बर्हिगमित लडाकुद्वारा पत्रकार कुटिए
दाङ, असोज १६-दाङ बन्दका क्रममा एकीकृत नेकपा माओवादीका बहिर्गमित लडाकुहरुले एक जना पत्रकारलाई कुटपिट गरेका छन् । बन्दमा उत्रिएका बहिर्गमित लडाकुले पत्रकार अमर क्षितिज भण्डारीलाई कुटपिट गरेका हुन् । समाचार संकलनका क्रममा हिडेका रेडियो नेपाल दाङका सम्बाददाता पत्रकार भण्डारीलाई घोराहीको तुलसीपुर चोकमा बन्दकर्ता बहिर्गमित लडाकु चित्रबहादुर केसीले कुटपिट गर्दै भण्डारीको मोटरसाइकल पल्टाइ दिएका हुन् । भण्डारीको रा १ प ५२११ नम्बरको मोटरसाइकलको अगाडीको सिसा फुटेको छ भने पत्रकार भण्डारीको देब्रे खुट्टामा चोट लागेको छ । बहिर्गमित लडाकुले मोटरसाइकल पल्टाईदिएको र कुटपिट गरेको भण्डारीले बताउंनुभयो । उता बन्दका कारण दाङको जनजीवन कष्टकर भएको छ । बन्दका कारण आज दाङमा लामो तथा छोटो दुरीका गाडी चलेका छैनन् । घोराही, तुल्सीपुर, लमही, भालुवाङ लगायतका बजार ठप्प छन् ।
