|

तिहारको पाच दिन

बाबुराम भुसाल
दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमध्ये एउटा महान् चाड  हो तिहार  सुरु भएको छ । तिहार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ५ दिन सम्म मनाइन्छ । हिन्दू धर्मावलम्वीले  यस पर्वलाई दीपावलीको  रुपमा धूमधामका मनाउदैछन् । यसलाई दीपावली अनि दिवाली नामले पनि बुझ्ने गरिन्छ ।

सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको
निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुदा यी पाच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले “हरेक बर्ष  मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, वृद्धि होस्“ भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भनी बहिनीसग बिदा भई गएकाले त्यतिबेलादेखि अहिलेसम्म अविच्छिन्नरुपले यो पर्व मनाइदै आएको जानकारहरु बताउछन् । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गरेको छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि बलियो बनाएको छ ।

तिहारको सांस्कृतिक पक्ष पनि छ । नेपाल कृषि प्रधान देश हो । जब कृषक आफ्नो खेतमा सुनौलो फल उमारेर अन्न घरमा ल्याउने समय हुन्छ तब उनीहरुको खुशी एवं उमंगको सीमा हुदैन । यस खुशीको अवसरमा उसले भगवानको पूजा गर्दछ । पहिले दशैं अनि त्यसपछि तिहार दुवै पर्वमा पूजा–आराधना गरिन्छ ।  नेपालमामात्र नभई दक्षिण एशियाका धेरै देशहरु भारत, , भूटान र बर्मा म्यानमारमा विभिन्न प्रकारले तिहार मनाइदै छ ।

काग तिहार

आज कातिर्क कृष्ण त्रयोदशी उदयकाल रहेकाले कागको पुजा गरिदैछ । काग अत्यन्त चलाख पंक्षी पनि हो । यसको पूजा गर्नुका विभिन्न कारणहरु छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याग्राहरु खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिइने र यमराजको अत्यन्त प्रिय भक्त पनि भएकाले यसको पुजा गर्ने प्रचलन रही आएको छ ।

कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहादै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिइन्छ कुकुरलाई आज्ञापालक एवं रक्षक एवं विभिन्न अपराध गर्ने अपराधीहरु पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत दिने हुनाले तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाईदिई कुकुर तिहार मनाउने गरिन्छ ।

गाई तिहार

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आगन लिपपोत गर्ने, गाईको गहुत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रुपमा लिइन्छ । हिन्दूहरु गाईलाई लक्ष्मी र गौमाताका रुपमा मान्छन् । गाईजात्रा, गाईपाला,  आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अध्यारो रातका रुपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरी लक्ष्मीपुजा गर्ने गरिन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन

विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो । साहित्यमा यिनलाई विराट र बहुमुखी प्रतिभा धनी मानिन्छ  । यस दिन देशभर विभिन्न साहित्यिक कार्यक्रमहरु गरी लक्ष्मी जयन्ती मनाउने गरीन्छ ।

भैली अनि देउसी
अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए । श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए । कार्तिक महिनाको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो । मानिसहरुले घर–घरमा, गल्ली–गल्लीमा देव श्री राम (हाम्रा राम देउता हुन्) को नारा लगाउदै घुमेका थिए, देव श्री रामबाट विकृत हुदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु देउसी खेल्दै हिंड्ने चलन छ । द

गोरु तिहार
गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तीको लागि कृष्ण समक्ष माफी मागेकाले त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको मानिन्छ ।

भाइ तिहार
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई, भाइले दिदीलाई र दाजुले बहिनीलाई मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने गर्दछन् ।  यस दिन मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा आदि दिने परम्परा पनि छ  । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, एवं दीर्घायूको कामना गरी दिदी बहिनीले आफ्ना दाजु–भाइलाई टीका र माला लगाइदिने प्रचलन छ ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रुपमा लिइन्छ । यमपञ्चकको पाचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरुप पान–सुपारी, फूल आदि दिने चलन ।

के के चाहिन्छ भाइटिकामा ?
भाइटीका गर्न ओखर, तोरीको तेल, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरीको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रुपमा दही दिनुपर्छ ।

मखमली माला
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउदैन, सयपत्रीको रंगकहिल्यै उडेर जादैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बन्छ भन्ने मान्यता छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउछ । टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ ।

सप्तरंगी टिका
हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा–पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुनै मान्यता छ । टीका विशेषत रातो वा पहेलो रंगको निधारमा लगाइन्छ । तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो । सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ ।
((((((((((((((((((((((((((((((((((((((((((((((((((((((

Posted by Butwalonline on 7:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिहारको पाच दिन "

Leave a reply