युएईको विभिन्न सहरमा देउसी भैलो खेल्ने
लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । तिहारको पवन अवसर पारेर नेपाली एकता समाज युएईको केन्द्रीय समितिको आयोजनामा आगामी १५ नोभेम्बर बिहीबार र १६ नोभेम्बर शुक्रबारका दिन युएईका विभिन्न प्रतिष्ठित सहर दुबई, अबुधावी, शारजाह र अजमानमा देउसी भैलो खेल्ने भएको छ । मुस्लिम मुलुकको भूमिमा पनि पूर्खाबाट चलिआएको हिन्दु रीतिरिवाज र परम्परालाई कायम राख्दै यसपालिको तिहारलाई देउसी र भैलोको गीत गाउदै रमाइलोसंग मनाउन लागेका हुन् ।सो निर्णय गत ९ नोभेम्बर शुक्रबारका दिन दुबईस्थित मेट्रो पार्कमा नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसीको अध्यक्षता र महासचिव कृष्ण भुसालको संचालनमा बसेको बैठकले गरेको हो । भर्खरै मात्र महाअधिवेशनबाट चुनिएका नयां कार्यसमितिको यो पहिलो कार्यक्रम भएको हुनाले सबैजना उत्साहका साथ तयारीमा लागिपरेका छन् । केन्द्रीय समितिको आयोजनामा हुने भएता पनि क्षेत्रीय समितिहरुको पनि पूर्ण सहभागिता रहने जनाइएको छ ।
देउसी भैलोबाट आएको रकमलाई युएईस्थित आपत विपतमा परेका नेपालीहरुको उद्धार तथा सहयोग कार्यमा खर्च गरिने सोही समाजका सल्लाहकार शिवराज जैसीले बताएका छन् । स्थापनाकालदेखि नै उद्धार कार्य क्षेत्रमा सहभागिता रहेता पनि यस देउसी भैलो कार्यक्रमले नयां आयाम थपिने जनाइएको छ । यस्ता खाले कार्यक्रममा केवल मनोंरञ्जन मात्र नभएर एक आपसमा भाईचारा र सत्भावको बिकास पनि हुने गर्दछ ।
त्यस्तैगरी युएईमा रहेका विभिन्न नेपाली पसलहरुमा तिहारको पर्वमा प्रयोग गरिने तथा सजावटको सरसमानले सजिएको छ भने नेपाली रेष्टुरेण्टहरुमा नेपाली परिकार र पकवानहरुको पनि चहल पहल बढ्न थालेको छ । कता–कता दिदीबहिनीहरुले दाजुभाईहरुलाई टिका लगाई दिनका लागि तयारीमा जुटेको प्रशस्त देख्न पाईन्छ । पर्वको बेलामा आफ्नो घर परिवारबाट टाढा रहेर लिंगे पिङ खेल्न नपाए पनि जे होस् लाग्छ युएईमा पनि तिहार आउंदै छ ।
Posted by Butwalonline
on 6:43 PM. Filed under
News,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response