सिजी इलेक्ट्रोनिक्समा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा
काठमाडौं, आश्विन २९ । काठमाडौंको सतुंगलस्थित चौधरी ग्रूप अन्तर्गतको सीजी ईलेक्ट्रोनिक्स कारखानामा हिजो साँझदेखि लागेको आगो आज मध्यान्हदेखि नियन्त्रणमा आएको छ । सयौं सुरक्षाकर्मी र विभिन्न ठाउँबाट पुगेका दमकलको सहयोगमा झण्डै २० घण्टा पछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । हिजो साँझ ६ बजेदेखि लागेको आगो झण्डै एकदर्जन दमकल, स्थानीय वासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आज मध्यान्ह नियन्त्रणमा आएको हो ।
आगलागी नियन्त्रणमा ल्याउन सुरक्षाकर्मी र दकमललाई समेत हम्मेहम्मे परेपछि राजधानीको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अग्नी नियन्त्रणसम्बन्धी विशेषज्ञ टोली आगो निभाउन खटिएका थिए । चौधरी ग्रूपको सो कारखानामा एलजी तथा सीजी ब्राण्डका रेफ्रिजेरेटर, टेलिभिजन, मोबाइल सेट लगायतका ईलेक्ट्रोनिक्स सामग्री एसेम्बल गर्ने गरिन्थ्यो ।
आगलागीबाट पूरै कारखाना जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण अहिलेसम्म सार्वजनिक नभएपनि करोडौ रुपैया बराबरको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । कारखना अहिले सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ । सुरक्षाकर्मी र स्थानीय वासिन्दाले गोदाममा रहेका केही सामानलाई बाहिर निकालेका छन् । आगलागीको मौका छोपेर कारखानामा सामान चोरी गर्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छानविन गरिरहेको छ ।
समाचार इमेज च्यानल बाट
