भृकुटी कागज कारखाना सञ्चालन गर्ने अर्थमन्त्रीको आश्वासन
नवलपरासी, असोज १६ – अर्थमन्त्री बर्षमान पुन अनन्तले नवलपरासीको गैडाकोटमा रहेको नेपालकै ठुलो कागज कारखाना भृकुटी पल्प एण्ड पेपर फेरी सञ्चालन हुने आश्वासन दिनुभएको छ । झण्डै डेढ बर्षदेखि बन्द रहेको कारखानाको मंगलवार बिहान अवलोकन गरेपछि त्यहाँका कामदार कर्मचारीलाई अर्थमन्त्रीले यस्तो आश्वासन दिनुभएको हो ।
अर्थमन्त्री पुनले कारखाना सञ्चालक दिवाकर गोल्छाले कारखाना चलाउन सरकार समक्ष प्रतिबद्धता जनाएको भन्दै छिट्टै सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । कारखाना सञ्चालनका लागि सरकार सहजीकरण गर्न तयार रहेको भन्दै मन्त्री पुनले मजदुर कर्मचारीको रोजीरोटी ग्यारेन्टी हुने समेत बिश्वास दिलाउनुभयो ।
झण्डै दुई बर्षदेखि तलब नपाएका कर्मचारीको तलब उपलब्ध गराउन पनि पहल गर्ने उहाँको भनाई छ । देशभरीका सरकारी तथा नीजि उद्योगलाई सञ्चालन गर्ने सरकारको नीति रहेको अर्थमन्त्री पुनले बताउनुभयो ।
