|

इजरायमा कार्यरत नेपालीहरु रकेट आउनासाथ बंकरमा

दोहा (कतार), मंसिर ५ - एक सातादेखि इजरायलले हमासको शासन रहेको गाजा क्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको छ । त्यसको प्रतिरोधमा हमासले पनि इजरायलको दक्षिणी भेगमा रकेट आक्रमण जारी राखेको छ । आक्रमणबाट प्रभावित क्षेत्रमा नेपालीसमेत कार्यरत छन् । आक्रमण भइरहेको गाजा क्षेत्रबाट १२ किलोमिटरको दूरीमा पर्ने इजरायलको अस्केलिनमा कार्यरत बिन्दबासिनी पोखराका नरेन्द्र पराजुलीले त्यहाँ भइरहेको युद्धबारे आफ्नो अनुभव यसरी बताए-

म २२ वर्षदेखि इलेक्टि्रकल इन्जिनियरका रूपमा इजरायलमा काम गरिरहेको छु । म बसिरहेको क्षेत्र युद्धबाट प्रभावित र गाजाबाट सबैभन्दा नजिक छ । यो क्षेत्रमा बढीजसो नेपाली महिला केयरगिभरका रूपमा कार्यरत छन् । यसबाहेक गाजा क्षेत्रबाट १२ देखि ४० किलोमिटर क्षेत्रमा पर्ने इजरायलको अस्दौड, सेडोरुप, बेरुसेलभ छन् ।

एक सातादेखि इजरायल र गाजाका हमासबीच युद्ध चर्किरहेको छ । इजरायलले अझ कारबाही बढाएको छ । इजरायलको दक्षिण भेगमा त्यति ठूलो क्षति पुगेको छैन । हमासले प्रहार गरेको रकेट इजरायली सेनाले आइरन बम प्रहार गरी आकाशमै डिस्पोज गरिरहेको छ । भर्खरै १५ मिनेटअघि पनि हमासले पाँचवटा रकेट प्रहार गरेको थियो । त्यसमध्ये चारवटा आकाशमै डिस्पोज भयो भने एउटा हाम्रो नजिकैको घरमा आएर खस्यो ।

यहाँ सबै घरमा फलामका बंकर बनाएका हुन्छन् । गाजा क्षेत्रबाट रकेट प्रहार हुनासाथ यहाँ साइरन बज्छ । साइन बजेको ३० सेकेन्डभित्र हामी बंकरमा पुगिसक्नुपर्छ । अघि रकेट खसेको ठाउँका मान्छेहरू बंकरमा लुकेको हुँदा कसैलाई केही भएन । युद्ध चर्केपछि मानिसको चहलपहल करिब २० प्रतिशतले घटेको छ ।

 यहाँ कार्यरत नेपाली आपसको सम्पर्कमा छन् । तेलअभिभस्थित नेपाली दूतावास पनि निरन्तर हाम्रो सम्पर्कमा छ । राजदूत प्रल्हादकुमार प्रसाईंले यहाँका नेपालीसँग दैनिकजसो सम्पर्क गरी यथास्थिति बुझ्ने काम गरिरहेका छन् । त्यति भएर पनि यहाँ कार्यरत नेपाली त्रासपूर्ण अवस्थामा छैनन् । सुरक्षित भएर बसिरहेका छन् ।

दूतावासले सबै नेपालीलाई सचेत भएर बस्न अनुरोध गरिरहेको छ । दूतावासले नेपाली नागरिकलाई बढ्दो तनाव र आक्रमण विषयमा यथासम्भव सचेत रहन आफ्नो क्षेत्र वा प्रसारण भइरहेको समाचारहरूमा ध्यान दिन, होम फ्रन्ट कमान्डले दिएको तथा इजरायलको सम्बन्धित निकायले जारी गरेको निर्देशनहरू पालना गर्न र आक्रमण समयमा साइरन बज्दा बंकर वा अन्य सुरक्षित स्थान सेल्टरमा तत्कालै जान अनुरोध गरिरहेको छ ।

यहाँ आत्तिहाल्नुपर्ने स्थिति छैन । दूतावासले होसियार भएर बस्न भनिरहेको छ । सबै नेपाली पुराना भएकाले यहाँको वस्तुस्थिति बुझेका छन् । हामी पनि दूतावाससँग समन्वय गरिरहेका छौं । यताको होहल्ला र अफवाहको भरमा कुनै निर्णय नलिई वा अनावश्यक रूपमा नआत्तिई काम गरिरहेका छौं ।
स्रोत :कांतिपुर

Posted by Butwalonline on 6:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इजरायमा कार्यरत नेपालीहरु रकेट आउनासाथ बंकरमा"

Leave a reply