नेपालको जनसंख्या २ करोड ६४ लाख, पुरुष भन्दा महिला बढी
काठमाडौं, मंसिर ११ । राष्ट्रिय जनगणना–२०६८ ले नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले आज सिंहदरवारमा कार्यक्रम गरी जनगणनाको तथ्यांक सार्वजनिक गरेको हो । जनगणनाले २०५८ सालपछि १ दशमलब ३५ प्रतिशतले नेपालको जनसंख्या वृद्धि भएको देखाएको छ ।
त्यस्तै जनगणनाले नेपालमा महिलाको संख्या वढी रहेको देखाएको छ । जनगणना तथ्यांकका अनुसार नेपालमा ४८ दशमलब ५० प्रतिशत पुरुष र ५१ दशमलब ५० प्र्रतिशत महिला छन् ।
त्यस्तै बसोबासको आधारमा काठमाण्डौमा सबैभन्दा वढी जनघनत्व र सबैभन्दा कम जनघनत्व मनाङ्गमा रहेको जनगणना प्रतिवेदनमा उल्लेख छ । जनगणनाले शहरीकरण बढ्दै गएको र कुल जनसंख्याको १७ दशमलब ७ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्ने गरेको देखाएको छ ।
प्रतिवेदन अनुसार दशवर्षको दौरानमा पहाडबाट तराइमा बसोबास गर्ने र विदेशिनेको संख्या वढेको छ । दशवर्षको अवधीमा विदेशीने नेपालीको संख्या १ सय ५० प्रतिशत भन्दा वढी रहेको जनगणना प्रतिवेदनले देखाएको छ । तथ्यांकले १९ लाख २१ हजार ४ सय ९४ नेपाली विदेशीएका छन् ।
जातीय रुपमा मुलुकमा सबैभन्दा वढी क्षेत्री र सबैभन्दा कम कुसुन्डा जाति २ सय ७३ जना मात्र रहेको जनगणनाले देखाएको छ । यस्तै जनगणना अनुसार नेपालमा हिन्दुधर्म मान्नेहरुको संख्या ८१ दशमलब ३ प्रतिशत छ । दशवर्षको अवधीमा बौद्ध धर्मावलम्बीहरु संख्या भने १ प्रतिशतले घटेर ९ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।
यसपटकको जनगणनाले नेपाल प्रकृत र बोनधर्म मान्नेहरु पनि रहेको देखाएको छ । नेपालमा १ सय २३ वटा मातृभाषा र १ सय २६ जातजाति रहेको रहेको प्रतिवेदनले देखाएको छ । यस्तै नेपाल १ दशमलब ९४ प्रतिशत जनसंख्यामा विभिन्न किसिमको अपाङ्गता रहेको प्रतिवेदनमा छ ।
प्रतिवेदनका अनुसार नेपालमा ६५ दशलमब ९ प्रतिशत जनसंख्या साक्षर छ । जनगणनाको तथ्यांक विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनगणनाको आधारमा राष्ट्रिय नीति तय गरिनुपर्ने बताए ।
तर, समाजशात्री डा. ओम गुरुङले भने जनगणनाको तथ्याङ्कमा केही ठाउँमा शंका गर्ने ठाउँ रहेको दाबी गरे । उनले जनगणनाको विवरण धरातलीय यथार्थ भन्दा फरक रहेको जिकिर समेत गरे ।
२०६८ सालमा सम्पन्न राष्ट्रिय जनगणना गणतन्त्र नेपालको पहिलो र नेपालको ११ औँ जनगणना हो । वि.स. १९६८ सालमा राष्ट्रिय जनगणनाको शुरुवातसँगै प्रत्येक १०–१० वर्षमा जनगणना हुदै आएको छ ।
साभार :ईमेज च्यानल