भैरहवामा १०४ औं लक्ष्मी जयन्ती मनाइने
भैरहवा,कार्तिक २६ - महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०४ औं जयन्ती भैरहवामा आयोजना हुने भएको छ । सिद्धार्थ साहित्य परिषद, रुपन्देहीको आयोजनामा कार्तिक २७ गते सोमबार लक्ष्मी पूजाका दिन भैरहवा स्थित सहिद स्मृति पुस्तकालयमा समारोह आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विजय सागरले बताए ।
समारोहमा सकला सिद्धार्थ वाङ्मय पुरस्कार–२०६८ द्वारा स्रष्टा रामप्रसाद पन्तलाई सम्मान समेत गरिने भएको छ । परिषद्ले सो पुरस्कारको लागि सार्वजनिक आव्हान गरी साहित्यकार बालकृष्ण भट्टराईको संयोजकत्वमा डिल्लीराज भट्टराई र रुद्र ज्ञवाली सदस्य रहेको मूल्यांकन समिति गठन गरेको थियो । गुल्मी स्थायी घर भएका पन्त वि.सं. २०४४ सालदेखि कृतिकारको रुपमा परिचित छन् ।
परिषद्को २२ गते बसेको तेश्रो बैठकले लक्ष्मी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको सचिव रामबहादुर श्रेष्ठले जनाए । समारोहमा सबै साहित्यप्रेमी, अनुरागी तथा सहयोगीलाई उपस्थित हुन पनि परिषद्ले आव्हान गरेको छ । यसका साथै साहित्यका लागि परिषद्को नेतृत्वमा तिहारमा देउसी भैलो कार्यक्रम पनि खेलिने भएको छ ।