङ्क अनुसार यएईमा ५५ जना नेपालीहरुको मृत्यु भएको राजदूतावास अबुधावीका प्रथम सचिव लोकबहादुर क्षेत्रीले जानकारी दिनु भएको छ । जसमा ड्यूटीमा काम गर्दागर्दै २ जना, ट्रराफिक दुर्घटनामा १० जना, अन्य ३ जना, सामान्य ३५ जना र आत्महत्यामा ५ जना रहेका छन् । जम्मा ५५ जनामध्ये पुरुष ५४ जना र महिला १ रहेको छ । सन् २०१० को तथ्यांङ्कमा मृत्यु हुनेमा ८८ जना रहेको थियो भने सन् २०११ मा घटेर ६७ जनामा झरेको थियो । कतिपय नेपालीहरु विभिन्न अभियोगमा सजाय भोगेर अझैसम्म जेलमा रहेका छन्, भने जेलमा परेका २ जनामध्ये अमरबहादुर बमलाई दुबईमा र दुर्गाबहादुर सुनारलाई शारजाहमा फांसीको सजाय समेत सुनाएका छन् ।
नेपालबाट पहिलो पटक युएईमा आउंदा नेपाली दाजभाई तथा दिदीबहिनीहरुलाई यहांको नियम कानुन सम्बन्धी केही जानकारी नभएको हुन्छ । यस्ता अवस्थामा नेपाली राजदूतावास अबुधावी, युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्थाहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरुले बेला–बेलामा सू–सूचित गर्दै जनमानसमा सूचना प्रवाह गर्दै आएको हुनाले मृत्यु दरमा न्यून हुदैं गएको प्रथम सचिव क्षेत्रीले बताउनु भयो । यहां धेरै जसो मृत्यु हुनेमा खाना खाएर सुतेपछि सुतेको सुतेई हुने धेरै छन् । डाक्टरको सल्लाह अनुसार एउटा मानिसले एक दिनमा कमसे कम ५ लिटर पानी पिउनु पर्दछ । किन कि शरीरमा पानीको कमिको कारणले पनि मृत्यु हुने सम्भावना धेरै रहेको बताउंछन् । त्यस्तैगरी नेपालबाट आउंदा गांजा, भाङ, धतुरा, मर्चा, दबाई र मदिराहरु ल्याउन वर्जित रहेको छ । यस्ता खाले नशालु पदार्थ यहां फेला पारेमा धेरै लामो समयसम्म सोधपुछ चलिरहने र ठूलो सजायसम्म हुन सक्ने कानुन व्यापस्था रहेको छ ।
