मुलुकमा शान्ति नआएसम्म शिक्षा क्षेत्रमा शान्ति कायम हुन्न -मोहन वैद्य
बिनोद परियार ,बुटवल,मंसिर ६ - नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सिंगो मुलुकमा शान्ति नआएसम्म शिक्षा क्षेत्रमा शान्ति कायम हुन नसक्ने बताउनुभएको छ ।
विद्यालय शान्ति क्षेत्र अभियानप्रति राजनीतिक नेताहरुको प्रतिवद्धता संकलनका क्रममा शिक्षा पत्रकार समूहको प्रतिनिधि मण्डलसग अध्यक्ष वैद्यले सो धारणा राख्नुभएको हो । अध्यक्ष वैद्यले आफूहरु विद्यालय शान्ति क्षेत्र हुनुपर्नेमा असहमत नभएपनि निरपेक्षरुपमा विद्यालय शान्ति क्षेत्र हुन नसक्ने उल्लेख गर्नुभयो । सो पार्टीको वुद्धनगरस्थित कार्यालयमा भएको भेटमा अध्यक्ष वैद्यलाई समूहका अध्यक्ष प्रकाश सिलवालले विद्यालय शान्ति क्षेत्र सम्बन्धी जिल्लागत अवस्थाको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।