|

ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणका लागि दश बुँदे कार्ययोजना

लक्ष्मण पोखरेल,बुटवल, कात्तिक १९÷ पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले यस क्षेत्रको ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणका लागि दश बुँदे कार्ययोजना बनाएर लागु गर्ने अभियानमा लागेको बताउनुभएको छ ।

बुटवल यातायात व्यवसायी समिति बुटवलले उहाँसहित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक थापाको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पाण्डेले दशबुँदे कार्ययोजनालाई यातायात व्यवसायीहरु र सवारी चालकहरुसँग सहकार्य गरेर कार्यान्वयन गरिने बताउनुभएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दिपक थापाले कानुनी दायराभित्र रही यातायात व्यवसायीहरुलाई परेका समस्याहरु समाधान गर्ने बताउँदै न्याय सम्पादन गर्दा ठूला र साना व्यवसायी भनेर भेदभाव नगरिने स्पष्ट पार्नुभयो ।
उहाँले मापसे चेकिङ र दैनिक गरिने सडक अनुगमनका कारण मानिसको मृत्यु दर हप्तामा २–३ जना र सवारी दुर्घटना दिनमा २–३ वटामा झरेको उल्लेख गर्दै ओभरलोड र तीब्र गतिका कारण दुर्घटनाको दर बढेकोले यसलाई नियन्त्रण गर्नु व्यवसायीको पनि दायित्व भएको बताउनुभयो ।
बुटवल यातायात व्यवसायी समितिका निवर्तमान अध्यक्ष तथा संरक्षक सीता घिमिरेले प्रहरी प्रशासनले न्याय सम्पादन गर्दा ठूला र साना व्यवसायीमा भेदभाव गर्ने गरेको उल्लेख गर्दै सबैलाई समान दृष्टीकोण राखेर न्याय दिनुपर्नेमा जोड दिनुभयो ।
बुटवल नयाँ बसपार्कमा भाडाका जिपहरु पर्किङका लागि बुटवल नगरपालिकाले छुट्टयाएको स्थान समेत उपयोग गर्न नपाउँदा बुटवल यातायात समिति मातहत सञ्चालन भएका जिपहरु सडक किनारामा अव्यवस्थित तवरले पार्किङ गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

यातायात व्यवसायी समितिका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रविन्द्रमान श्रेष्ठ, पत्रकार खिमानन्द भट्टराईलगायतले बोल्दै ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणका लागि प्रहरी प्रशासन र यातायात व्यवसायीहरु सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

Posted by Butwalonline on 11:36 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणका लागि दश बुँदे कार्ययोजना"

Leave a reply