स्थानीयको सहयोगमा अचेत युवकको उपचार पाल्पा
गुल्मीको कुर्घा गाविसमा शनिवार अचेत अवस्थामा फेला परेका एक युवकलाई त्यहाँका स्थानीयवासीको सहयोगमा थप उपचारका लागि पाल्पा लगिएको छ ।
कुर्घा गाविसको वार्ड नं. ९ चिदीपानीस्थित कुलोमा घाईते अवस्थामा फेला परेका अचेत ति युवकलाई स्थानीयको सहयोगमा वामी स्थित स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा स्थित मिसन अस्पतालमा लगिएको हो । वामीटक्सार र कुर्घा गाविसका स्थानीयवासीले सहयोग रकम संकलन गरी एम्वुलेन्सद्धारा पाल्पा लगिएको लोकप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।
पहिचान खुल्न नसकेका ती युवकको टाउकोमा ठुलो चोट लागेको स्वास्थ्य चौकीका सहायक इन्चार्ज ढालवहादुर जिसीले वताउनुभयो । स्थानीय चन्द्रवहादुर परियारले कामको सिलसिलामा विहान वाटोमा जाँदै गर्दा ती युवकलाई खुट्टा कुलोभित्र र टाउको कुलोको डिलमा अचेत अवस्थामा लडिरहेको फेला पारेपछि स्थानीयलाई खवर गर्नुभएको थियो । युवकले रातो र कालो दुई वटा टिसर्ट र निलो जिन्सको पाईन्ट लगाएका छन् । ती युवकलाई चिन्ने आफन्त वा जो कोहीले पनि ०७९–६९०११९ मा सम्पर्क गर्न वामी प्रहरीले आग्रह गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयले पनि ती युवकलाई चिन्ने व्याक्तिले ०७९–५२०१९९ अथवा १०० नम्वरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।